चर्कियो स्वर्गद्वारी गुठीपीडित थारूहरूको आन्दोलन, सरकारले बनायो वार्ता समिति

स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजारमा प्रदर्शन गरेका छन्। आन्दोलन सुरु गरेको नवौँ दिन बिहीबार पीडितले हलो र जुवा बोकेर घोराही बजार परिक्रमा गरेका हुन्।

उनीहरूले गएको ८ फागुनदेखि धर्ना तथा र्‍याली निकालेर विरोध गर्दै आएका छन्। माग पूरा नहुँदासम्म यसरी नै आन्दोलन गर्ने संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए। आफ्नो मोही अधिकार पाउनुपर्ने भन्दै गुठीको जग्गा भोग गर्दै आएका किसान आन्दोलित बनेका हुन्।

स्वर्गद्वारी गुठीको जग्गालाई लामो समय भोग गर्दै आएको भए पनि सर्वोच्च अदालतको १४ चैत ०६२ को परमादेशले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्नेगरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनेपछि आफूहरू जग्गाको अधिकार पाउनबाट वञ्चित रहेको किसानको गुनासो छ।

गुठीका १२ मौजामा किसानले मोही हक दाबी गरेका छन्। स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये सात सय ५३ बिघा जग्गामा मोही कायम छ। ०२१ सालमा आएको भूमि ऐनअनुसार आश्रमको जग्गामा दुई सय ८९ जनाको मोही कायम भएको थियो। सोही जग्गामा घर टुक्रिँदै जाँदा तीन सय पाँचको हाराहारीमा घर रहेको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।

२९ मंसिर २०२८ सालमा उक्त जग्गा स्वर्गद्वारी आश्रमको नाममा गएको हो। स्वर्गद्वारी आश्रमको नाममा जानुभन्दा पहिले त्यो जग्गा निजी थियो। तर, किसानले त्यसभन्दा पहिले नै मोही हक पाएका थिए। तर, स्वर्गद्वारी गुठीको नाममा गएपछि पटक-पटक दुःख पाउँदै आएको अध्यक्ष चौधरीले गुनासो गरे।

०३८ सालमा आश्रमले सोही जग्गा खण्डीकृत नगरिदिन हुन भनि सरकारसमक्ष निवेदन पेस गरेको थियो। त्यसपछि सरकारले ०४५ सालमा खण्डीकरण नगर्ने भनी निर्णय गर्‍यो।

त्यही आधारमा २०६२ सालमा न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू/नगराउनू भन्ने आदेश गरेको थियो। अदालतले पनि सरकारको त्यो निर्णयलाई सदर गरिदिएपछि आफूपीडित बनेको किसानको गुनासो छ।

सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ। अध्यक्ष चौधरीका अनुसार गुठी विधेयक संसदमा टेबल नहुँदासम्म आन्दोलनलाई जारी रहनेछ।

स्वर्गद्वारी आश्रमको तुलसीपुर १० पढ्ढा, घोराही ५ मैनवार, घोराही १४ झिंगौरा र ढोरेनीमा मोही छन्। त्यस्तै घोराही २ रामपुरको पलासे, लमही ३ को बनगाउँ, मजगाउँ, चैलाही तथा लमही ७ को उचानिम्बुमा मोही हक कायम छ।

सरकारले बनायो वार्ता समिति
यसैबीच स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन कार्यालय, दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका प्रमुख मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक-एक जना प्रतिनिधि सदस्य छन्।

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी वार्ताबाट समस्याको समाधान गर्न अग्रसर हुन संघर्षरत पक्षलाई आग्रह गरेका छन्।

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख हरिनारायण चौधरी

ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ?

उद्यमबिना बित्छ काल जस्को ।

आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् ।

एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।

विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन् । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ”, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन् । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’

उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए ।

‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने ।

राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए ।

चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ ।

‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भने, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’

चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोड्नुभएको छैन । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् ।

उत्पादनसँग जोडिऔँ

अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ ।

उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए ।

‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’

जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ ।

माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।

‘जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ’, उनले भने ।

राजनीति पेसा होइन, सेवा हो

राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको बताउँछन् ।

‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’

चिनियाँ कम्युनिष्ट पार्टीको समृद्धिको नारा ‘मुखौटा’मात्रै, विश्व अर्थतन्त्रमा पार्‍यो प्रभाव

चीनको रियल इस्टेट संकटले अहिले देशमा बढ्दै गइरहेको आर्थिक संकटको अन्त्य नभएको देखिन्छ। देश विगत दुई वर्षदेखि सम्पत्ति क्षेत्रको झन्डै ध्वस्त भएको बोझले दबिएको भए पनि आजका मुद्दाहरू विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने धम्की दिने टाइम बम हो। चीनको आर्थिक उथलपुथलले अन्तर्राष्ट्रिय बजारहरूमा परिणाममुखी प्रभाव पारेको छ, चिनियाँ सरकारको कुप्रबन्धन र तदर्थ उपायहरूको ट्रेल छोडेर यसले परिस्थितिलाई थप बिग्रँदै गइरहेको छ। Continue reading “चिनियाँ कम्युनिष्ट पार्टीको समृद्धिको नारा ‘मुखौटा’मात्रै, विश्व अर्थतन्त्रमा पार्‍यो प्रभाव”

राष्ट्रियसभाबाट विदा हुँदै गरेका सांसद चौधरी भन्छन्- सङ्क्रमणकालीन न्यायलाई अब टुंगो लगाऔं

हरिराम चौधरी/माओवादी सांसद

राष्ट्रियसभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो। पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन्। कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन्। मेरो आफ्नो बुझाइमा राष्ट्रियसभाले विशेष गरेर देशको हरेक नीति, नियम, कानुनलाई परिपक्व र समृद्ध बनाउनेगरी काम गरिरहेको छ। कैयौँ कानुन राष्ट्रियसभाबाट सिर्जित भएर प्रतिनिधिसभामा गएका छन्। कैयौँ फिर्ता गरिएको छ।

छ वर्षको अवधिमा मैले राष्ट्रियसभामा एउटै समितिमा रहेर काम गरेँ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सक्रिय रहेँ। समितिमा रहँदा प्रत्यायोजित कानुन, राष्ट्रिय सरोकारका महत्त्वपूर्ण विषयदेखि सरकारी आश्वासनका क्षेत्रमा काम गरियो। एउटै समितिमा काम गरेका कारणले देशका बारेमा धेरै कुरा बुझ्ने अवसर पनि पाइयो। समितिबाट सरकारलाई निर्देशन दिने काम पनि भयो। प्रत्यायोजित कानुनहरूलाई सरकारले कसरी प्रयोग गर्ने, कसरी लागू गर्ने भन्ने कुरामा महत्त्वपूर्ण बुझाइ र सिकाइ भएका छन्।

अहिले संविधानमा भएका व्यवस्थाबमोजिम सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन नबन्दा प्रदेश सरकार र स्थानीय तहले राम्रोसँग काम गर्न सकेका छैनन्। प्रहरी समायोजन, कर्मचारी समायोजनलगायत महत्त्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन। शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उस्तै अवस्था देखापरेको छ। अन्य कानुन पनि आवश्यक छ, तर सङ्घीयता कार्यान्वयन गर्न यी कानुन अत्यन्त महत्त्वपूर्ण छन्। यो काम धेरै अगाडि गरिसक्नुपर्ने थियो। भर्खरै मात्र प्रधानमन्त्रीले राजनीतिक सहमति जुटाएर सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरू जतिसक्दो चाँडो बनाउनेगरी छलफल गर्नुभएको छ। सङ्घीयतालाई कार्यान्वयन हुन नदिने तप्का, विचार, दृष्टिकोण र समूहले सङ्गठितरूपमा षड्यन्त्र गरिरहेको आभास पनि हुन थालेको छ। विशेष गरेर सङ्घीय शासन प्रणालीलाई दिगोरूपमा कार्यान्वयन गर्नका लागि सङ्घीयता पक्षधरहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस एक हुनुपर्छ। यी दलहरूले राष्ट्रिय सहमतिका आधारमा कार्यान्वयन गरेर जाँदा राम्रो हुन्छ।

राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा बुझ्ने गरिन्छ। वास्तवमा त्यस्तो होइन। प्रतिनिधिसभाका बैठक स्थगित हुँदा पनि राष्ट्रियसभा नियमित सञ्चालनमा आएको उदाहरण छ। हाम्रो बीचमा छलफल पनि चल्थ्यो, राष्ट्रियसभा विशिष्ट सभा हो, यसमा दलीय गन्ध दिन हुँदैन। तर दलीय व्यवस्था भएका हुनाले त्यसको प्रभाव पनि देखिने भयो। संविधान जारी भइसकेपछि गठन भएको पहिलो राष्ट्रियसभामा प्रवेश गर्दा यसलाई जति परिपक्व बनाउनुपर्ने थियो, दलको छायाँका रूपमा नभएर राष्ट्रिय महत्वको विशेषज्ञका आधारमा यसलाई प्रयोग गर्नुपर्नेमा कमी रहेको महसुस भइरहेको छ। यसमा नागरिक समाज, बुद्धिजीवी, सञ्चारजगत्लगायत सबै क्षेत्रबाट बहस त हुनैपर्छ। दलीय व्यवस्थाभित्र पनि स्वतन्त्र प्रकृतिका व्यक्तिहरूलाई राष्ट्रियसभामा लैजान सकियो भने यसको गरिमा, ओज र महत्व अझ बढेर जान्छ। राष्ट्रियसभाको पहिलो कार्यकालको उपस्थितिलाई हेर्दा प्रतिनिधिसभामा समेटिन नसकेका तथा पार्टीभित्रको सन्तुलन मिलाउन आवश्यक व्यक्तिलाई समेटिएको देखिन्छ। दलभित्रको विवादलाई समाधानका रूपमा प्रयोग गर्ने थलोका रूपमा भन्दा पनि राष्ट्रलाई समस्या परेका बखत सम्हाल्न सक्ने केन्द्रका रूपमा राष्ट्रियसभालाई बनाउन सकियो भने राष्ट्रियसभा र राजनीतिक दलको महत्व बढेर जान्छ।

राष्ट्रियसभालाई राष्ट्रलाई महत्त्वपूर्ण घडीमा सम्हाल्न सक्ने व्यक्तित्व र विशेषज्ञको बहस गर्ने थलोका विकास गर्नुपर्छ। प्रतिनिधिसभाबाट आएको हरेक विधेयकलाई मसिनो गरी केलाएर सुझाव दिन सक्ने विशिष्टिकृत संस्थाका रूपमा राष्ट्रियसभालाई बनाउनुपर्छ।

सङ्घीयता कार्यान्वयनलाई संसद्ले मुख्य प्राथमिकतामा राख्नुपर्छ। भूगोलका हिसाबले सङ्घीयताको खाका प्रष्ट छ। सात प्रदेश र सात सय ५३ स्थानीय तह कार्यान्वयनमा गइसकेका छन्। अब कानुन निर्माण गरेर तिनलाई सबल बनाउनुपर्छ। सङ्घीयता र परिवर्तनको पक्षधरलाई अहिले पनि एउटा प्रश्न टड्कारोरूपमा आइरहेको छ, त्यो हो– गणतन्त्र आएर नेपाली जनताले के पाए ? देशमा बेरोजगारी, आर्थिक सङ्कटलगायत समस्या छन्, युवा विदेश जान बाध्य छन्। सङ्घीयताको कार्यावयन र सुशासनलाई प्रत्याभूत गराउन सकियो भनेमात्रै नेपालमा युवा रोकिने आधार बन्छ।

गणतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्दैगर्दा राज्यपक्ष र विद्रोही पक्ष दुवैले ठूलो क्षति भोगेका छन्। भूमिगत अवस्थामा युद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) र नेपाली कांग्रेस तथा नेकपा (एमाले)बीचको राजनीतिक सहमतिका आधारमा मुलुकमा गणतन्त्र आयो। ती राजनीतिक दलहरुबीच विगतमा भएका सहमति अहिले मुलुकलाई समृद्ध बनाउन पनि आवश्यक छ। मुलुकको समृद्धिका लागि पनि यी दलहरू एक ठाउँमा उभिन जरुरी छ। राजनीतिक दलहरू मिलेर अगाडि बढ्न नसक्ने हो भने पश्चगमन चाहने शक्तिले प्रतिक्रान्ति गर्न नसक्ला भन्न सकिँदैन। पहिलो संविधानसभामा राजतन्त्र पक्षधरको उपस्थिति नगण्य थियो, तर अहिले त्यो उपस्थिति सदनमा बढ्दै गएको छ। यो परिवर्तन पक्षधर सम्पूर्ण पार्टी र नेता कार्यकर्ताले बुझ्न जरुरी छ। सङ्घीयता र गणतन्त्र कार्यान्वयन गरेर प्राप्त उपलब्धिलाई जनताले अपनत्व गर्ने अवस्था सिर्जना गर्न जनताको मनोभावना र मनोविज्ञान बुझेर सुशासन, विकास निर्माणलगायत जनजीविकाका सवालमा ध्यान दिनुपर्छ।

अहिले गाउँघर रित्तिन थालेका छन्। युवा पलायन बढ्दो छ। यसलाई रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ। सरकारले विकास निर्माणलाई ध्यान दिने, उद्योग कलकारखानाको विकास गर्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगारी अभियान सञ्चालन गर्नुपर्छ। निजी क्षेत्रको सहभागिता बढाएर रोजगारी सिर्जना गर्नुपर्छ। तर निजी क्षेत्रलाई प्रोत्साहित गर्ने काम कम भइरहेको छ। देशमा लगानीमैत्री वातावरण बनाउनुपर्छ। लगानीको सुरक्षा राज्यले गरिदिनुपर्छ। राज्यले निजी क्षेत्रलाई सुरक्षा दिन नसक्दा अहिले उद्योगी, व्यवसायी सशङ्कित छन्। कुनै पनि नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न सक्यौं भने यो समस्या धेरै हदसम्म कम हुन्छ। किसानका उत्पादनले बजार पाएको छैन। विश्वव्यापीकरणको अवस्थामा नेपालमा मात्रै व्यापार गरेर व्यवसायी टिक्ने अवस्था छैन। सरकारले नेपाली उत्पादनको बिक्रीका लागि विश्व बजारसम्मको पहुँच सुनिश्चित गरिदिनुपर्छ।

शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन निकै ढिला भइसकेको छ। माओवादी चौथोपटक सरकारको नेतृत्वमा छ। यसमा को जिम्मेवार, को दोषीभन्दा पनि सबै जिम्मेवार बन्नुपर्छ। तत्कालीन विद्रोही माओवादी र सरकारका तर्फबाट नेपाली कांग्रेसबीच विस्तृत शान्ति सम्झौता भएर नेपाल दिगो शान्तिको बाटोमा नेपाल अघि बढेको हो। राजनीतिक सन्तुलन मिल्न नसक्दा नै सङ्क्रमणकालीन न्याय टुङ्गिन ढिलाइ भएको छ। अहिले चर्चाको विषय बनेको छ, दिनहुँजसो शीर्षनेताको बीचमा यसबारेमा छलफल भइरहेको छ। सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिनेतर्फ अब ढिला गर्नु हुँदैन।

सांसद चौधरीको परिचय

विसं २०३५ मङ्सिर २५ गते जन्मनुभएका सांसद हरिराम चौधरी कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ४ निवासी हुनुहुन्छ। उहाँले व्यवस्थापन विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ। राष्ट्रियसभामा अन्य समूहबाट निर्वाचित हुनुभएका उहाँ २०५१ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग आबद्ध हुनुहुन्छ।

विसं २०५३ मा विद्यार्थी सङ्गठनमा क्रियाशील हुनुभएका उहाँ २०६५ साल फागुन १ गतेदेखि भूमिगत हुनुभएको थियो। विसं २०७५ मा जिल्ला सदस्य, २०५८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष, २०५९ सालमा माओवादीको जिल्ला सेक्रेटरी, २०६१ सालमा जनमुक्ति सेना सैन्य हेडक्वार्टर सदस्य, २०६३ सालमा जिल्ला सचिव, २०७० सालमा जिल्ला इन्चार्ज, २०७३ सालमा पोलिटब्यूरो सदस्य र माओवादीको थारू मोर्चाको महासचिव रहनुभयो। उहाँ हाल नेकपा (माओवादी)को सुदूरपश्चिम प्रदेश अध्यक्ष हुनुहुन्छ।

-रासस/अशोक घिमिरे

जुनसुकै नेता-कर्मचारी होस् भ्रष्टाचार गर्नेलाई कडा कारबाही गरौं : सांसद शान्ति चौधरी

संघीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो। तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ। प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो। प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ। अहिले पनि सरकार एकपक्षीय ढङ्गबाट अघि बढेको अनुभव भइरहेको छ।

संसद्मा मेरो प्रवेश यो पहिलोपटक हो। यसबीचमा संसदीय अभ्यास सिक्ने र अनुभव गर्ने कार्य भइरहेको छ। मेरो अनुभवमा संसदीय अभ्यास जुनरुपले अघि बढ्नुपर्ने थियो, त्यो हुन सकेन भन्ने लाग्छ। मुलुकको सन्तुलित विकासका लागि तर्जुमा गर्नुपर्ने बजेटसमेत अर्थमन्त्री र अरु प्रभावशाली मन्त्री, सांसदका जिल्ला र निर्वाचन क्षेत्रमा खन्याउने प्रवृत्ति छ। देशको समन्यायिक विकासमा कसैको पनि ध्यान देखिन्न। बजेट केबल आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गर्नु भनेको राज्यकोषको दुरुपयोग पनि हो।

उहाँहरुजस्तै हामी जनप्रतिनिधिले दिएका सुझाव बजेट विनियोजनमा कार्यान्वयन भएन। मेरो गृह जिल्ला बर्दियामा तुलनात्मकरुपमा कम बजेट विनियोजन गरिएको छ।
सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि समाजको बुझाइ बेग्लै छ। चुनावका बेला जनतासँग गरिएको विकास निर्माणका प्रतिबद्धता पूरा गर्नुपर्ने हाम्रो बाध्यता छ। त्यसबेला योजना देखाएर त्यो पुरा गर्न पहल गर्छु भनी वचन दिइयो। अहिले निर्वाचन क्षेत्रका पूर्वाधार विकास र कानुन निर्माणको जिम्मेवारीलाई सँगसँगै लैजानुपर्ने बाध्यता छ। कानुन निर्माणको मुख्य जिम्मेवारी भए पनि हालसम्म कुनै मतदाताले तपाईंले कानुन कतिवटा बनाउनुभयो भनी प्रश्न गर्नुभएको छैन। बरु जिल्ला र निर्वाचन क्षेत्र विकासबारे सदनमा कति कुरा राख्नुभयो भनि थुप्रै मतदाताले जिज्ञासा राख्नुहुन्छ।

देशका प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमालेर नेकपा माओवादी केन्द्रकै पहलमा ठूला राजनीतिक परिवर्तन भए। उपलब्धिका रुपमा नयाँ संविधान जारी, गणतन्त्र स्थापना, धर्मनिरपेक्ष, सङ्घीयता, समानुपातिक र समावेशिताजस्ता नयाँ विषयवस्तु प्राप्ति भयो। प्राप्त यी उपलब्धिलाई संस्थागत गर्न प्रमुख शक्तिबीच एक पटक पुनः न्यूनतम साझा सहमति हुनुपर्छ। नेतृत्व तहमा त्यसका लागि परामर्श र छलफल निरन्तर गरिनुपर्छ।

भ्रष्टाचार नियन्त्रण र सुशासन
कतिपय राजनीतिक दल जनतालाई अल्मल्याएर सुशासन र भ्रष्टाचाररहित समाज निर्माणका कुरा गरिरहेको पाइन्छ। लामो समयदेखि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रत्येक दलको चुनावी एजेण्डा बन्दै आए तापनि कार्यान्वयनको पाटो अत्यन्त फितलो छ। मुलुकमा देखिएको दण्डहीनता, विकृति र विसङ्गतिले भ्रष्टाचारलाई मलजल गरेको छ। भ्रष्टाचारको अवस्था हेर्दा नीति नियम नै बनाएर प्राथमिकतामा राखिएको होकीजस्तो भान हुन्छ। नीतिगत भ्रष्टाचार यहाँ निकै डरलाग्दो देखिन्छ। यो लामो समयदेखिकै रोग हो। धेरै पटक सरकारमा जाने व्यक्ति कुनै न कुनै भ्रष्टाचारको काण्डमा मुछिएको देखिन्छ। भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ। वर्तमान सरकारले त्यसका लागि केही कदम चालेको जस्तो देखिएको छ। अनुसन्धानमा पार्टीका आफ्नै मानिस पर्ने देखेर होकी कार्यान्वयनमा दृढता देखिन्न। साँच्चिकै भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन गर्ने हो भने जुनसुकै नेता होस् वा जुनसुकै ओहदामा रहेको कर्मचारी नै किन नहोस् दण्डित गर्नुपर्छ।

बर्दिया खेतीपाती र अन्न उत्पादनका हिसाबले अग्रणी जिल्ला हो। यहाँका अधिकांश जनता कृषिमै निर्भर छन्। त्यहाँको जमिन उत्पादनका हिसाबले उर्वर छ। वर्षमा तीन बाली लाग्छ। अझै केही ठाउँमा सिँचाइ समस्या छ। जिल्लाको प्रमुख समस्या नदी कटान तथा मानव र जनावरबीचको द्वन्द्व हो। राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा बर्सेनि सात, आठ जनाको जङ्गली जनावरको आक्रमणबाट ज्यान जाँदैआएकोछ। त्यस क्षेत्रमा सडक विस्तार गरौँभन्दा निकुञ्ज पर्छ मिल्दैन भनिन्छ। हाम्रो प्रश्न छ, जनता ठूलो हो कि जङ्गल र जनावर रु पचास वर्ष पुरानो वन ऐनलाई देखाएर अब काम नगरौँ। जनतालाई सहज हुने गरी नयाँ कानुन बनाऔँ।

युवाको विदेश पलायन
युवाको विदेश पलायन रोक्न सरकारले विशेष ध्यान पुर्‍याउनुपर्छ। राजनीतिक नेतृत्व तह र उच्च प्रशासकमा बोल्ने र गर्ने व्यवहार फरक छ। स्वदेशमा रोजगारी नभएपछि घरपरिवार पाल्न आर्थिक कमाइका लागि धेरै नेपाली दाजुभाइ र पछिल्लो समय दिदीबहिनीसमेत विदेश जानु परेको छ। यहाँको कमाइले घरपरिवार धान्न नसकेर उहाँहरु बाध्य भएर विदेश जानुपरेको हो। पार्टीका नेता र उच्च प्रशासककै सन्तानले पनि नेपाल छाडेका छन्। उनीहरु विदेशमा छन्। हरेक हिसाबले पहिले र अहिलेको अवस्था फरक छ। राज्यले जनतालाई रोजीरोटी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विषयमा ध्यान पुर्‍याएमा मुलुकका होनाहार श्रम शक्ति बाहिर जाँदैन थिए। जनतामा पनि छोटो समयमै धनी हुने महत्वाकाङ्क्षाले पनि विदेश पलायनलाई मलजल गरेको छ।

तर अहिले देशको अर्थतन्त्र विदेशमा जाने युवाले थेगेका हुन्। युवा रोजगारीमा विदेश गएका थिएनन् भने अर्थतन्त्र निकै चौपट भइसक्थ्यो। सहरमा बस्ने र गाउँमा बस्ने मानिसको आर्थिक अवस्था, आवश्यकता र क्षमता फरक छ। सहरमा रहने विदेश जाने, गाउँका मानिस सहर पस्ने एउटा स्वभाविक प्रक्रिया पनि हो। पढाइपछि रोजगारी नपाएर र घरपरिवार चलाउन बाध्य भएर थप अध्ययन र कामका लागि विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको छ। राज्यले युवालाई रोजगारी दिलाउन र रोजगार बनाउन उद्योगधन्दा, कलकारखाना र विकासका आयोजना फटाफट अघि बढाउनुपर्छ।

सांसद शान्ति चौधरीको परिचय

बर्दिया राजापुर-५ भौरा स्थायी बसोबास रहेकी सांसद चौधरी विसं २०५६ मा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीमा सङ्गठित भई राजनीतिक यात्रामा प्रवेश गर्नुभएको हो। विसं २०५७ मा नेकपा ९माओवादी०को सदस्यता प्राप्त गर्नुभएकी उहाँ हाल नेकपा९एमाले० प्रदेश कमिटी सदस्य हुनुुहुन्छ। जिल्ला समन्वय समिति सदस्यको समेत अनुभव रहेकी एमाले नेत्री चौधरीसँग विभिन्न सहकारीमा नेतृत्व गर्दै अर्थ व्यवस्था सुदृढीकरणमा योगदान दिँदैआउनुभएको छ।
– रासस/नारायण न्यौपाने

थारु ‘होमस्टे’मा परम्परागत बयलगाडा सफारी

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन्।

बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताए।

होमस्टेदेखि केही परसम्म आगन्तुकलाई लिन जान र होमस्टेमा बास बस्नेलाई बेहडवा क्षेत्रको भ्रमण तथा अवलोकन गराउन पहिलो पटक बयलगाडा सफारी सेवा सञ्चालन गरिएको र यसले पर्यटकलाई पनि मनोरञ्जन दिने र लोप हुँदै गएको बयलगाडा सफारी संस्कृतिको पनि जगेर्ना हुने अर्का घरबास सञ्चालक दीर्घलाल चौधरी बताउँछन्। उनी भन्छन्, ‘घरबास सञ्चालनमा आन्तरिक पर्यटन प्रवद्र्धनका साथै हामी थारु समुदायको संस्कृति वेषभूषा संरक्षण गर्न हाम्रो परम्परागत बयलगाडा सफारी लोप हुँदै गएकाले यसको संरक्षण र छुट्टै थारु विशेषताअनुसार बयलगाडा सफारी सञ्चालन सुरु गरेका हौं।’

स्थानीय नन्दलाल चौधरीका अनुसार २० देखि ३० वर्ष अगाडिसम्म मालसमान र खेतबारीबाट अन्नपात ढुवानी गर्न बयलगाडा प्रयोग हुनेगरेको थियो। अहिले यातायातका साधानको विकासले बयलगाडा लोप भएका हुन्।

त्रियुगा नगरपालिकाको बेहडा थारु होमस्टे जिल्लाकै उत्कृष्ट होमस्टे मानिएको छ। यहाँ नेपालको अधिकांश सबै प्रदेशबाट पर्यटक आउने गरेका र भारतको सिक्किम, दार्जिलिङबाटसमेत नेपाली पर्यटक आउने र बास बस्ने गरेको सञ्चालक उतीम लाल चौधरी बताउँछन्। बयल गाडासफारीका लागि हाल एक दर्जन बयलगाडा प्रयोग सुरु गरिएको होमस्टे सञ्चालकहरु बताउँछन्। उनीहरूका अनुसार पाँच वटा घरबासमा दैनिक ५० देखि सयसम्मको हाराहारीमा पर्यटक बास बस्ने गरेका छन्। होमस्टे सञ्चालनमा रु चार करोडभन्दा बढी लगानी भएको र हाल दैनिक रु ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ।

चिनियाँ कम्पनीबाट ठगिदै नेपाली व्यवसायीहरू, अर्डर नल्याएरपछि चिनियाँ कम्पनीविरुद्ध उजुरी

एक नेपाली कम्पनीले चिनियाँ कम्पनीविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै उजुरी दर्ता गरेको छ। विराटनगरमा रहेको आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलविरुद्ध उजुरी दर्ता गरेको हो।

आरती स्ट्रिप्सले वुटाई स्टिलबाट ७ सय मेट्रिक टन स्टिल उत्पादनका लागि अर्डर गरेको थियो। त्यसका लागि आरती स्ट्रिप्सले अग्रिम भुक्तानीसमेत गरेको थियो। तर लामो समय वितिसक्दासमेत वुटाई स्टिलले न अर्डर दिएको छ, न भुक्तानी फिर्ता दिएको छ। आरती स्ट्रिप्सले चिनियाँ कम्पनी वुटाई स्टिललाई पटक-पटक अर्डर वा भुक्तानी फिर्ता गर्न स्मरण गराउँदै आएको छ। जतिपटक ताकेता गरे पनि चिनियाँ कम्पनी वुटाई स्टिलले विभिन्न बहाना बनाउँदै आएको आरती स्ट्रिप्सले जनाएको छ।

यस विषयमा बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग पटक-पटक समन्वयका लागि अनुरोध गरेको छ। तर, चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ नआएको आरती स्ट्रिप्सले जनाएको छ। पटक पटक धोका दिएकै कारण आफूहरूले वुटाई स्टिलविरुद्ध कानुनी कारबाहीमा जानुपरेको आरती स्ट्रिप्सले जानकारी दिएको छ।

वुटाई स्टिलले अर्डर पूरा गर्न नसक्नुको कारण आन्तरिक समस्या भएको छ। उसले आन्तरिक समस्याकै कारण आरती स्ट्रिप्ससँग गरिएको सम्झौताको दायित्व पूरा गर्न नसकेको बताएको छ।

पछिल्लो समय नेपाली व्यवसायीहरू चिनियाँ कम्पनीबाट ठगिदै आएका छन्। चीनबाट कपडा, जुत्ता, खेलौनालगायतका वस्तु आयातमा संलग्न भई चिनियाँ कम्पनीले नेपाली व्यवसायीलाई ठग्दै आएको छ। नेपाली व्यवसायीहरूको गुनासो पनि काठमाडौंस्थित चिनियाँ दूतावासले खारेज गरेको छ भने बेइजिङस्थित नेपाली दूतावास पनि नेपाली व्यवसायीलाई सहयोग गर्न कमजोर देखिएको छ।

राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्छ भन्ने विषयमा लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखितरूपमा कुनै निर्णय नगरेको बताए।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउनसक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले बताए।

उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको बताए। कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धबारे बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ।

निर्वाचन आयोगलाई रेशम चौधरीको जवाफ- मेरो मुद्दा नैतिक पतनभित्र पर्दैन

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्रको जवाफ बुझाएका छन्। आयोगले सोधेको पाँच प्रश्नको जवाफ अध्यक्ष चौधरीले मंगलबार निर्वाचन आयोगलाई बुझाएका हुन्। उनले आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उल्लेख गरेका छन्। कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको उनले दाबी गरेका छन्।

‘जहाँसम्म नैतिक पतन देखिने फौजदारी कसुरको सबाल छ, सो सम्बन्धमा नैतिक पतन हुनेगरी अभियोजनकर्ताले माग गरेको अवस्थामा अदालतले फैसला गर्दा नैतिक पतन हुने/नहुने भनी बोलिने र मुद्दाको प्रकृति, अवस्था, घटनाक्रम, सन्दर्भ र प्रतिवादीको कसुर गर्दाको अवस्थाको कार्य कारणबाट केही मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट मुद्दा फैसला गर्दाको क्रममा व्याख्या भई नैतिक पतनका सम्बन्धमा बोलिएको सम्मको अवस्था हुँदा मेरो हकमा भएको कर्तव्य ज्यानसमेतको कसुर नैतिक पतन देखिने फौजदारी कसुरमा पर्दैन,’ पत्रमा उनले भनेका छन्।

अध्यक्ष चौधरीले आफ्नो मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतसमेतले नैतिक पतन भनि कुनै जिकीर नगरेको उल्लेख गरेका छन्। उनले नेपालको कुनै पनि कानुनले कर्तव्य ज्यानलाई नैतिक पतनभित्र नराखेकोले आफ्नो मुद्दा नैतिक पतनअन्तर्गत नपर्ने दाबी गरेका छन्।

उनले आफ्नो सदस्यता पनि राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत नै रहेको उल्लेख गरेका छन्। सम्बन्धित कानुनले सम्बोधन नगरेको विषयलाई दलको सदस्यताको अयोग्यताको आधार बनाउनु अनुचित हुने उनको भनाइ छ। ‘मैले राजनीतिक दलसम्बन्धी ऐनको सो दफाको खण्ड (ख) को कुनै पनि कसुर नगरेको, ती कसुरमा कैद सजाय नपाएको अवस्था हुँदा म राजनीतिक दलको सदस्य बन्न कानुनतः योग्य छु। उक्त ऐनले मलाई राजनीतिक दलको सदस्य बन्न बन्देज लगाउँदैन,’ उनले पत्रमा भनेका छन्।

राष्ट्रपतिबाट आममाफी पाएको सन्दर्भमा अध्यक्ष चौधरीले दिलबहादुर लामाको नजीर उल्लेख गरेका छन्। उनले आममाफीबारे नेपालको संविधान र ऐन कानुनमा स्पष्ट व्याख्या नभएकाले सर्वोच्च अदालतको नजिरको सहारा लिएको उल्लेख गरेका छन्।

‘त्यसतर्फ हेर्दा श्री ५ को सरकारविरुद्ध दिलबहादुर लामासमेत भएको भ्रष्टाचार मुद्दामा मुद्दा फिर्ता लिनेसम्बन्धी विवादमा पूर्ण इजलास (प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय (राय), केशवप्रसाद उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, अरविन्दनाथ आचार्य र हरिप्रसाद शर्माको इजलासले मुद्दा फिर्ता लिने र माफी सम्बन्धमा विशुद् व्याख्या गरेको पाइन्छ,’ उनले नेपाल कानुन पत्रिका २०५१ अंक ७ नि नं. ४९४० पृ. ५०४ समेत उल्लेख गर्दै भनेका छन्।

दिलबहादुर लामा पनि पूरा माफी पाएरै नुवाकोटबाट संसदमा विजयी भई सहायक मन्त्रीसमेत बनेको उनले स्मरण गराएका छन्। ‘अहिले मेरो हकमा पनि आंशिक माफी नभइ पूरै माफी भएकाले म उपरको मुद्दाको अन्त्य हुन गएको छ। संविधान बमोजिम राष्ट्रपतिबाट माफी भएकोमा अपराध नभए सरह सबै आपराधिक दायित्व समाप्त हुनाले माफीको परिणाम स्वरुप माथि उल्लेखित दिलबहादुर लामाको बनाइएको कानुन बमोजिम मेरो मुद्दाको पनि अन्त्य भएको मान्नुपर्दछ,’ उनले भनेका छन्।

त्यस्तै अध्यक्ष चौधरीले आममाफीविरुद्ध राष्ट्रपति कार्यालय, नेपाल सरकारको मन्त्रिपरिषद, गृह मन्त्रालय, केन्द्रीय कारागार विभाग र आफूलाई विपक्षी बनाई मुद्दा परेको र उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको जानकारी गराएका छन्।

उनले आममाफीअनुसार लगतकट्टा भए नभएको आयोगको प्रश्नमा भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट भएको अन्तिम फैसला बमोजिम कसैलाई लागेको कैद र जरिवाना रकमको अभिलेखीकरण गर्ने, असुल उपर गर्ने, असुल उपर भइसकेपछि कैद र जरिवानाको लगतकट्टा गर्ने, सो कट्टा गर्नुपर्नाको कारण खुलाउनेलगायतका जिम्मेवारी अदालतकै हुने र त्यसमा व्यक्ति विशेषको भूमिका नरहने भएकाले प्रक्रियागतरुपमा मलाई भएको सजायको लगत राष्ट्रपतिज्यूबाट मलाई भएको माफी बमोजिम सो निकायले लगतकट्टा गरी कानुन बमोजिमको अभिलेख राखेको, बनाएको हुन्छ। तर, लगतकट्टा नभई कारागारबाट रिहा हुने स्थिति रहँदैन भन्ने जानकारी पनि गराउन चाहन्छु।’

गत पुस २६-२८ सम्म कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भएका थिए। त्यसविरुद्ध माघ ३ गते उनीविरुद्ध निर्वाचन आयोगमा दुइटा उजुरी परेको थियो। नागरिक उन्मुक्ति पार्टीले माघ २९ गते नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले फागुन ९ गते नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरीलाई छुट्टाछुट्टै पत्र काटेको थियो।

संघीय निजामति सेवा ऐन केही दिनमै संसदमा पेश हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा ऐन केही दिनभित्रै संसदमा पेश हुने दावी गरेका छन्। बुधबार राष्ट्रियसभाअन्तरगतको राष्ट्रिय सरोकारवाला तथा समन्वय समिति बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले निजामति सेवा ऐन छिट्टै संसदमा पेश हुने बताएका हुन्।

‘सरकारको नेतृत्व गरेदेखि नै मेरो जोड संघीय निजामति सेवा ऐन ल्याउने र प्रदेशलाई बलियो बनाउने नै थियो। यसबारे लामो छलफल भयो पनि। सरकारको नेतृत्व गर्ने पार्टीलगायत गठबन्धन र प्रतिपक्षसँग छलफल गरेर एउटा साझा धारणा बनाएर यसलाई अन्तिमरुप दिइएको छ। केही दिनभित्र संसदमा पेश हुन्छ र टुंगिन्छ भन्ने विश्वास छ।’

प्रधानमन्त्री दाहालले निजामति कर्मचारीका समस्याबारे सरकार गम्भीर रहेको उल्लेख छ।