रसुवाको बाढीले शोकमा डुबेको बारबर्दिया, गर्भवती श्रीमतीसँग जिपन चौधरीको त्यो अन्तिम कल

बर्दियाको बारबर्दिया नगरपालिका-१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उनकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन। यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ। मंगलबार बिहान भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उहाँको परिवारमा वज्रपात परेको छ।

जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया नगरपालिका-१०, फेनापतिका ३२ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम चौधरी, बारबर्दिया-९ का ३० वर्षीय सुरेश थारू र बढैयाताल गाउँपालिका-६, भदहीका २१ वर्षीय लक्ष्मीनारायण थारू मंगलबार रातिको बाढीमा परेर बेपत्ता भएपछि अहिले पूरै बारबर्दिया नगरपालिका शोकमा डुबेको छ। कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त बनेको छ।

मंगलबार बिहान घरमा बसिरहेका जिपनका बाबु रुन्चे चौधरीलाई वडा नं. २ का मानिसले छोराको मोबाइल नम्बर सोधेपछि छोरा बेपत्ता भएको खबर पाएका थिए। मंलगलबार राति १० बजे गर्भवती श्रीमती अनिता चौधरीसँग फोन सम्पर्क गरेका जिपन बेपत्ता भएपछि परिवारमा वज्रपात परेको छ। पाँच वर्षपहिला कामको सिलसिलामा भोटेकोशी पुगेका जिपन गत चैतमा पुनः भोटेकोशी गएको परिवारले जनाएको छ। जिपनसँगै बाढीमा बेपत्ता हुने सन्तोष दहित जिपनका जेठान हुन् भने बुद्धिराम चौधरी जिपनका साला पर्छन्। एउटै परिवारभित्रका तीन जनालाई बाढीले बगाएपछि अहिले गाउँ मात्र होइन, बारबर्दिया नगरपालिका नै शोकमा डुबेको छ।

पाँच वर्षदेखि परिश्रम गरेर काम गरेर पैसा कमाएर उनले श्रीमतीका लागि पसल खोलेका थिए। जिपनका बुबा रुन्चे चौधरीले चैतमा काममा जाँदा परिवारलाई सहज होस् भनेर पसल सञ्चालन गरेर गएको बताए। उनले भने, ‘अहिले सबै बन्द छ।’ उनकी श्रीमती अनिता चौधरीले कामका लागि रसुवा पुगेका जिपनले सोमबार राति श्रीमतीलाई फोन गरेर स्वास्थ्यको ख्याल राख्न भनेक बताइन्। श्रीमतीसँगको त्यो फोन नै जिपनको अन्तिम फोन भयो। जिपनकी आमा हिरामोती चौधरीले परिवार पालनपोषणको जिम्मेवारी बोकेको छोरा बाढीमा बेपत्ता भएको खबरले परिवारमा ठूलो वज्रपात परेको बताइन्।

मिजासिलो स्वभाव भएका जिपन बेपत्ता भएको खबरले आफू विक्षिप्त भएको उनका स्कुलका साथी विश्वास सिंहले बताए। बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले मंगलबार बिहान बाढीबाट बेपत्ता भएका परिवारको स्थायी ठेगाना पत्ता लगाउने काम भइरहेको बताए।

गोरखापत्रबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *