काठमाडौंमा मनाइयो गुरही पर्व

थारू समुदायले काठमाडौंमा गुरही पर्व मनाएको छ। बालबालिकाको पर्वको रूपमा मानिने गुरही पर्व काठमाडौंको भृकुटिमण्डपमा मनाइएको हो। गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित रहेकाले थारू समुदायका बालबालिकाहरू जम्मा भएर भृकुटीमण्डपमा मनाइएको थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बताए।

उनका अनुसार गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोग व्याधीले नसताउने, महामारी नफैलिने भन्ने जनविश्वास छ। उनले भने, ‘गुरहीको आफ्नै मूल्य मान्यता छ, यो पर्व गाउँघरतिर कपडाको गुरही (गुडिया) बनाएर गाउँको चोकमा पूजा गरी विसर्जन गर्ने गरिन्छ।

महिलाहरूले आफूसँग ल्याएको गुरही फाल्ने र पुरुषहरूले सोँताले ठटाउने, पिट्ने गरेपछि गुरहीसँग ल्याइएको प्रसाद (भुजा वा गेडागुडी) बाँडेर खाने र नाचगान गरी रमाइलो गर्दै मनाउने चलन छ। थारु समुदायका अगुवा तथा गुठी संस्थानका पूर्व अध्यक्ष मीनराज चौधरीका अनुसार गुरही एक प्रकारको भुसुना खाने किरा हो। यसले भुसुना लामखुट्टेलगायतका महामारी फैलाउने किरालाई खान्छ। जसको कारण लाग्ने रोगमा कमी आएको छ। उनले भने, ‘थारू समुदायमा गुरही विभिन्न अर्थ लाग्ने गर्छ। गुर्ही/गुरही भनेको कपडाको टुक्राले बनाइएको निर्जीव वस्तु हो भने अर्को गुरही जीवित गाइने किरा हो।

थारु समुदायमा गुर्या पनि अनेकार्थी शब्द हो। यसको एउटा अर्थ पर्व हो भने अर्को माला हो। तर, जसरी यो पर्वमा मालाको कुनै लेनदेन छैन त्यसरी नै गाइने किराको पनि यो पर्वमा कुटाइ खानेकुरामा कुनै सम्बन्ध छैन।

तस्बिर : परलाद चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *