मुक्त कमैया दिवसः ऐतिहासिक दिन
डिवी थारु ‘कविर’
वि.सं. २०५७ साउन २ गते नेपाल सरकारले अनुचित ऋण (सौकी) मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। यही दिनलाई मुक्त कमैया दिवसको रूपमा नेपालको पश्चिम तराईका जिल्लाहरूमा मनाइन्छ। पुस्तौंदेखि चलेको कमैया प्रथाबाट मुक्त गरिएका कमैयाहरूको स्मृति र सम्मानमा यो दिवस मनाइन्छ। यसले राज्य, समाज र नागरिकहरूले दास प्रथाजस्तो अमानवीय अवस्थाबाट श्रमिकहरूलाई मुक्ति दिलाएको ऐतिहासिक उपलब्धिको प्रतीकको रूपमा लिइन्छ। मुक्त कमैया दिवस केवल उत्सव होइन, यो समाजमा समानता र न्याय स्थापना गर्न गरिएको संघर्षको स्मारक पनि हो। हामीले यो दिवस मनाउँदा अझै पछाडि परेका मुक्त कमैयाहरूको आवाज बुलन्द बनाउन आवश्यक छ।
मुक्त कमैया दिवस एउटा संघर्ष, मुक्ति, न्याय, समानता र मानव अधिकारको प्रतीक । यो दिनले हामीलाई स्मरण गराउँछ कि कानुनी मुक्ति पर्याप्त छैन। आर्थिक, सामाजिक र साँस्कृतिक न्याय प्राप्त नभएसम्म मुक्त कमैयाहरूको अवस्था अधुरो नै हुन्छ। त्यसैले यो दिवस उत्सवमात्रै नभई एकजुटता र परिवर्तनको आवाज पनि हो।
के हो कमैया प्रथा?
कमैया प्रथा नेपालको ऐतिहासिक, समाजिक र आर्थिक शोषण प्रथाको रूपमा चिनिन्छ। यसले विशेष गरी पश्चिम तराईका थारू समुदायलाई प्रभावित पारेको थियो। यस प्रथामा भूमिहीन र गरिब किसानहरू जमिन्दार वा धनी ब्याक्तिसँग ऋण लिएपछि वा उसको जमिनमा बुकुरो बनाएपछि त्यसको सट्टामा श्रम गर्न बाध्य बनाइन्थ्यो। उनीहरू पुस्तौं पुस्तासम्म जमिन्दारको घर वा खेतमा अनिवार्य रूपमा कमैया भएर काम गर्नुपर्थ्यो।
यसले थारू समुदायलाई उत्पीडित र शोषित बनाएको थियो। न्यूनतम ज्यालामा काम गराइन्थ्यो, जुन वर्षदिन खान-लगाउन पुग्दैन्थ्यो। औषधि उपचार र शिक्षा त परको कुरा थियो। जीवन गुजाराका लागि बाध्य भएर उनीहरूले मालिकसँग ऋण लिनुपर्थ्यो। त्यही ऋण व्याजको स्याज गरीदोब्बर-तेब्बर बढ्दै जान्थ्यो र तिर्न नसक्दा पुस्तौंपुस्ता कमैया बस्न बाध्य हुने अवस्था हुन्थ्यो। उनीहरूमाथि कुटपिट, दुर्व्यवहार, यातना, श्रम र यौन शोषणसमेत हुन्थ्यो। यसको असर आ जपनि धेरैजसो मुक्त कमैयाहरूको जीवनमा देखिन्छ। सामन्त जमिन्दार वर्गले दासको रूपमा आफ्नो नियन्त्रणमा राखेका भूमिहीन गरिब थारूहरूमाथिको शोषण प्रथा नै कमैया प्रथा हो।
थारू कसरी भए कमैया?
पश्चिम तराईलाई थारूवान भूमि र थारूहरूलाई धर्तीपुत्र भनिन्छ। यो धर्ती र पुत्रबीचको सम्बन्ध प्राचीनकालदेखि नै कायम रहँदै आएको देखिन्छ। जर्मन पुरातत्वविद् गुड्डन कर्भिनसले दाङ-देउखर क्षेत्रमा गरेको अध्ययनले यो क्षेत्र प्रागैतिहासिक मानव बस्ती भएको प्रमाणित गरेकी छन्। उनले हिम युग र प्रारम्भिक होलोसिनको अध्ययन गर्नुका साथै ढुंगेयुगको उपकरणहरूको आधारमा यस क्षेत्रलाई प्राचीन मानवको वासस्थानको रूपमा देखाएकी छन्।
थारू समुदाय र सिकलसेल रोगबीच गहिरो अनुवांशिक सम्बन्ध छ। यो सम्बन्ध प्राकृतिक चयन र वातावरणीय अनुकुलनको परिणाम हो, थारूहरू लामो समयदेखि मलेरिया प्रभावित तराई क्षेत्रमा बसोबास गर्दै आएका हुनाले यो रोगविरुद्धको प्रतिरोधी जीन विकास भएको हो। यसले पनि पुष्टि गर्छ कि थारूहरू प्राचीनकालदेखि नै तराईका स्थायी बासिन्दा हुन्। उनीहरूले मेलेरियाजस्ता महामारी झेले पनि आफ्नो भूमि छोडेनन्। तर, कालान्तरमा उनीहरूकै भूमि खोसियो। उनीहरू भूमिहीन भए र जमिन्दारका खेतमा काम गर्दै दुःखी जीवन विताउन बाध्य भए।
थारूहरू कमैया हुनुका पछाडि सामन्ती राज्य ब्यवस्था मुख्य कारण हो। थारूहरूको आफ्नै मौलिक गणराज्य थियो। थारू समुदाय हिन्दू वर्णवादी नभई यो एउटा कम्लीट सोसाइटी हो। उनीहरूको समाज, परम्परा र साँस्कृतिक मान्यतामा आधारित भएर सञ्चालन हुन्थ्यो। उनीहरूको जीविकोपार्जन मुख्यतः कृषि थियो। भूमिसँग जीवन गाँसिएका थारूरुहरूले पुस्तौंदेखि भोगचलन गर्दै आएको भूमि गुमाएपछि उनीहरू त्यसै भूमिमा कमैया बन्न पुगे।
पृथ्वीनारायण शाहको एकीकरण अभियानमा थारूहरूको गणराज्य षड्यन्त्रपूर्वक शाह शासनमा गाभियो। त्यसपछि राज्यले थारूवान क्षेत्र ‘बन्दोबस्ती’ प्रणालीअन्तर्गत बाहिरी मानिसहरूलाई बसोबासका लागि दिइयो। राणा र पञ्चायतकालमा पनि थारूहरूको जमिन कानुनी प्रक्रिया बिना खोसी शासक वर्गका आफन्तहरूलाई बाँडियो। अझ नयाँ मुलुक बनेपछि थारूवान राणाहरूको विरतामा फेरिएर सरकारले जगेर्ना पनि मनमर्जी हुन थाल्यो। यसरी थारूहरू भूमिहीन भएर कमैया बन्न बाध्य भए।
भूमिहीन गरिब थारूहरू दुई कारणले जमिन्दार कहाँ कमैया बस्न बाध्य थिए। पहिलो, ऋण लिएबापत, र दोस्रो, जमिनको सट्टा श्रम दिनुपर्ने कारण। बँधुवा कमैयाहरूले राम्रो ज्याला पाइहाले पनि मालिकको काम छोड्न पाउँदैनथे। परिवारका सबै सदस्य मालिकको घरमा अनिवार्यरूपमा काम गर्न बाध्य थिए। श्रीमतीहरू बुक्रही र छोरीहरू कम्लहरी बन्नु यही शृंखलाको हिस्सा थियो। २०औं शताब्दीको अन्त्यसम्म पनि यो अमानवीय प्रथा नेपालमा विद्यमान थियो।
कमैया मुक्तिको घोषणा
जमिन्दार वा ठूला भूस्वामीहरूले गरिब थारूहरूको श्रम शोषण गर्ने प्रणालीभित्र बँधुवा श्रमिकको रूपमा बाँचेका कमैयाहरू स्वतन्त्रता र भूमि खोजिरहेका थिए। वि.सं. २००१ सालमा बर्दियामा विभिन्न जिल्लाका भूमिहीन थारूहरू भेला भई भूमि अधिकारको आवाज उठाए। २००८ साल वैशाख १५ गने बर्दियाको बेल्वा गाउँमा जमिन्दार र किसानबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भयो। ज्यान गुमाउनेहरूमा कोइली थरूनी, लोहारी थारू, चापु थारू, लक्ष्मीप्रसाद थारू, पतिराम थारू र डिबुवा थारू थिए। घाइते हुनेहरू २२ जना थिए। २०१७ साल साउनमा दाङको बेलुवाबन्जाडीमा पनि प्रहरीको गालीबाट गुम्रा थारूको ज्यान गयो। २०३५ सालमा बर्दियाको थुम्नी गाउँको मालिकबाट कमैया मनराखु थारूलाई मुक्त गर्दा मालिकको गालीबाट मोहन थारूको मृत्यु भयो। २०४५ साल फागुनदेखि कमैयाहरूले भूस्वामीका घर खेतमा काम नगर्ने घोषणा गर्दै विद्रोह थाले। २०४८ साल फागुनमा कन्द्रा आन्दोलनमा प्रहरीको गली लागि रुन्चे थारूको ज्यान गयो। कैलालीका गेटा गाविसका कमैयाहरूले पनि उचित ज्याला, अनुचित ऋण खारेजी र मुक्तिको मागसहित आन्दोलन सुरु गरे। २०५२ फागुन १ गते माओवादी जनयुद्ध सुरु भएपछि कमैयाहरू न्यायको आशामा सहभागी भए। उनीहरूको सहभागिताले पश्चिम तराईमा जनयुद्ध घनिभूत भयो। सामन्तविरुद्ध कारबाही बढेपछि जमिन्दारहरू विस्थापित हुनथाले। यही पृष्ठभूमिमा २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो।

५,४८८ परिवार पुनःस्थापित हुन बाँकी रहँदै सरकारले कार्यक्रम बन्द गर्यो। अझै गम्भीर कुरा के हो भने, धेरै मुक्त कमैया परिवार लगत संकलनमै छुटे। हरेक वर्षको मुक्त कमैया दिवसमा पुनःस्थापनाको अधुरो कार्य छिट्टै पूरा गरियोस् भन्ने आवाज उठ्ने गरेको छ। मुक्त कमैयाहरूलाई पुनःस्थापित गर्दा वितरण गरिएको जग्गा धनीपूर्जामा १० वर्षसम्म बिक्री, नामसारी गर्न नपाइने उल्लेख गरियो। तर, २० वर्ष पार हुँदा पनि त्यो कायम रहँदा उनीहरू बैंकिङ कारोबार गर्न वञ्चित भइरहेका छन्। पहिले जमिन्दारले बँधुवा कमैया बनाए अहिले सरकारले बँधुवा बनाएको महसुस गरिरहेका छन्। सम्पत्तिको हकमा किन विभेद्? गम्भीर प्रश्न उब्जेको छ। कानुनीरूपमा मुक्त घोषणा गरिए पनि अझै व्यवहारिकरूपमा विभेद्, उपेक्षा र मोलिक हकबाट वञ्चित जीवन बाँच्न बाध्य छन्।
बोल्ने औजार र सामन्ती चिन्ता
कमैया प्रथा अन्त्यको घोषणा भएको दुई दशक वितिसकेको छ। कानुनीरूपमा थारूहरू मुक्त भनिए पनि, उनीहरूको सामाजिक अवस्था र सम्मानको सबाल अझै अधुरो छ। सामन्ती व्यवस्था, जसले थारू समुदायलाई पुस्तौंसम्म बाँधेर राख्यो। आज कानुनको डरले मौन त छ, तर मनोवृत्तिमा खासै परिवर्तन देखिँदैन। जब थारूहरूले बोल्न थाले, आफ्नो पीडा सार्वजनिक गर्न थाले, आफ्नो अधिकार र पहिचानको लागि आवाज उठाउन थाले। त्यही बेलादेखि सत्ताधारी र पुराना जमिन्दारहरू चनाखो भए। उनीहरूलाई थारूको यो आत्मविश्वास र राजनीतिक सहभागिता ‘अस्वाभाविक’ लाग्न थाल्यो। किनभने पुराना सोँचले अझै पनि थारूहरूलाई समाजको दोस्रो दर्जाका मान्छे ठान्छ। विचार फेर्न सजिलो छ, तर सामन्ती चरित्र फेर्न कठिन रहेछ। बोल्ने औजार, मञ्च, पत्रिका, सभा, संगठन, जब थारूहरूको स्वाभिमान बोल्न थाले, तब सामन्ती चिन्ता झनै गहिरियो। किनभने ती ‘शान्त’ कमैयाहरू अब आँखामा आँखा जुधाएर बोल्न थालेका छन्। यिनका अनुहारमा अब डर छैन, चिन्ता छ त सत्ताधारी मनोवृत्तिलाई।
थारूहरू अब माग्दै होइन, अधिकार दाबी गर्दै बोल्छन्। यही आत्मसम्मान नै आजको साँचो ‘मुक्ति’ हो, जसले सामन्ती चिन्तनको चुला हल्लाइरहेको छ। गणतन्त्र नेपालमा सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाले सिर्जना गरेको सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने संकल्प गरिएको छ। त्यसैले लगत संकलनबाट छुटेका र पुनःस्थापित हुन बाँकी मुक्त कमैयाहरूका हकमा तुरुन्तै काम अघि बढाउन संयन्त्र बनाउनुपर्छ। प्रतिबन्धित जग्गा फुकुवा गर्नुपर्छ, तबमात्र मुक्त कमैया दिवसको सार्थकता हुनेछ।
लेखकः थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य, बारबर्दिया नगरपालिकाका निर्वतमान प्रमुख र उच्च स्तरीय भूमिसुधार आयोग २०६५ का केन्द्रीय सदस्य हुन्।
सही विचार अनि सत्यता ।