राजापुरमा थारूले बनाउने ‘महुवा’लगायत मदिराले पायो कानुनी मान्यता, अब नियमन पनि हुने

बर्दियाको राजापुर नगरपालिकाको आठौं अधिवेशनले थारू मदिरा तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ। थारू समुदायमा साँस्कृतिक रूपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो।

८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानुनी रूपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए। ऐन नभए पनि थारू समुदायमा घरेलु मदिरा उत्पादन र प्रयोग भइरहेको हुनाले सो कार्यलाई व्यवस्थापन गर्ने कार्य ऐनले गर्ने उनले बताए।

ऐनमा थारू समुदायमा विभिन्न साँस्कृतिक र व्यक्तिगत प्रयोजनका लागि वार्षिक ६० लिटर भन्दा बढी घरेलु मदिरा उत्पादन गर्न रोक लगाएको छ। त्यसैगरी छोरा वा छोरीको वैवाहिक प्रयोजनका लागि एक सय लिटर भन्दा बढि मदिरा उत्पादन गर्न नपाउने ऐनमा व्यवस्था छ। त्यसैगरी ऐनमा कुनै पनि व्यक्तिले इजाजत पत्र नलिई घरेलु उत्पादन गर्न नपाउने, प्रशोधन, प्याकेजिङ्ग, लेबलिङ्ग नगरी बिक्री वितरण गर्न नपाउने व्यवस्था छ।

ऐनले थारू समुदायमा साँस्कृतिक रूपमा निश्चित परिमाणमा घरेलु मदिरा घरमा उत्पादन गरेर प्रयोग गर्न बाटो खुल्ला गरेको छ। भने वैधानिक रूपमा उद्योग व्यवसाय दर्ता गरेर घरेलु मदिरा उत्पादन र प्रशोधन गरी बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।

राजापुर नगरपालिका विधायन समिति संयोजक राजेश थारूले थारू मद तथा घरेलु मदिराको उत्पादन, नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक नगरसभा समक्ष पेस गरेका थिए भने नगरसभाले सर्वसम्मतले विधेयक पास गरेको थियो। नगर सभामा पेस भएका थप चारवटा विधेयक समेत पास गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *