सिकलसेल रोगले थारू जाति संकटमा छ, निशुल्क उपचार गरी कम्तीमा ५ लाख प्रदान गरियोस् : नाउपा सांसद चौधरी
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे।
‘बजेटमा सिकलसेल एनेमियाको उपचारका लागि नविनतम् प्रविधि अपनाउने भनिएको छ। तर, सिकलसेल रोगको उपचार निशुल्क गर्न सकिएन भने थारू वंश नाश हुने सम्भावना छ। सरकारमाथि थारू जातिको ठूलो प्रश्न खडा भएको छ। थारू जातिलाई बचाउने सरकारको प्रमुख दायित्व र कर्तव्य पनि हो। सिकलसेल लागेका थारूहरूलाई निशुल्क उपचारसहित कम्तीमा ५ लाख सहयोग गरियोस्,’ उनले भने।
सांसद चौधरीले तीन करोडका नाममा योजनाहरू ठगिएको बताए। भूगोलअनुसार बजेट पनि विनियोजन नभएको उनको भनाए छ। ‘यसपाली अंक तीनले झुक्यायो। ३ करोडको नाममा योजना ठगिएको छ। भूगोल नबनाएर बजेट विनियोजन गरिएको छ। सबै विषयवस्तु र नागरिकको योजना समेट्न सफल भए पनि यो बजेट समावेशी भएको छैन,’ उनले भने।
उनले कृषिलाई प्राथमकितामा राखेर चामललाई आत्मनिर्भर बनाउने भनिए पनि किसानहरू सधैं मारमा परेको बताए। उनले हालसम्म किसानले धानको समर्थन मूल्य नपाएको गुनासो गरे। ‘मलमा आत्मनिर्भर बन्ने भनिएको छ। तर, प्रतिक्विन्टर ३१९८ तोकिएको धानको मूल्य अहिले २१ सय देखि २५ सयमात्रै छ। यो मूल्य एक वर्षका लागि तोकिन्छ कि सरकार फेरिपछि मूल्य पनि फेरिन्छ,’ उनले आरोप लगाए।
सांसद चौधरीले किसानलाई ठग्ने धन्दामात्र भइरहेको आरोप लगाए। उनले कैलालीका ७५ प्रतिशत किसानले धान रोप्न सुरू गरे पनि सरकारले हालसम्म समर्थन मूल्य नतोकेको बताए। उनले किसानले उचितरूपमा मल पनि नपाएको गुनासो गरे।
Facebook Comment