असन्तुष्ट पक्षका कुरा सुन्छौं, पार्टीलाई एकढिक्का बनाउँछौं : अध्यक्ष रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले असन्तुष्ट पक्षको पनि कुरा सुन्ने बताएकी छन्। निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि थारुवानसँग कुराकानी गर्दै उनले असन्तुष्ट पक्षको पनि कुरा सुन्ने बताएकी हुन्।
उनले असन्तुको भावना बुझ्ने र पार्टीलाई एकढिक्का बनाउनेतिर लाग्ने बताइन्। ‘असन्तुष्ट पक्षका कुराहरू पनि सुन्छौं। उहाँहरूको भावना बुझ्न हामी सधैं छौं। सबै सदस्यको मत र सुझावलाई सम्मान गर्दै, साझा लक्ष्यतर्फ मिलेर अघि बढ्छौं। अब पार्टीलाई एकढिक्का बनाउन अघि बढ्छौं,’ अध्यक्ष श्रेष्ठले भनिन्।
उनले पार्टीभित्रको प्रक्रिया पारदर्शी, समावेशी र सहमतिपूर्ण हुने बताइन्। ‘हामी विश्वास गर्छौं कि संवाद र समझदारीमार्फत पार्टीलाई अझ बलियो, एकताबद्ध र जनताको आवाजलाई सशक्त बनाउने बाटो खुल्छ। नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्षको हैसियतले सधैं दलको मार्गदर्शन संविधान, कानुन, विधि र विधानको दायराभित्र रहेर गर्ने अठोट लिएको छु। निर्वाचन आयोगले दिएको हालसम्मको मान्यता हाम्रो वैधानिक यात्राको प्रमाण हो। हाम्रो पार्टीको लक्ष्य व्यक्तिगत स्वार्थ वा कुनै व्यक्तिको दबाब र भावनात्मक धम्कीमा होइन, बरु नियम, प्रक्रिया र जनताको अपेक्षाअनुसार अघि बढ्नु हो,’ उनले भनिन्।
पार्टीभित्रका सबै साथीहरूको योगदानलाई सम्मान गर्दै आपसी विश्वास र साझा उद्देश्यका आधारमा थारू, मधेसी, आदिवासी जनजाति, महिला, युवा, किसान, श्रमिक र सम्पूर्ण नेपाली जनताको हकहितका लागि दृढतापूर्वक अघि बढ्ने उनले बताइन्।
त्यस्तै रुपन्देही-३ को उपनिर्वाचनमा पनि पार्टीको आफ्नै उम्मेदवार उठ्ने उनले बताइन्। उनले रुपन्देहीक उपनिर्वाचनलाई इतिहास, पहिचान र आवाजको पुनर्जन्मको क्षण भएको बताइद्द्। ‘रुपन्देही-३ पनि त्यस्तै एउटा भूमि हो, जहाँ धेरै पुस्ताले अन्याय, उपेक्षा र विभेदको स्वाद चाखेका छन्। यो उपनिर्वाचन हाम्रो लागि अवसरमात्र होइन, एउटा प्रतिज्ञा पनि हो,’ उनले भनिन्।
अध्यक्ष श्रेष्ठले पहिचान मेटिन नदिन, उपेक्षित आवाजलाई संसदसम्म पुर्याउन रुपन्देहीको निर्वाचन महत्त्वपूर्ण भएको बताइन्। ‘थारू समुदायको बलिदान, टीकापुरको पीडा र न्यायको माग रुपन्देही-३ मा पनि गुञ्जिरहेका छन्। आज, यो भूमि नागरिक उन्मुक्ति पार्टीको संदेश सुन्न र स्वीकार्न तयार छ,’ उनले भनिन्।
रुपन्देही-३ को मत केवल उम्मेदवारलाई जिताउने नभइ संघर्षको मान्यता पनि दिनु रहेको उनको भनाइ छ।
Facebook Comment