नाउपा सांसदहरूको भेला काठमाडौंमा, रञ्जिताले भनिन्- गल्ती स्वीकारौं, बाटो बिग्रिन नदिऔं
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गल्ती स्वीकारेर अगाडि बढ्नुपर्ने बताएकी छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेपछि रञ्जिताले पार्टी टुक्रिन नदिने प्रतिबद्धता जनाएकी हुन्।
लुम्बिनी प्रदेशका ४ जना सांसद र सुदूरपश्चिम प्रदेशका २ जना सांसदसँग आइतबार भइकझ भेट सकारात्मक, सरल र सार्थक भएको उनको भनाइ छ। ‘हामीहरू एउटै परिवार हौं। राजनीतिक संगठनमात्र होइन, साझा मूल्य र भरोसाको बन्धन पनि हो,’ उनले भनेकी छन्।
पार्टीभित्र केही समय अगाडि अलग-अलग सोच, मनमुटाव र आत्मकेन्द्रित प्रवृत्तिहरू देखा परेको स्वीकार गर्दै उनले कुनै पनि जीवित र स्वतन्त्र पार्टीमा कहिलेकाहीँ यस्ता समस्या देखा पर्ने बताए। तर, नेतृत्वको जिम्मेवारी भनेकै यस्तो संवेदनशील अवस्थालाई संवाद, समझदारी र साहसिक निर्णयबाट सही मार्गतिर फर्काउनु रहेको उनको भनाइ छ।
‘म अध्यक्षको हैसियतले कुनै गुनासो होइन। सकारात्मक ऊर्जा, अनुशासन र समर्पणको भाव बोकेर संगठनलाई अघि बढाउने दृढ संकल्पमा छु। हामी गल्ती स्वीकार गर्छौं, तर बाटो बिग्रन दिँदैनौं। हामी फरक-फरक हुन सक्छौं, तर टुक्रिन्छौं भन्ने छैन। आजको भेट त्यसैको संकेत हो। पार्टी अब अझ संयमित, आत्मविश्वासी र जनउत्तरदायी बन्ने बाटोमा छ,’ अध्यक्ष रञ्जिताले भनेकी छन्।
यसैबीच आज नाउपका संघ तथा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना हुँदैछ।
Facebook Comment