अख्तियारमा रञ्जिताको बयान, ‘विवादित अडियो’सँग दाँज्न ‘भ्वाइस टेस्ट’ पनि लिइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिएको छ। बुधबार अख्तियारले उनलाई बयानका लागि झिकाएको हो। विहान १० बजेदेखि अख्तियारले रञ्जितासँग सोधपुछ गरेको स्रोतले बतायो।

मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरू फेला पारेको थियो।

अख्तियार स्रोतका अनुसार रञ्जिताको ‘भ्वाइस टेस्ट’ पनि लिइएको छ। घुस प्रकरणको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई उनको ‘भ्वाइस टेस्ट’ लिइने भएको हो।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो।

दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए। पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको ती अधिकारीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *