लेखा समितिमा जब अमनलाल मोदीले सभापतिलाई सोधे- तपाईंले हो मलाई जिताएर यहाँ ल्याएको?
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो।
सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनले बताए।
सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाए। सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाए। त्यस्तै सभापति पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभइ पार्टीले पठाएको जवाफ दिएका थिए।
त्यसपछि मोदीले आफूलाई माओवादीले जिताएर यहाँ पठाएको भन्दै आक्रोशित भए। ‘तपाईंले हो मलाई यहाँ ल्याएको? माओवादीले हो जिताएर पठाएको छ। जबसम्म माओवादी प्रतिपक्षी रहिरहन्छ। तबसम्म यो विषय म उठाइरहन्छु,’ उनले भने।
भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवबाट विज्ञापन गर्नका लागि स्टन्ड गरेको जिकिर गरेका थिए। यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठित विभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ। समितिमा परेका उजुरी मध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो।
Facebook Comment