नाउपाका १५ सांसदहरूको भेलापछि रञ्जिताले भनिन्- पार्टी तबमात्र बाँच्छ, जब हामी एकतामा अडिग रहन्छौं

नागरिक उन्मुक्ति पार्टीका संघीय तथा प्रदेश सांसदहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा संघ र प्रदेशका १५ जना सांसदहरूले पार्टीको भावी रणनीति र कार्यदिशका बारेमा छलफल गरेका छन्।

बैठकमा मधेस प्रदेशकी सांसद उर्मिला देवी सिंह अनुपस्थित थिए। विशेष कारणले उनी बैठकमा उपस्थित हुन नसकेको बताइएको छ।

बैठकपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर पोस्ट्याउँदै भावुक स्टाट्स लेखेकी छन्। उनले पार्टी रहे सांसद रहने कुरा उल्लेख गरेकी छन्। ‘पार्टी रहे सांसद रहन्छन्। एकता र संघर्षको आधार नभए न पार्टी बाँच्छ, न पहिचान टिक्छ,’ उनले भनेकी छन्।

उनले पति रेशम चौधरीको बलिदानी र संघर्षबाट पार्टी जन्मिएको र पार्टी नै पहिचान भएको उनको भनाइ छ। ‘हामी सांसदमात्र हैनौं। हामी रेशम चौधरीको बलिदान र संघर्षबाट जन्मिएको पहिचान हौं। हामी जनताको साहस र आवाज हौं। त्यही मूल्य र मार्गदर्शनले हामीलाई अघि बढाइरहेको छ,’ उनले भनेकी छन्।

उनले सबै एक नहुने हो भने पद पनि खाली हुने र पहिचान पनि हराउने बताइन्। ‘जब हामी एक ढिक्का हुन्छौं। तब संसद हाम्रो माध्यम हुन्छ। जनता हाम्रो शक्ति र न्याय हाम्रो लक्ष्य हुन्छ। हामी र हाम्रो पार्टी दुवै तबसम्म बाँच्छ जबसम्म हामी एकताको शक्तिमा अडिग रहन्छौं। संघर्षबाट जन्मिएको आन्दोलनको यो यात्रा अझ मजबुत बनाउँदै लैजानेछौं,’ उनले भनेकी छन्।

बैठकमा सुदूरपश्चिम प्रदेशका ७, लुम्बिनी प्रदेशका ४ र संघका ४ जना सांसदको सहभागिता रहेको थियो। बैठकमा पार्टी संरक्षक रेशम चौधरीले पनि पार्टीको नीति र सिद्धान्तका विषयमा प्रशिक्षण दिइएको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *