पोखरा विमानस्थलको छानबिनमा चिनियाँ दबाब, विज्ञप्ति नै निकालेर फैलाइयो भ्रम
पोखरा विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिवेदनलाई विमानस्थल निर्माता चिनियाँ कम्पनीले गलत भन्दै भ्रम फैलाएको छ। विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको ‘पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदन’का विषयमा भ्रम फैलाएको हो।
राष्ट्रिय दैनिकमै विज्ञप्ति छपाएर चिनियाँ कम्पनीले भ्रम सिर्जना गरेको हो। यस विषयमा बुधबार भएको छलफलमा सांसदहरूले कडा आपत्ति जनाएका छन्। उपसमितिका संयोजकसमेत रहेका राजेन्द्र लिङ्देनले चिनियाँ कम्पनीको विज्ञप्तिप्रति आपत्ति जनाए।
समितिको बैठकको सुरुमा नै उपसमिति सभापति लिङदेनले भने, ‘निर्माण कम्पनीले भर्खरै जुन विज्ञप्ति जारी गरेको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सार्वजनिक लेखा समितिको पनि ध्यानाकर्षण होस् । एउटा सार्वभौम संसदले तयार गरेको प्रतिवेदनमाथि यसरी विज्ञप्ति निकालेर एकदमै भ्रमपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति निकाल्नु उचित हुन्छ कि हुँदैन, प्रतिवेदन विचाराधीन भएको अवस्थामा प्रभाव पार्नु हुन्छ कि हुँदैन, यसमा समितिले गम्भीर रूपमा सोच्नुपर्छ । यसको म कडा रूपमा प्रतिवाद गर्दछु ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाका सांसद मनिष झाले चिनियाँ कम्पनीको विज्ञप्तिप्रति आपत्ति जनाए। उनले त्यस विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्न माग गरे। उनले भने, ‘नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकमा यो विज्ञप्ति निक्लिनु यसका प्रधान सम्पादक र सम्पादकलाई हामीले स्पष्टीकरण सोध्नुपर्छ। यो सार्वभौम सदनको एउटा सम्मानित समितिको बारेमा यस्तो चुनौतीपूर्ण भाषा प्रयोग गरेको विज्ञप्ति तिमीले किन निकाल्यौ? यसलाई के विज्ञप्ति प्रकाशित गर्ने पैसा मात्रै चाहिएको हो? हामीले जस्तोसुकै तस्बिर पठाइदिन सक्छौ भोलि? के छापिदिन्छ पैसा नै चाहिएको हो भने? त्यसमा करदाताको पैसाले सञ्चालित एउटा सञ्चार गृहले जिम्मेवार हुनुपर्दैन कि, यो कस्तो भाषा प्रयोग गरिएको छ, को प्रति लक्षित छ भनेर?’
यसैबीच प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ। उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
स्रोतका अनुसार एमाले सांसदहरूले पोखरा विमानस्थलसम्बन्धी विषय थप अनुसन्धानका लागि अख्तियारलाई दिनुपर्ने लबिङ गर्दै आएका थिए। सभापति पोखरेल पनि एमालेकै सांसद रहेका र त्यसमा योगेश भट्टराई र गोकुल बास्कोटाले पनि समर्थन जनाएको स्रोतको दाबी छ। हुन त सभापति पोखरेलका पत्नी अञ्जला कोइराला पनि सहकारी ठगीमा मुछिएका छन्। अदालतको धरौटीमा रिहा भएका उनीमाथि प्रहरीले अनुसन्धान गरी जारी नै राखेको छ।
यता उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औंल्याइएको छ।
बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका थिए। उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा विमानस्थल निर्माणका विषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे। उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने स्पष्ट पारे। उपसमिति संयोजक लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पूरा गरिएको बताए।
Facebook Comment