जम्मू-कश्मीरमा पाकिस्तानद्वारा प्रायोजित आतंकवाद
पछिल्लो दशकमा पाकिस्तानले जम्मू-कश्मीरमा आतंकवादको माध्यमबाट अशान्ति फैलाउने रणनीति अझ आक्रामक बनाउँदै आएको छ। भारतको संविधानको धारा ३७० खारेज भइसकेपछि जम्मू-कश्मीरले मुख्यधारा भारतसँग गहिरो एकीकरण अनुभव गरिरहेको छ। यसै सन्दर्भमा पाकिस्तानले आफ्नो परम्परागत रणनीति, आतंकवादको प्रयोगमार्फत धार्मिक ध्रुवीकरण र राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयासलाई तीव्र बनाएको देखिन्छ।
२०१९ मा धारा ३७० को खारेजीपछि जम्मू-कश्मीरमा विकासका ढोका खुलेको छ। यससँगै कश्मीरी युवाहरूमा राष्ट्रसँग सहकार्य गर्ने झुकाव बलियो बनिरहेको छ। सुरक्षास्रोतहरूका अनुसार, सन् २०२४ मा जम्मू-कश्मीरका केवल ७ स्थानीय युवाहरू मात्र आतंकवादी समूहमा सामेल भए, जुन २०२१ को तुलनामा ९४% गिरावट हो। यो आँकडाले पाकिस्तानको रणनीतिमा झट्का पुर्याएको छ।
आतंकवादी समूहहरूका लागि स्थानीय समर्थन कमजोर भइरहँदा, पाकिस्तानले अब विदेशी आतंकवादीहरूमा भर पर्न थालेको छ। सन् २०२० मा जम्मू-कश्मीर प्रहरीले २५० भन्दा बढी विदेशी आतंकवादीहरू पक्राउ गर्यो, जुन अघिल्ला वर्षहरूको औसत (१००-१५०) भन्दा धेरै उच्च हो।
पाकिस्तानले भारत र अन्तर्राष्ट्रिय समुदायको नजर छल्न आतंकवादी संगठनहरूको नाम फेरेर नयाँ ब्रान्डिङ गर्ने नीति अपनाएको छ। जैश-ए-मोहम्मद (JeM) र लश्कर-ए-ताइबा (LeT) जस्ता पुराना समूहलाई क्रमशः People’s Anti-Fascist Front (PAFF) र The Resistance Front (TRF) को रूपमा पुनः स्थापित गरिएको छ।
यी छद्म समूहहरूले कश्मीरी जनताको नाममा कार्य गरिरहेको भान पारेर सामाजिक सञ्जाल, साइबर प्लेटफर्म र प्रचार सामग्रीमार्फत स्थानीय विद्रोहको स्वरूप दिने प्रयास गरिरहेका छन्। यद्यपि सुरक्षास्रोतहरूले प्रमाणसहित पुष्टि गरिसकेका छन् कि यी समूहहरू ISI को प्रत्यक्ष निर्देशनमा पाकिस्तानबाट सञ्चालन भइरहेका छन्।
पाकिस्तानले प्रायोजित आतंकवादको पछिल्लो चरणमा विशेष रूपमा हिन्दू समुदायलाई लक्षित गर्ने कार्ययोजना अपनाएको देखिन्छ। यसले जम्मू-कश्मीरमा साम्प्रदायिक ध्रुवीकरण भड्काउने, सामाजिक विभाजन बढाउने र भारतभित्र अस्थिरता उत्पन्न गर्ने उद्देश्य लिएको छ।
गत अप्रिल २२ पहलगाममा आक्रमण हुँदा २६ जनाको मृत्यु भयो। भारतीय सुरक्षास्रोतका अनुसार आक्रमणकारीहरू पाकिस्तानमा प्रशिक्षित थिए र विशेष रूपमा हिन्दू पर्यटकहरूलाई लक्षित गरिएको थियो।
२०२४ जुन ९ मा यात्रामा गएका हिन्दू श्रद्धालुमाथि गरिएको आक्रमणमा ९ जना मारिए भने २०२३ राजौरीमा हिन्दू बस्ती लक्षित गरी गरिएको आक्रमणमा ७ बालबालिकासहित १० जनाको ज्यान गयो। यी तीन घटनामा समान विशेषता देखिन्छ, गैर मुस्लिम जनसंख्या लक्षित, सामूहिक जनधनको क्षति, र त्यसपछि सामाजिक सञ्जालमा पाकिस्तान समर्थित झुटा प्रचार।
पाकिस्तानी रणनीतिमा हाल साइबर र मनोवैज्ञानिक युद्ध महत्वपूर्ण साधन बनेका छन्। युवाहरूलाई प्रभावित गर्न पाकिस्तानका साइबर सञ्जालहरूमा “भारतीय सैन्य दमन”, “इस्लामको रक्षाको लागि युद्ध” जस्ता भावनात्मक सन्देशहरू प्रसारण गरिन्छ। Telegram, Facebook, X जस्ता प्लेटफर्महरूमा आतंकको प्रचार सामग्री फैलाउने, युवालाई भर्ती गर्ने, तथा साम्प्रदायिक आक्रोश भड्काउने कार्य भइरहेको छ। यस किसिमको रणनीति पछाडिको लक्ष्य भनेको घरेलु जनमतलाई भ्रममा पार्ने र अन्तर्राष्ट्रिय समुदायमाझ भारतको छविलाई कमजोर पार्ने हो।
धारा ३७० खारेजपछि जम्मू-कश्मीरमा सुरक्षा स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। विकास, रोजगारी, पर्यटन र शिक्षा क्षेत्रको सुधारसँगै जनमानसमा पाकिस्तानप्रति असन्तोष बढेको छ। हालै, आतंकवादी आक्रमणपछि स्थानीय जनताले खुल्ला रूपमा विरोध प्रदर्शन गर्नु, शहीद सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली दिनु, र आतंकवादीहरूलाई सहयोग नगर्ने जनदबाबले पाकिस्तानको षड्यन्त्रलाई प्रभावहीन बनाइरहेको छ।
पाकिस्तानद्वारा जम्मू-कश्मीरमा आतंकवादको प्रायोजन केवल सामरिक हैन, राजनीतिक र वैचारिक रूपमा पनि भारतमाथि आक्रमण हो। यसको अन्तिम लक्ष्य भनेको भारतको आन्तरिक स्थायित्वमा खलल पुर्याउने, धार्मिक सद्भाव तोड्ने र जम्मू-कश्मीरलाई विकासको बाटोबाट विचलित पार्ने हो।
तर कश्मीरी युवाहरूले राष्ट्रसँगको सहकार्य रोज्न थालेको संकेत, पाकिस्तानको आतंकवादी संरचनाको उजागर, तथा छद्म संगठनहरूमाथि दबाबले अब पाकिस्तानको रणनीति कमजोर पार्ने दिशामा उन्मुख छ। सामूहिक प्रयास, जागरूकता र सुरक्षात्मक सतर्कतामार्फत भारतले यो रणनीतिक युद्धलाई हाराहारीमा पार्न थालेको छ।
Facebook Comment