नाउपा र आफूविरुद्ध भ्रामक विषय प्रस्तुत गर्नेविरुद्ध कानुनी उपचारमा जाने रञ्जिताको चेतावनी
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मिडियामा आफूलाई जोडिएको विषयप्रति आपत्ति जनाएकी छन्। उनले आफू र पार्टीलाई बदनाम गराउन आधारहीन र नियोजितरूपमा चरित्र हत्या गरेको उल्लेख गरेकी छन्।
‘गत असार २९ गते आइतबार सिधाकुराबाट प्रसारण गरिएको समाचारको शीर्षकप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म र मेरो पार्टीसँग सम्बन्धित नभएको भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवाको विषयलाई लिएर नितान्त ब्यक्तिगत लक्षित शीर्षक राखेर समाचार प्रसारण गरिनु म र मेरो पार्टीलाई बदनाम गराउन, आधारहीनरूपमा आरोपित गरेर नियोजित चरित्रहत्या को प्रयास हो,’ अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेर भनेकी छन्।
उनले नागरिक उन्मुक्ति पार्टी पारदर्शीता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ र प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्। उनले घटनाको सत्यतथ्य छानबिनका लागि कानुनी प्रक्रियामार्फत अगाडि बढाउन आग्रह गरेकी छन्। ‘तर अधिकार क्षेत्रभन्दा बाहिरको विषयलाई जोडेर गलत तरिकाले प्रस्तुत गरी असत्य समाचार सम्प्रेषण गरेकोप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
उनले भ्रामक र असत्य आरोपहरूले जनतालाई भ्रमित पार्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने बताउँदै त्यसविरुद्ध कानुनी उपचारमा जाने चेतावनी पनि दिएकी छन्।

Facebook Comment