मान्छे नमार्ने थारूहरू हत्यारा भयौं, मान्छे मार्नेहरू सरकारसँगै छ : रेशम चौधरी
नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
आफूलाई अहिले पनि टीकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले तर आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको दोहोर्याए। मान्छे नमार्ने थारूहरू हत्यारा भएको तर मान्छे मार्नेहरू सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको उनको भनाइ छ।
‘हामी मान्छे नमार्ने थारूहरू हत्यारा भयौं। मान्छे मार्नेहरू उनैसँग छन्। सँगसँगै छन्। उनले मार्यौँ पनि भन्छन्। बडा पीडा छ। न्याय मरेको देश। अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने? कसलाई मार्नलाई विद्रोह गर्ने?,’ उनले भने।
चौधरीले नेपाल न्याय मरेको देश भएको समेत बताए। ‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु। मार गाली गर्छन् मलाई। टीकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु,’ चौधरीले भने, ‘बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ। मेरो परिवारको बच्चा मर्यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ।’
संरक्षक चौधरीले मानिसहरू अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरूसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरूको भोट चलाउने प्रपञ्च भइरहेको बताए।
Facebook Comment