पहलगाम घटनामा मारिएका न्यौपानेका लागि न्याय माग्दै पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
भारतको जम्मू-काश्मिरको पहलगाममा मारिएका रुपन्देहीका सुदीप न्यौपानेका लागि न्याय माग्दै प्रदर्शन भएको छ। काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दूतावासअगाडि सोमबार नेपाली युवा समाजले प्रदर्शन गरेको हो। यसअघि विभिन्न संघसंस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दूतावासमा ज्ञापनपत्रसमेत बुझाएका थिए।
पाकिस्तान संरक्षित आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन हुन थालेको हो। हिजोमात्र थारू सम्बद्ध संघसंस्थाहरूले घटनाको निन्दा गरेका थिए। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्।
दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको उक्त घटनाको भर्त्सना गर्दै थारू संस्थालेहरूले आतंकवादविरुद्धको लडाइँमा एक हुन आह्वन गरेका छन्। निहत्था नागरिकहरूको क्रूर हत्या गरिएको भन्दै संलग्नहरूलाई कडा कारबाही र आतंकवादलाई खत्तम पार्न ती संस्थाहरूले विश्व समुदायसँग अपील गरेका छन्।
वैशाख ८ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। बुटवलका सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। हिन्दू भएकै कारण आतंककारीहरूले गोली प्रहार गरी उनीहरूको हत्या गरेका थिए। लगत्तै भारत सरकारले उनीहरूविरुद्ध अपरेशन सुरू गरेको थियो। भारतीय एजेन्सीहरूले घटनामा संलग्न ३ जनाको स्केच पनि सार्वजनिक गरेको छ। मुसा, युनुस र आसिफ नामका तीनै जना लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ।
Facebook Comment