संसदीय दलको नेता नरहने गरी गंगारामलाई अध्यक्ष रञ्जिताले गरिन् कारबाही

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरेकी छन्। पार्टीको हितविपरीत काम गरेको भन्दै अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पदाधिकारी र दलको नेताको भूमिका समेत नरहनेगरी कारबाही गरेकी हुन्।

‘पार्टीको हितविपरीत हुने गरी काम गरेको पुष्टि भएको हुँदा तपाईंलाई यस पार्टीको केन्द्रीय समिति पदाधिकारी सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत नरहने गरी कारबाही गरेको व्यहोरा जानकारी गराइन्छ,’ गंगरामलाई लेखिएको पत्रमा भनिएको छ।

अध्यक्ष श्रेष्ठले अब उपरान्त संसदीय दलको नेताको पद उल्लेख गरी कुनै किसिमको निर्णय एवं पत्राचार नगर्न चेतावनी पनि दिएकी छन्। अध्यक्ष श्रेष्ठले कारबाही गरेको पत्र संसद सचिवालयलाई पनि जानकारी गराएकी छन्।

अध्यक्ष श्रेष्ठले मुख्यतः तीन आरोप गंगाराममाथि लगाएकी छन्। गत साउत ३ गते संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, निर्वाचन आयोगको निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय र पत्राचार गरिएको र दल त्याग गरेको र केन्द्रीय पदाधिकारीसमेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप अध्यक्ष श्रेष्ठले लगाएकी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *