छोरीको पढाइको जिम्मेवारी प्रशासनले लिएपछि भरतको शव बुझ्न तयार भए परिवार, प्रहरीमा दिए जाहेरी
कैलाली कारागारभित्र कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन्।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको बताए। मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, हाल आठ कक्षामा अध्ययनरत छोरी बन्दनालाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै थिए।
यसैबीच उनकोको परिवारले प्रहरीमा जाहेरी दिएको छ। शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार जाहेरी दिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जाहेरी प्राप्त भएको बताए। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोले संलग्न कैदीबन्दीको पहिचान गरेर कारबाही दायरामा ल्यायने उनले बताए।
लागूऔषध सेवनको आरोपमा चौधरीलाई माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो। परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर कारागार चलान गरिएको थियो। भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन्।
Facebook Comment