ग्रामथानका अध्यक्ष नमोनारायणले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन (गाड)को चाबी खोसेका छन्। खोला ठेक्का नलागेको विषयमा गाउँपालिकाको कार्यपालिकामा केही समयदेखि विवाद चलिरहेको छ। त्यही निहुँमा गाउँपालिका अध्यक्ष माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्दै आएको सवारीको चाबी खोसेका हुन्। उनले आफूले पनि गाडी नचढ्ने बताएका छन्।

गाउँ कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालत पुगेपछि अध्यक्ष माझीले सवारीसाधनको चाबी खोसेका हुन्। गत माघ ३० गते बसेको कार्यपालिका बैठकमार्फत लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालो सूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गाउँपालिकाले गरेको थियो।

कार्यपालिका सदस्यलाई बैठकको सूचना नै नदिइकन अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। कार्यपालिका बैठकको सूचना ३ दिनअगाडि नै सदस्यलाई दिनुपर्ने कानुनी व्यवस्था छ।

उच्च अदालतले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि खोला ठेक्का लगाउने प्रक्रिया रोकिएको छ। पालिकाको आन्तरिक आम्दानीको स्रोत बन्द भएका कारण जनप्रतिनिधिको सवारी फिर्ता गरेको अध्यक्ष माझीले बताए।

ग्रामथानको कार्यपालिका बैठक मंगलबार पनि बसेको थियो। कार्यपालिका बैठकमा राखिएका ६ मध्ये २ प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष चौधरीले बताइन्। उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले सहयोगी खटाएर सवारीको चाबी खोसेका हुन्। ग्रामथानमा गत मंसिर १६ गतेको उपनिर्वाचन भएको थियो। माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *