कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना

कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ । पालिका अध्यक्ष गणेश चौधरीले पाँच विगाहा जग्गामा पार्क बनाएर कला सांस्कृति हब बनाउन थालिएको बताए ।

‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’, चौधरीले भने । कला संस्कृतिको हबको सोचलाई सहयोग पुर्‍याउन पालिकाले विभिन्न ललितकला मेलामा प्रतिनिधित्व गराइरहेको छ ।

यसक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गरिरहेको ललित कला मेलामा मूर्तिकार तथा चित्रकार मिठ्ठु थारुलाई पठाएको छ । मेलामा मिठ्ठुले थारु संस्कृतिका मूर्ति र चित्रकला प्रदर्शन गरिरहेका छन् ।

जानकी गाउँपालिका–३ भगतपुरका मिठ्ठु थारु आफ्नो कला, संस्कृति चिनाउन हिँड्न थालेको छ वर्ष भएको छ । यस्ता अभियन्तालाई पे्ररित गर्न मेलामा पठाएको अध्यक्ष चौधरीले बताए । ‘हामीले जानकीलाई ललितकलाको हव बनाउनकै लागि मिठ्ठु जस्ता नयाँ र पुराना पुस्तालाई ललितकला जोडिरहेका छौँ’, उनले भने ।

उता मिठ्ठु पनि थारु समुदायको कला, संस्कृति, परम्पराबारे धेरै नेपालीलाई जानकारी नभएको बताउँछन् । यहीकारण आफ्ना पुर्खाको कला, संस्कृति, पहिचान बुझाउन सक्रिय भएको उनले बताए ।

ललितकला क्याम्पसबाट स्नातक मिठ्ठु थारु समुदायको संस्कृति देखाउने मूर्ति र चित्र बनाउन सिपालु छन् । ३६ वर्षीय उनले आफ्नो संस्कृतिलाई पहिचान दिलाएर त्यसैबाट आफ्नो जीविका पनि चलाइरहेका छन् । ललित कला मेलामा मिठ्ठुका मूर्ति र चित्रकला प्रदर्शनमा आएकाले रुचिसाथ हेरिरहेका छन् । थारु संस्कृति झल्काउने मूर्ति र चित्र राम्रो लागेको नक्सालका केदार कार्कीले बताए ।

तर मिठ्ठुको भने आफ्नै गुनासो । मूर्ति र चित्रकलाका पारखीले रुचिसाथ आफ्नोकला हेरे पनि धेरैले मिथिला संस्कृति हो भनेर सोध्ने गरेका उनले बताए । त्यहीकारण आफ्नै कला, संस्कृति चिनाउन लागिरहने अठोट उनले गरेका छन् ।

ललित कला मेलामा थारु परम्परा तथा लोक संस्कृति र आधुनिकसहित २६ वटा मूर्ति र चित्र राखिएको छ । मिठ्ठु धेरै समय दाङको थारु संस्कृति संग्रहालयका लागि काम गर्छन् । अर्कातिर जानकीस्थित घरमै बसेर कला, संस्कृतिका पारखीको माग अनुसार मूर्ति र चित्रसमेत बनाउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *