बसले ठक्कर दिँदा साइकल सवार अतवारी चौधरीको मृत्यु
टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका-६ मिलनपुर शिविरका ४५ वर्षीय अतवारी चौधरी रहेको डीएसपी नविन राजा बुढाथोकीले बताए।
साइकलमा सवार रहेका चौधरीलाई बिहान ९ बजे टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१-००१-ख ३५८३ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृतक चौधरी काठको काम गर्ने मिस्त्री रहेको बताइएको छ। उनी घरबाट काठको काम गर्ने भन्दै आएका थिए। उनले साइकलको पछाडि खाना समेत बोकेर आएको प्रहरीले बताएको छ।
सोही घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षका राजु चौधरीलाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ। प्रहरीका अनुसार बसले साइकल यात्रीलाई ठक्कर दिएपछि गुडिरहेको सुप प्र ०१-१२-प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लगेको छ।
Facebook Comment