केन्द्रीय समितिको बैठक बोलाइएपछि नाउपामा लफडा
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समितिको बैठक बोलाइएपछि लफडा सुरू भएको छ। संसदीय दलको नेतासमेत रहेका गंगाराम चौधरीले केन्द्रीय कमिटी बैठक आह्वान गरेपछि विवाद सिर्जना भएको हो। गत शनिबार (साउन ३ गते) गंगारामको अध्यक्षतामा बसेको बैठकले साउन ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो। बैठकमा प्रतिनिधिसभा सदस्यद्वय लालवीर चौधरी र अरुण चौधरी सहभागी थिए।
विशेषतः अध्यक्ष रञ्जिता श्रेष्ठको अडियो प्रकरणले विवाद उत्पन्न भएपछि नाउपाका नेताहरूले बैठक बोलाउन माग गरेका थिए। शनिबार तय गरिएको बैठकमा अध्यक्ष रञ्जितालाई बोलाइए पनि उनी उपस्थित भइनन्। अध्यक्ष नै उपस्थित नभएपछि टीकापुर महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका गंगारामले बैठक बोलाएका थिए।
अध्यक्ष रञ्जिताले आफूलाई बैठकबारे जानकारी भए पनि आकस्मिक कामले गर्दा उपस्थित हुन नसकेको बताइकी छन्। पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठक अध्यक्षले मात्र बोलाउन सक्ने व्यवस्था रहेको बताउँदै अध्यक्ष रञ्जिताले विधानभन्दा बाहिर गएर बोलाइएको बैठक आधिकारिक नहुने र त्यसले गर्ने कुनै पनि निर्णय मान्य नहुने बताएकी छन्।
निर्वाचन आयोगले गंगारामलाई नचिन्ने रञ्जिताको तर्क छ। टीकापुर महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन अस्विकार गरेको थियो। यससम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालता विचाराधीन छ। टीकापुर महाधिवेशन अस्वीकृत भएपछि आयोगले संस्थापक २१ जना सदस्यलाई मात्रै मान्यता दिएको छ।
नाउपाका एक नेताका अनुसार अहिले बैठक बस्न जरुरी रहेको थारुवानसँग बताए। विभिन्न अडियो प्रकरणमा मुछिएपछि अध्यक्ष आफैंले बैठक बोलाएर आगामी रणनीति तय गर्नुपर्ने उनको भनाइ छ। ‘अध्यक्षमाथि यत्रो आरोप लागेपछि उहाँले नै बैठक बोलाएर यसबारे छलफल र आगामी रणनीति तय गर्नुपर्छ। यो चुप लागेर बस्ने समय होइन। आरोप चिरेर जाने समय हो। पार्टी कुनै व्यक्ति विशेष हुनु हुँदैन,’ ती नेताले भने।
उनले पार्टीसँग धेरै नेता कार्यकर्ता जोडिएका हुनाले विवादित विषयलाई प्रस्ट पारेर अघि बढ्नुपर्ने बताए। उनले अन्य पार्टीमा पनि यसखालको विवाद आउने गरेको र छलफलका माध्यमबाट त्यसलाई चिर्दै लगेको उदाहरण पनि दिए। ‘माधव नेपालविरुद्ध मुद्दा दायर हुँदै सिंगो पार्टी एक ठाउँमा उभियो। हामीले पनि त्यही नीति अपनाउनुपर्यो नि। अनि अध्यक्षले बैठक पनि नबोलाउने अनि बैठकलाई मान्दिनँ पनि भन्ने हुनु हुँदैन। सबैको सहमतिमा छिट्टै बैठक डाकियोस्,’ उनले भने।
Facebook Comment