अध्यक्ष हटाउने निर्णयविरुद्ध कानुनी उपचारमा जान्छौं : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।

मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा बुधबार काठमाडौंमा भएको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य रामलाल डंगौरा थारुले बताए । ‘राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको छ,’ उनले भने ।

श्रेष्ठले भने राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै भएको भन्दै यसले गरेको निर्णय मान्य नहुने बताएकी छन् । ‘राष्ट्रिय भेला अध्यक्षले बोलाउने विधानमा प्रावधान छ । त्यसकारण मैले नबोलाएको भेलाले गरेको निर्णय वैधानिक छैन,’ उनले भनिन् । भेलाको निर्णयबारे कानुनी उपचार खोज्ने तयारी रञ्जिता पक्षले गरेको छ ।

अध्यक्षसहित २१ जना संस्थापक केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै, राष्ट्रिय भेलाका प्रतिनिधिहरूमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलामा सहभागी केही नेताहरूले भेला नै अवैधानिक भएको भन्दै बहिष्कार गरेका थिए । प्रतिनिधिसभामा नाउपाका चार जना सांसद रहेकोमा श्रेष्ठबाहेक तीन जना उपस्थित थिए । यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका नाउपाका सात जना सांसदमध्ये बुधबारको भेलामा पाँच जना सहभागी थिए ।

अध्यक्ष पक्षधर सांसद कैलाश चौधरी उपस्थित थिएनन् भने यसअघि अध्यक्षलाई स्पष्टीकरण सोध्ने बैठकमा उपस्थित रहेका सांसद लक्ष्मणकिशोर चौधरीसमेत बुधबारको भेलामा अनुपस्थित थिए । नाउपाबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारै जना सांसद भेलामा उपस्थित रहेको बताइएको छ । भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी कैलालीका चार स्थानीय तहमा नाउपाको नेतृत्व छ । चारवटै पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष (जनप्रतिनिधि) पनि राष्ट्रिय भेलामा सहभागी रहेको नाउपाका नेता ठाकुरसिंह थारूले बताए ।

कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *