आन्दोलनलाई ऊर्जा थप्न थारु महिला सभाको राष्ट्रिय भेला लहानमा हुँदै
थारु महिला सभाको दुई दिने राष्ट्रिय भेला सिरहाको लहानमा हुँदैछ। ‘अधिकार सम्पन्न पहिचानसहितको संविधान राष्ट्रवादी थारु महिलाहरुको अभियान’ मुख्य नारासहित भेला आयोजना हुन लागेको महिला सभाकी हरि देवी चौधरीले जानकारी दिइन्। उनका अनुसार भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित हुनेछ। त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी हुनेछन्।
आज हुने उद्घाटन समारोहमा थारु कल्याणकारिणी सभाका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहने महिला सभाले जनाएको छ। भेलाले थारुहरुको जारी आन्दोलनलाई अझ ससक्त र उचाईमा पुर्याउन विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गर्ने बताइएको छ।
‘थारु आन्दोलनलाई थप ऊर्जा दिनका लागि राष्ट्रिय भेला बोलाइएको हो,’ महिला सभाकी हरि देबीले भनिन्, ‘भेलाले विभिन्न छलफल र प्रस्ताव पारित गर्नेछ।’
थारु महिला सभा थारु कल्याणकारिणी सभाको भातृ संगठन हो।

Facebook Comment