Astimki

नविन चौधरी/दाङ
परापूर्वकालदेखि थारु समुदायमा मनाइने पर्व ‘अष्टिम्की’ गत वर्षभन्दा यस वर्ष फरक रह्यो। अमला, तिउरीको फुल, अष्टिम्की फुल, अम्बा, काँक्रा अनी टपरीको बिचमा पानसको बक्ति राखेर अष्टिम्कीको गीत गाउँदै जान्थेँ तर यसपाली गित मार्फत नै अधिकार र पहिचान माग्दै दिदिबहिनीहरु एकसाथ अष्टिम्की मानाए। ‘पहिलेदेखि नै हामी दमन, शोषणमा परेका छौं, अब हामी पर्दैनौं, सबैको पहिचान र अधिकार सुनिश्चित हुने संविधान जारी होस्’ भन्दै गाउँको महटाँवाको घरमा एक साथ भेला भइ राजनीतिक दललाई समेत उनीहरुले खबरदारी गरेका थिए।  
‘नाचगान गरेर त अर्को साल अष्टिम्की मनाइन्छ तर अहिले देशमा संविधान जारी हुन गइरेहेको छ। हामी थारुको अधिकार, पहिचान स्थापित हुन्छ कि हुँदैन भन्ने चिन्ता छ,’ घोराही-३, ओखरा की सुष्मा चौधरीले भनिन्।
‘पहिलेको वर्ष साथीसंगी मिलेर रमाइलो गर्थ्यौं, यस वर्ष भने आफ्नो अधिकार र पहिचान माग्दै अष्टिम्की मनाइयो,’ उनले भनिन्। थारु समुदाय पहिलेदेखि नै कमैया कमलरीको दास जीवन बिताइसकेका छन् फेरि पनि त्यही अवस्थामा फर्किने होला भन्ने डर छ,’ घोराही-११ थारु गाउँकी कमला चौधरीले भनिन्। अहिलेको अष्टिम्कीमा हामी सबै थारु महिलाले आफ्नो अधिकार मागेको उनले बताइन्।
सौडियार-८ शुक्रबारकी मनकुमारी चौधरीलाई पनि पहिलेको वर्ष अष्टिम्कीको रमझम खुबै थियो। साथीसंगी संग मिलेर नाचगान गर्ने उनको चाहना थियो। तर पहिलेको वर्षझैँ सोचेको भन्दा फरक रह्यो। ‘मलाई थारु संस्कृतिबारे थाहा थियो। देशको राज्य व्यवस्थाबारे थाहा थिएन, अहिले संविधान बन्दै गर्दा मेरो पहिचान छुटेको महसुस गरिरहेको छु, हाम्रो माग पनि समेटियोस्,’ उनले भनिन्।
सोही गाउँका महटाँवा लक्ष्मिप्रसाद चौधरीले महिलालाई आफ्नो अधिकार र पहिचानबारे चासो गरेको देख्दा धेरै खुसी लागेको बताउँछन्। ‘सबै जना आफ्नो हक अधिकारको निम्ति आवाज उठाउने हो भने कोही पनि कमैया कमलरी बस्नुपर्ने आवस्था आउँदैन,’ उनले भनिन्। थारुको आफ्नै संस्कृतिक र परम्परा रहेकाले यसैको माध्यमबाट आवाजलाई बुलन्द गर्नुपेर्ने अर्का अगुवा अनिल चौधरीले बताए।
थारु समुदायका महिलाहरु कृष्णा जन्माष्टमीको दिन व्रत बस्ने गर्छन्। यस पर्वमा विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयु तथा अविवाहित महिलाले श्री कृष्णजस्तै पतिदेव मिलोस भनेर व्रत बस्ने गरेको मान्यता रहिआए पनि यस पर्वलाई थारु समुदायले सद्भावको पर्वको रुपमा मनाउने गर्छन्। विशेष गरी पशिच्म तराईका जील्लामा अष्टिम्कीलाई थारु महिलाले भब्यताका साथ मनाउने गर्छन्। दिनभरि व्रत बसेर बेलुकी ४-५ बजेतिर गाउँका दिदिबहिनीहरु एकसाथ गाउँको महटाँवाको घरमा गएर अष्टिम्की टिक्ने गर्छन्।
अष्टिम्की टिक्ने बेला परम्पराअनुसार गीत गाउने पनि प्रचलन छ। त्यस दिन गाउँका दिदीबहिनीहरु भेट हुदाँ एकआपसमा खुसी साटासाट पनि गर्छन्। अष्टिम्की टिकेर घर फर्केपछि गाइको गोबरले घरभित्र पोतेर जल (पानी), आगो, दही, अम्बा, काँक्रालगायत भेवाँ अर्थात् कृष्णको नाममा पूजिसकेपछि आफ्नो दाजुभाइको नाममा आफ्नो भागबाट (थारु भाषामा- कहर्ना) दिने चलन छ। यसरी दाजुभाइ, दिदीबहिनी एक साथ जम्मा भएर खुसी व्यक्त गर्छन्।
त्यस दिन अन्न नखाएर बस्ने चलन छ। अष्टिम्कीको भोलिपल्ट बहानै उठेर गाउँका सबै दिदिबहिनीहरु टिकेको समान लिएर नदीमा गई बगाउने र नुहाउने गर्छन् (जसलाई थारु भाषामा अस्रैना भनिन्छ)। नदीबाट फर्किसकेपछि हिजोको जस्तै क्रमिक रुपले पूजा गर्ने चलन छ। पूजा गर्दा भातसँगै विजोडा तरकारी ३,५,७ थरीका हुने गर्छन्। खाना खाइसकेपछि गाउँका साथीसंगी मिलेर बजारमा लाखे नाच हेर्न आउने परम्परा छ।
यस दिन थारु समुदायको चहलपहल धेरै बाक्लो हुने गर्छ। यसरी थारु महिलाले आफ्नो परम्पराअनुसार अष्टिम्कीलाई सामाजिक सद्भाव, मेलमिलाप, तथा समझदारीता कायम राख्ने पर्वको रुपमा मनाउँदै आइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *