रञ्जिताका विषयमा कठोर निर्णय गर्न रेशम चौधरीलाई लक्ष्मण थारूको सुझाव
थरुहट नेता लक्ष्मण थारूले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठबाट पार्टी नचल्ने उद्घोष गरेका छन्। उनले फेसबुकमा भिडियो सन्देश जारी गर्दै नाउपामा रञ्जिता श्रेष्ठको विकल्प खोजिनुपर्ने बताए। उनले नाउपा संरक्षक रेशम चौधरीलाई समग्र पार्टीको हितका विषयमा कठोर निर्णय गर्न सुझाव दिएको बताए। रञ्जिताकै अध्यक्षतामा २०८४ मा चुनावमा जान नसकिने रेशमलाई सुझाव दिएको बताए।
‘माननीय रञ्जिता चौधरीले पार्टी हाँक्न सक्नु हुन्न। उहाँको विकल्प खोज्नुस्। संस्थापक २१ जनाले नागरिक उन्मुक्ति पार्टी बनाए भनेर भ्रम नपाल्नुस्। २१ जनाले पार्टी चल्छ र? बडो गज्जबको कुरा। रञ्जिताको नेतृत्वमा अब ८४ को चुनावमा जान सक्दैनौं। उहाँको नेतृत्व अब स्वीकार्य छैन,’ भिडियो सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्रीसँग फोटो खिचाएरमात्रै पार्टी नचल्ने उनले बताए। एउटा घेराबन्दीमा बसेर रञ्जिताले सुविधा लिँदै आएको उनले आरोप पनि लगाएका छन्।
नागरिक उन्मुक्ति पार्टीलाई ३ लाख जनताले भोट दिएको भन्दै दूरदराजमा अझै यो पार्टीलाई विश्वास गर्नेगरेको उनले खुलाए। त्यही भएर पनि कठोर निर्णय लिनुपर्ने उनको भनाइ छ। ‘रेशमजीले पार्टीलाई ठीक ट्रयाकमा ल्याउनुपर्छ। रञ्जिताका विषयमा कठोर निर्णय गर्नुपर्छ। तपाइँसँग संसद छुटिन सक्छ। मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्री टाढिन सक्छन्। तर, जनतासँग जोडिने निर्णय गर्नुस्,’ उनले भनेका छन्।
उनले भदौ ७ गते थरुहट आन्दोलनको विषयमा समीक्षा पनि हुने बताए। ‘भदौ ७ गते टीकापुर आउँदैछौं। मजाले छलफल गरौं। थरुहट आन्दोलनको १२ वर्षको समीक्षा गरौं। अब चुप लागेर बस्दैनौं,’ रेशमलाई उनले भनेका छन्, ‘जनपक्षीय निर्णय लिनैपर्छ। सिंहदरवार हाम्रो होइन। दूरदराजका जनता हाम्रा हुन्। सचेत भएर कठोर निर्णय लिनुस्। म तपाइँको साथमा छु। तर निर्णय ठीक हुनुपर्यो।’
Facebook Comment