सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध लक्ष्मण किशोर चौधरीले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ हुँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री पदबाट नियुक्ति बदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले आइतबार दायर गरेको रिटमाथि सोमबारबाट सुनुवाइ हुनेछ। रिटमाथि सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको छ।

उनले नागरिक उन्मुक्ति पार्टिको संसदीय दलको वैधानिक पत्र बेगर नै विपक्षी सोडारीलाई मुख्यमन्त्री पदमा भएको नियुक्त गैह्रसंवैधानिक रहेको दाबी गरेका छन्। चौधरीले मुख्यमन्त्री पदमा आफूलाई नियुक्ति दिई सपथ ग्रहण गराउनु भनी विपक्षीहरुको नाउमा परमादेश दिन माग गरेका छन्।

निवेदनमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनको अन्तिम किनारा लाग्दा उपरोक्त अनुसारको उपचार पाउने भए पनि तत्काल विपक्षिहरुको गैरसंवैधानिक कार्य रोक नलागाउने हो भने निवेदकको हकको हनन गर्ने क्रियालाई विपक्षीले थप चर्काउन सक्ने हुदा तत्कालिक न्याय, अपुरणीय क्षति, सुविधा र सन्तुलनको सिद्धान्त, यस सम्मानित अदालतबाट यस अघि अवलम्वन गरी आएको न्यायिक पद्दतिको अनुसरण एवम सर्वोच्च अदालत नियामावलि, २०७४ को नियम ४९ समेत वमोजिम विपक्षिको मिति २०८१-०१-०४ का दिन प्रकाशित गरिएको विज्ञप्ति सूचना मुख्यमन्त्री पदमा नियुक्त गर्ने गरेको निर्णय कामकारबाही तत्काल कार्यान्वयन नगर्नु नगरउनु पुर्वावस्था कायम गरी मलाई नियुक्त गर्न भनी अन्तरिम आदेश जारी गरिपाउँ। साथै प्रस्तुत विषय निरन्तर सुनुवाईमा राखि शिघ्र निरुपण पूर्वावस्था कायम गरी मलाई नियुक्त गरिपाउँ।’

प्रदेश प्रमुख नजिर मियाँले तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २०८१ वैशाख २ गतेसम्म समय दिएका थिए। उक्त समयमा वैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै का्ग्रेसका १८, समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

त्यसलगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए। मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले दलहरूसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए।

दुवैको दाबीबारे निर्णय नगरी प्रदेश प्रमुख नजिर मियाँले वैशाख ४ गते एउटै दलबाट दुई जनाको नाम आएकाले निष्कर्षमा पुग्न नसकेकाले अध्ययन गर्ने उल्लेख गर्दै थप दुई दिन समय दिएका थिए। नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मण किशोरलाई हो वा कैलाशलाई भन्ने कुराको स्पष्टता नभएकाले प्रदेश प्रमुख नजिर मियाँले दुबैको दाबी खारेज गरी वैशाख ६ गते बिहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका थिए।

त्यसश्चात सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर गत वैशाख ६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नाउपा (रन्जिता पक्ष) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। त्यसपश्चात सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यता सुदूरपश्चिममा समाजवादीका नेता सोडारीले मुख्यमन्त्रीको सपथ लिएकै भोलिपल्ट नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परिसकेको छ।

रेशमकाे मुद्दा आनन्दमोह भट्टराई र विनोद शर्माको बेन्चमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्ति इजलासमा तोकिएको छ। यसअघि चैत्र ३० गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन बहस भएन।

वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको थियो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो। अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर,निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिने र श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको थियो।

त्यसपछि रेशमले निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए।

रञ्जितालाई रेशमको प्रश्न- हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ?

रेशम चौधरी।

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ। कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ। यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन। मेरो चरित्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला।

प्यारी रञ्जिता, मैले तिमीलाई मुद्दा हालेको होइन, निर्वाचन आयोगलाई हो। अदालतले कारण देखाउ आदेश जारी गर्दा निर्वाचन आयोगको जवाफमा तिमीलाई पनि सोध्ने आदेश गरेको मात्रै हो। तिललाई पहाड बनाउनु हुन्न, समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन्।

केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौं।
तिमी सोझी र अन्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए।
१. माननीय इन्दिरा गिरीलाई कारबाही गर्न उक्साए।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए।
३. तिमीलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए।

यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो। यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरी नै राखेका छन्। तर अब रोकिनु हुन्न। संवादको सुरुवात गरे दुबैको मन हल्का होला। नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाएजस्तो नाटकमात्रै गरेका हुन्। वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याइराखेका मात्रै हुन्।

सरल तरिकाले बुझ तिमी, मैले निर्वाचन आयोगको फैसला अदालतभन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछि त्यसको प्रतिवादमात्रै गरेको हुँ। सबका सामु अध्यक्ष स्वीकारेको छु, तिम्रो मानमर्दन गरेको छैन। तिमीले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टीमात्रै बनोस् भन्ने मेरो चाहना हो।

तिमीले बुझ्नु, यो चटकेहरूले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे, आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन्। मैले त राम्रोसँग बुझेको छु रन्जु, तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमीले बुझेकी छ्यौ कि छैनौ, म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो?

हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरू दुबैका होइनन्। हामी सचेत रहनुपर्छ। तिमीलाई मेरो सुझाव छ रन्जु,अहिले केही दिन ३ तत्वबाट टाढा रहनु,
१. छोरी भन्नेसँग
२. भाउजु भन्नेसँग
३. भान्जी भन्नेसँग
यी ३ को खेलबाट बच्नु कल्याण आफैं हुन्छ।

जसले तिमीलाई मन्त्रीज्यु भन्छ त्योचाहिँ तिम्रो असली कार्यकर्ता हो।
अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु। केवल २ जनाको मात्रै वार्तालाप होस्। एक आपसमा मन माझौं। मिल्दा पनि मनैले मिलौं, छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं। हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ। यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको क्यालेन्डर र वार्षिक कार्ययोजना सार्वजनिक

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीलगायत सहभागी अतिथिले क्यालेन्डर विमोचन गरेका हुन्।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, नेपाल आदिवासी जानजाति महासंघका उपमहासचिव रामकृष्ण ब्लोन तामाङ, महासंघकै पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार विजय सिंह लोप्चन, नेपाल आदिवासी जनजाति कर्मचारी मञ्चका उपाध्यक्ष एवं थाबिस केन्द्रीय सदस्य आशिष चौधरीलगायत सहभागी थिए।

त्यस्तै महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले क्यालेन्डरसँगै आगामी वर्षको वार्षिक कार्ययोजना पनि सार्वजनिक गरेका थिए। अध्यक्ष चौधरीका अनुसार कार्यक्रममा अतिथिहरूले नयाँ वर्षको शुभकामना आदान प्रदानसमेत गरेका थिए।

अध्यक्ष चौधरीले प्रस्तुत गरेको वार्षिक कार्ययोजना यस्तो छ:
– २०८१ वैशाख ५ गते नयाँ वर्षको शुभकामना आदन प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम
– २०८१ जेष्ठ, असार र साउन ३ महिनामा संगठन विस्तार नभएका काठमाडौं उपत्यका भित्रका क्याम्पसहरु लगायत अन्य जिल्लाहरुमा संगठन विस्तार गर्ने ।
– २०८१ भदौ १ गते संघीय परिषद् बैठक बस्ने ।
– २०८१ कार्तिक २४ गते जातीय विद्यार्थी संघ संस्थाहरुसंग समसामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया
कार्यक्रम गर्ने ।
– २०८१ मंसिर १४ गते जिल्ला-जिल्लामा विद्यार्थीहरु बीच छलफल सम्वाद् अन्तरक्रिया कार्यक्रम गर्ने
– २०८१ मंसिर ७ र ८ गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।
– २०८१ पौष १३ गते सचिवालय बैठक बस्ने ।
– २०८१ माघ १४, १५ र १६ गते तीन दिन २५ औं स्थापना दिवस कार्यक्रम गर्ने ।
– २०८१ माघ २६ गते समिक्षा बैठक बस्ने ।
– २०८१ फाल्गुन १० गते महासंघ सम्वद्ध सम्पूर्ण संघ संस्थाहरुसंग छलफल, सम्वाद् कार्यक्रम गर्ने ।
– २०८१ फाल्गुन र चैत्र संगठन विस्तार भएका सम्पूर्ण जिल्लाहरुमा अधिवेशन गर्ने
– २०८१ चैत्र ३० गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप लागेको छ। फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए।

बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ।

केपी ओलीभन्दा चतुर माधव नेपाल, सोडारीलाई मुख्यमन्त्री बनाउन भए सफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा कयौं गुणा चतुर भएको प्रमाणित गरेका छन्। सुदूरपश्चिम प्रदेशको आफ्ना नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा बनाएर उनले आफू कोहीभन्दा कम नभएको ओलीलाई सन्देश दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस सहमतिलाई लत्याएर नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन निर्देशन दिए।

गत वैशाख २ गते कैलाशले मुख्यमन्त्रीमा दाबी पेस गर्नुअघि नै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे। बहुमत संख्या पुर्‍याएका लक्ष्मणसँगै केही बेरमै कैलाशले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई दिन ‘होल्ड’ गरेको उक्त दाबी दोस्रो दिनमा दीर्घ सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाले माधव नेपाललाई सहमति पालना गर्ने आश्वासन दिएपछि सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए।

यता एमाले अध्यक्ष ओलीले कुनै हालतमा सोडारीलाई मुख्यमन्त्री बन्न नदिने अडानमा थिए। उनले सोडारी विवादित छबिको रहेको भन्दै एकीकृत समाजावादीबाट अर्को पात्रलाई मात्रै मुख्यमन्त्रीमा समर्थन गर्न सकिने अर्को अडान तेर्साएका थिए।

ओलीको नियतबाट वाक्क भएका माधव नेपाल त्यही रात प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। उनले देउवालाई सुदूरपश्चिममा समर्थन गर्न मनाएका थिए। एमालेले समर्थन नगरे दीर्घ सोडारीलाई कांग्रेसले समर्थन गर्ने वक्तव्य नै सार्वजनिक भयो।

देउवा र नेपालको भेटले प्रधानमन्त्री दाहाल र ओली सशंकित बनेका थिए। गठबन्धन नै भत्किने त्रासले झापाबाट काठमाडौं आएका ओली सिधै सिंहदरवारमा प्रधानमन्त्री दाहाललाई भेटेका थिए। गठबन्धन तलमाथि हुने त्रासले नै होला ओलीले सोडारीलाई समर्थन गर्न सुदूरशपश्चिम एमालेलाई निर्देशन दिएका थिए।

अन्ततः ओलीले आफूलाई जति चलाख माने पनि सुदूरपश्चिमको मामिलामा ओलीभन्दा चतुर माधव नेपाल देखिएका छन्। गठबन्धनमा आफूलाई हेपिएको ठानिएका माधव नेपालले भोलिका दिनमा कांग्रेससँग वैकल्पिक गठबन्धन नबनाउँला भन्न सकिँदैन। त्यसो त माधव नेपालको कदमले सिंहदरवार पनि थर्कमान भएको छ। हिजो प्रधानमन्त्री दाहाल र ओलीको भेट पनि यिनै विषयवस्तुमा केन्द्रित रह्यो। जसरी हुन्छ गठबन्धनलाई जोगाउने दुई नेता सहमत भएको स्रोतको दाबी छ।

सुदूरपश्चिममा कैलाश चौधरी बने भौतिक पूर्वाधार विकास मन्त्री

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।

को हुन् कैलाश चौधरी ?

कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (क)बाट निर्वाचित भएका हुन् । उनी प्रदेश सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चौधरीले १५ हजार १०१ भोट ल्याउँदा विनाडी १० हजार ३०० मतमा सीमित भए ।

स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका चौधरीसँग ८ वर्ष शिक्षण पेसामा रहेको अनुभव छ । उनी कालिकोट जिल्लाको साविक नानीकोट गाविसस्थित पंगेली मावि नुवाघरमा मावि शिक्षक भइ २०६४ देखि शिक्षण पेसामा आवद्ध रहे ।

तर शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणका कारण शिक्षकबाट राजीनामा दिएको उनी बताउँछन् । उनी २०७२ देखि सक्रिय राजनीतिमा आएका हुन् । पहिचानको आन्दोलनबाट उनले राजनीतिक यात्रा सुरु गरेका हुन् ।

०७४ को निर्वाचनमा रेशमको सम्पर्कमा आएका कैलाश रेशमलाल चौधरीको सहयोगी भइ त्यसताका राजपाबाट रेशमलाललाई जिताउनमा लागिपरेका थिए । त्यहीबेला उनीसँग रेशम निकै प्रभावित भए ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कैलाली १ (क)बाट कृष्णबहादुर चौधरी निर्वाचित भए । रेशमको प्रिय पात्र बनेका कैलाश उनै कृष्णबहारको स्वकीय भइ केही समय काम गरे । तर उनलाई कृष्णबहादुरले केही समयमै हटाएर आफन्तलाई स्वकीयको जिम्मेवारी दिए ।

त्यसपछि केही समय गैरसरकारी संस्थामा जागिरको खोजीमा समेत लागे उनी । तर एक जना आफन्तले राजनीतिमा तिम्रो क्रेज छ भनी सुझाएपछि उनी पुनः राजनीतितर्फ केन्द्रित भए । २०७९ को निर्वाचनमा उनले जित हासिल गरे ।

  • लखन चौधरीबाट साभार

नागरिक उन्मुक्तिका नेता धर्मबहादुर चौधरी दोस्रोपटक बने मन्त्री

नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी दोस्रोपटक मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य चौधरी दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका उनलाई मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्।

अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिनेश पन्थी, खड्ग बस्नेत, चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

अन्ततः सुदूरपश्चिमको मुख्यमन्त्री बने सोडारी, नागरिक उन्मुक्तिका दुईको समर्थन, ५ जनाको आपत्ति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। बिहीबार निकै विवादका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोडारीलाई नेकपा एमाले, माओवादी केन्द, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थन गरेका छन्।

नागरिक उन्मुक्त पार्टीको आपत्ति
यसैबीच नागरिक उन्मुक्ति पार्टीका पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै समर्थन गरेका दुई सांसदबारे आपत्तिसमेत जनाएका छन्। कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको उनीहरूले प्रस्ट पारेका छन्।

उनीहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना संरक्षक रेशम चौधरीनिकट हुन्।

नयाँ वर्षको अवसरमा थाकस युएईको वनभोज कार्यक्रम, थारूहरूबीच भयो शुभकामना आदानप्रदान

नेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए।

सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११ बजेदेखि सञ्चालन भएको वनभोज कार्यक्रममा सयौं प्रवासी थारूहरू उपस्थित भई रमाइलो गरेको कार्यक्रम संयोजक जितेन्द्र कुमार महतोले बताए। कार्यक्रममा थाकस युएईका पदाधिकारीसहित कामका सिलसिलामा युएईमा आएका थारूहरूको उपस्थिति रहेको उनले बताए।

सभापति भगतले नेपाली नयाँ वर्षको अवसरमा वनभोज कार्यक्रम आयोजना गरी युएईमा रहेका थारू समुदायबीच भातृत्व सम्बन्ध कायम गर्न खोजिएको बताए। ‘विभिन्न कामको सिलसिलामा हामी यहाँ आएका छौं। विभिन्न चाडवाड र विशेष दिनमा कार्यक्रम गर्न पाउँदा थारूहरू खुसी हुन्छौं। हामी सबैबीच भातृत्वको भावना पनि स्थापित हुन्छ,’ उनले थारुवानसँग भने।

थाकस युएईले प्रवासमा रहेर पनि थारू कला, संस्कृति र भाषाको संरक्षण गर्दै आएको छ। थाकस युएईले माघी, जितियाजस्ता पर्वमा कार्यक्रमम पनि गर्दै आएको छ। थारू समुदायका कलाकार र तथा विशेष व्यक्तिहरूलाई युएईमा बोलाएर सम्मानसमेत गर्दै आएको छ।