अन्ततः कन्तलाल चौधरीको हत्या आरोपी दुई महिनापछि समातिए

सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका-८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका-२ का २० वर्षीय दीपेन मरिक, खडक नपा-११ का ३४ वर्षीय हरिकिसुन मरिक र शम्भुनाथ नपा-८ का २४ वर्षीय दीपक मरिक रहेका छन्।

त्यस्तै उदयपुरको बेलका नपा-१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा-७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार छन्।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद गरिएको छ।

यो समूहले कन्तलालको हत्या गर्दै २३ जेठ राति १ बजेतिर लुटपाट गरेको थियो । उनको घरबाट सुनचाँदीका गरगहना लुटिएको थियो । डाँका गर्न आएपछि कन्तलालले थाहा पाएका थिए । त्यसपछि धारिलो हतियार प्रहार गरी घाइते बनाएर गोली हानी उनको हत्या गरिएको थियो ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको थियो । त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र नगदसमेत लुटपाट गरी फरार भएको थियो । डाँका समूहले आक्रमण गरेको जानकारी प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर लामो समयसम्म हत्यारा र लुटेरा पहिचान भएको थिएन ।

लामो अनुसन्धानपछि सबुदसहित ९ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । त्यतिबेला घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोकासमेत फेला पारेको थियो ।

कन्तलालको हत्या पोल खुल्ने डरले लुटेरा समूहले गरेको पाइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक कन्तलाल र डकैती गर्न आएका केही व्यक्ति भने वरपरका चिनजानकै मान्छे थिए । नकावसहित डाँका गर्न आएको समूहलाई कन्तलालले चिनेको र यसबारे प्रहरीलाई खबर गरिदिने समेत बताएको प्रहरी अधिकारी बताउँछन् । यो सबै कुरा उनकी श्रीमतीले पनि सुनेपछि डाँका समूहले कन्तलालको हत्या गरेको डीएसपी बस्नेतको भनाइ छ ।

‘चिनेकै समूह डाँका गर्न गएको रहेछ । घरधनीले चिनेपछि पोल खुल्ने डरले हत्या भएको देखिन्छ,’ बस्नेतले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *