एमालेको ‘म झोले’ अभियान के हो ?

‘पार्टी वा नेताको झोले कार्यकर्ता’ भन्ने शब्द निकै बदनाम थियो, २०४६ सालपछि । अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ कार्यकर्ताका रूपमा चित्रण गरिन्थ्यो । त्यसपछि ‘झोले’ भन्ने शब्द केही समय ओझेलमा पर्‍यो । तर पछिल्लो समय यो शब्द फेरि प्रयोग हुन थालेको छ ।

जेठ १५ मा गणतन्त्र उत्सवका दिन एमालेको जुलुस भइरहेका बेला ट्राफिक जाममा परेका सर्वसाधारणले एमाले कार्यकर्तालाई ‘झोले’ भन्दै विरोध गरे । राजावादीहरूको जुलुसमा पनि ‘एमालेको झोले शब्द’ प्रयोग गरियो । सामाजिक सञ्जालमा पनि एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थाल्यो । त्यसले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आक्रोशित बनायो । एमालेले सोमबारदेखि ‘म झोले’ भन्ने अभियान नै चलाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्दै पोस्टर बनाएर एमाले नेता तथा कार्यकर्तामाथि लागेको आरोपको प्रतिवाद गरेका छन् । ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ ।’

ओलीले ‘म झोले हो’ भन्ने अभियानमा एमाले नेताहरू सहभागी भएका छन् । उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सूचना तथा विज्ञान प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेता महेश बस्नेतलगायतका थुप्रै नेता ‘म झोले अभियान’ मा सहभागी भएका छन् । यो अभियानमा नेता सहभागी हुने बढ्दै छ ।

शनिबार एमालेनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले आफू एमालेको ‘झोले’ भएको सगौरव प्रस्तुत गरेका थिए । ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कयौं गुणा उत्तम चरित्र हो । म नेकपा एमालेको झोले हो, म यो देशको झोले हो । प्रतिक्रियावादीलाई चित्त बुझ्यो ?,’ उनको थप भनाइ थियो, ‘म कबुल गर्छु झोले हो । झोला राम्रा कुरा बोक्न बनेका हुन् । दलाली कुरा हालेर बोक्छन् झोलामा । राम्रा कुरा बोक न झोलामा । म जनताको झोला बोकेर, जनताको झोला, राष्ट्रको झण्डा बोक्ने, परिवर्तनको झण्डा बोक्ने झोले हु । मैले सामन्तको झोला बोकेको छैन । मैले इतिहासलाई बाङ्गोटिङगो भनेर मर्काएको छैन ।’

उनले राजावादीहरूलाई देशको झोला बोक्नुभन्दा दास हुनु उचित लागेको बताए । ‘प्रभुको दास हुँ भनेर कबुलियतनामा गर्न हुने । ती झोले नहुने ? योभन्दा गुलामीको पराकाष्ठा के हुन्छ ?’ ओलीको भनाइ थियो ।

एमालेको झोले अभियान किन त ? एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘झोले अभियान’ प्रतिकात्मक अभियान भएको बताए । देश, जनता र पार्टीका लागि झण्डा र झोला बोक्नु गौरवको विषय भएको उल्लेख गर्दै उनले झोला अभियान सामाजिक सञ्जालमा जारी रहने बताए । ‘देश, जनता र पार्टीका लागि झोला बोक्नु गौरवको विषय हो । त्यही गौरवलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् सुरु गर्नु भएको हो’ उनले भने, ‘प्रतिगमनकारीहरूको विरुद्ध यो प्रतिकात्मक अभियान हो ।’

इकान्तिपुरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *