थारू महिलाले बनाएका ढकिया-पथिया अमेरिकादेखि अस्ट्रेलियासम्म

क्रान्ति शाह/अन्नपूर्ण पोस्ट्

पर्साको ग्रामीण भेगका थारू समुदायका गृहिणी महिलाले बनाएका हस्तकलाका सामग्री कलात्मक ढकिया–पथिया अमेरिका, जापान, युके, अस्ट्रेलिया लगायतका तेस्रो मुलुकमा समेत निर्यात हुन थालेका छन्।

पटेर्वा सुगौली गाउँपालिकाका थारू महिलाले घरधन्दाको काम सकाएर फुर्सदको समयमा मुज र राडीको प्रयोग गरेर ढकिया, पथिया, मोना, टोपी, खुत्रुके, टिस्यु पेपर बक्स, पेन होल्डर, डस्टबिन बक्स, कमण्डल लगायतका कलात्मक सामग्रीहरू व्यावसायिक रूपमा बनाउने गरेका छन्। गृहिणी महिलाले बुनेका ती सामग्रीहरू काठमाडौं, पोखरा लगायतका सहरका साथै विदेशका विभिन्न देशमा समेत पुग्न थालेको हो।

करिब एक वर्ष पहिले गाउँपालिका कार्यालयले सुरुमा थारू समुदायका बाक्लो बसोबास भएका विभिन्न वडाका २५ जना महिलालाई ढकिया–पथिया बनाउनेसम्बन्धी १५ दिने निःशुल्क तालिम दिएको थियो। त्यही तालिम लिएपछि थारू महिलाले गाउँघरमै पाइने मुज र राडीको प्रयोग गरेर ढकिया, पथिया लगायतका सामग्रीहरू व्यावसायिक रूपमा बुन्न सुरु गरे। उनीहरूले बुनेर तयार पारेका ती सामग्रीहरूको बजार व्यवस्थापन गरिरहेको गाउँपालिकाले ती सामान तेस्रो मुलुकमा पठाउँदै आएको छ।

थारू महिलाले आफ्नो सीप र कलाले बनाएका कलात्मक सामग्रीहरूको प्रचारप्रसार गाउँपालिकाले गरेपछि अहिले त्यसको माग स्वदेशबाट मात्रै नभई विदेशबाट समेत आइरहेको पटेर्वा सुगौली–२ बेलवाकी लक्ष्मीदेवी चौधरीले बताइन्। उनले भनिन्, ‘हामीले बुनेर बनाएका ढकिया, पथीया लगायतका सामानहरू अमेरिका, जापानसम्म बिक्न थालेको छ। अहिले त अर्डर नै यति धेरै आइरहेको छ कि हामीले बुन्न नै भ्याइरहेका छैनौं।’

घरधन्दा र खेतबारीको काम सकाएर बचेको फुर्सदको समयमा मात्रै ढकिया–पथिया बुन्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीले बुनेर बनाएका एउटै सामान पाँच हजारसम्ममा पनि बिक्छ। जस्तो सामान उस्तै भाउ हुन्छ। तालिम लिएपछि मैले ३० हजारभन्दा बढी नै कमाइ गरिसकें।’

सामानको अर्डर गाउँपालिकाले नै लिएर आफूहरूलाई दिने गरेको र बुनेर तयार पारेपछि गाउँपालिकाले नै ग्राहकलाई बेच्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘अर्डर आएपछि गाउँपालिकाकी मेडमले घरमा आएर हामीलाई मोबाइलमा फोटो देखाइदिनु हुन्छ। त्यही फोटो हेरेर हामीले त्यो सामान बनाएर गाउँपालिकामा पठाइदिन्छौं। उताबाट पैसा आएपछि घरमै ल्याइदिन्छन्।’

गाउँपालिकाले दिएको तालिम लिएर ढकिया–पथिया बुन्न थालेकी बेलवा गाउँकी अर्की गृहिणी महिला छठियादेवी थारूले पनि आएको अर्डरअनुसारको सामान बनाउन समय अभावले भ्याउन नसकिएको बताइन्। उनले भनिन्, ‘पैसा त राम्रै छ। तर बुन्न समयले भ्याइरहेको छैन। घरधन्दा र खेतबारीको काम सकाएर बचेको समयमा मात्रै ती सामान बनाउने गरेका छौं।

बेलवाकै सरितादेवी चौधरीले आफूले बुनेर तयार पारेको कप होल्डर अमेरिकामा पनि बिकेको बताइन्। उनले भनिन्, ‘विदेशबाट अनेक थरीका फोटो मोबाइलमा पठाउँछन्। कतिपय सामान त यस्ता हुन्छन् जुन हामीले गाउँघरमा देखेका हुँदैनौं। तर मोबाइलमा पठाइदिएको फोटो हेरेरै हामीले दुरुस्तै त्यो सामान बनाइदिने गरेका छौं। बनाएका सामान बेच्न पनि कुनै समस्या नरहेको उनले सुनाइन्। उनले भनिन्, ‘अर्डर पनि गाउँपालिकाले हामीलाई दिन्छ। बनेपछि ती सामान गाउँपालिकाले नै जहाँ पठाउनुपर्ने हो त्यहाँ पठाइदिन्छ। हाम्रो हातमा पैसा पनि गाउँपालिकाले नै ल्याएर दिइदिन्छ।’

व्यावसायिक रूपमा ढकिया पथिया बुन्न थालेपछि घरको गर्जो टार्न पनि आफूहरूलाई धेरै सहज भइरहेको लक्ष्मी देवीले बताइन्। उनले भनिन्, ‘मैले त अरू महिलालाई ढकिया–पथिया बनाउने तालिम पनि दिन थालेको छु। अरू गाउँपालिकामा तालिम दिन जान्छु। ५÷७ दिनको तालिम दिन जाँदा तालिम दिएबापत दिनको दुई हजार रुपैयाँ भत्ता पनि लिने गरेको छु।’

केही साता अघिमात्रै पर्साकै ठोरी गाउँपालिका–३ शिकारीबासका महिलालाई चार दिनको तालिम दिन जाँदा ८ हजार रुपैयाँभत्ता पाएको उनले सुनाइन्।

ढकिया–पथिया बुनेर बिक्री गर्न थालेपछि छोराछारीको पढाइ लेखाइको खर्चमा पहिलेको जस्तो समस्या नभएको सरिता देवीले बताइन्। उनले भनिन्, ‘फुर्सदको समयमा काम गर्दा पनि राम्रै आम्दानी भइरहेको छ। अब त कुनै सानोतिनो घरखर्चका लागि वा आफूलाई चाहिँदा पहिलेको जस्तो पतिको मुख ताक्नुपर्ने अवस्था पनि छैन।’

करिब ८५ प्रतिशतभन्दा बढी थारू समुदायको जनसंख्या रहेको पटेर्वा सुगौली गाउँपालिकाका गृहिणी महिलाको सीप र कलालाई प्रोत्साहन गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाका ७५ जना महिलालाई ढकिया–पथिया बनाउने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारूले बताइन्।

गत वर्ष नारी दिवसकै अवसर पारेर सुरुमा थारू समुदायका ३० जना महिलालाई १५ दिने निःशुल्क तालिम दिएको उनले बताइन्। त्यसपछि अर्को चरणमा ४० जनालाई पनि त्यही तालिम दिएको बताउँदै उनले भनिन्, ‘हालसम्म ७५ जना महिलालाई तालिम दिइसकेका छौं। तीमध्ये ३०÷३५ जनाले व्यावसायिक रूपमा ढकिया–पथिया बनाएर बेचिरहनु भएको छ।’

पहिलो चरणको तालिम लिएकामध्ये पाँच जना महिलालाई प्रशिक्षकको पनि तालिम दिएको र उनीहरूले अन्य पालिकामा गएर महिलालाई तालिम दिन थालेको उपाध्यक्ष महतोले बताइन्। उनले भनिन्,‘ यस वर्ष पनि फेरि नारी दिवसकै अवसर पारेर पहिले तालिम लिइसकेकामध्ये केहीलाई एडभान्स तालिम दिने योजना छ। यसका अतिरिक्त थारूको बाहुल्य रहेको हरेक टोलमा कम्तीमा एक सय जना महिलालाई यो तालिम दिने हाम्रो लक्ष्य छ।’

उनले भनिन्, ‘थारूको कलासंस्कृति र सीपलाई उजागर र प्रोत्साहित गर्नुपर्छ भन्ने लाग्यो। त्यही भएर थारू महिलाले बनाउने ढकिया–पथियालाई व्यावसायिक रूपमा बजारीकरण गर्न सकियो भने एक त उनीहरूको आर्थिक अवस्था पनि राम्रो हुन जान्छ। उनीहरूको कला र संस्कृतिको पनि उजागर हुन्छ भन्ने सोचविचार लिएर हामी अगाडि बढ्यौं। र हामीले यसमा राम्रो पनि गरिरहेका छौं।’

आफ्नो पालिकाका थारू महिलाले बुनेर बनाएका सामग्रीहरू अहिलेसम्म काठमाडौं, पोखरा लगायतका सहरका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानसम्म पठाइसकेको उनले सुनाइन्। उनले भनिन्, ‘अहिलेसम्म हामीले करिब दुई लाख बढीको सामान विदेशमा पठाइसकेका छौं।’

थारू महिलाले आफ्नो कला र सीप प्रयोग गरेर बनाएका सामग्रीहरूले विदेशमा बढी मूल्य पाइरहेका कारण स्वदेशभन्दा बढी विदेशबाट आइरहेको मागलाई आफूहरूले बढी जोड दिने गरेको उपाध्यक्ष महतोले बताइन्। उनले भनिन्, ‘हाम्रा महिलाले जुन मेहनत र कला खर्च गरेर सामान बनाउनु हुन्छ, ती सामानको मूल्य स्वदेशमा भन्दा विदेशमा बढी छ। विदेशमा मूल्य राम्रो पाइरहेका कारण हाम्रो जोडबल विदेशी अर्डरमा बढी रहने गरेको छ।’

विदेशबाट एउटै डिजाइनको सामानको एक सयभन्दा बढी परिमाणमा माग आइरहेको उनले सुनाइन्। उनले भनिन्, ‘तर अर्डर आएअनुसार महिलाले भ्याइरहेका छैनन्। त्यसकारण थप महिलालाई तालिम दिने योजना बनाएका छौं।’

पटेर्वा सुगौली गाउँपालिका कार्यालयमा वा अन्य कुनै सार्वजनिक कार्यक्रममा बाहिरबाट आउने पाहुनालाई गाउँपालिकाले मायाको चिन्होका रूपमा आफ्नै पालिकाका थारू महिलाले बनाएका कलात्मक सामग्रीहरू उपहारका रूपमा दिने गरेको पनि उपाध्यक्ष महतोले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *