अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान

शत्रुघन चौधरी
परिचय
नेपालको पुर्व झापा देखि पश्चिम कन्चनपुरसम्मको तराई तथा भित्री मधेश गरी २४ जिल्लामा सघन बसोवास रहेको थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ (जनगणना २०७८) । यो नेपालको कुल जनसंख्यामध्ये चौथो ठुलो जनसंख्या रहेको समुदायमा पर्दछ । थारुहरु नेपालको तराईको समतल भुभागमा हजारौँ वर्षदेखि विषालु सर्प, हिंस्रक जीवजन्तु तथा प्रकृतिका अनेक विषम परिस्थिति सामना गर्दै औलो मलेरिया जस्ता घातक रोगसंग लडदै भिड्र्दै आफ्नौ अस्तित्वलाई जोगाउदै आजसम्म सोही भुगोलमा बसोबास गर्दै आईरहेका छन् । उनीहरुको भाषा, संस्कृति, कला, परम्परा, रहनसहन, मुल्य मान्यता पृथक छ । हजारौँ वर्ष देखि ती संस्कृती, सस्कार परम्पराहरु एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आएको छ र आजपर्यन्त अभ्यासमा रहेको कुरामा कसैको दुईमत छैन ।

थारुहरुहरु भाषा, संस्कृति, परम्पराले समृद्ध रहेको मानिन्छ । थारुहरुको जन्म, विवाह, मृत्यु संस्कार होस या विभिन्न चाड पर्व उत्सव मनाउने तौर तरिका होस सबै पृथक रहेको छ । थारुहरु गीत संगीत तथा नाचमा पनि अत्यन्त वैभवशाली मानिन्छ । हरेक महिना, हरेह चाडपर्व, अवसरहरुमा फरक फरक गीतहरु गाइन्छ । गीतका साथ साथै संगीत मादलको ताल नाचको प्रकारहरु पनि फरक फरक छन । थारुहरुले मनाउने प्रमुख चाड पर्वहरुमा माघी पर्व, डशिया, डेवारी, ढुरहेरी, समा चखेवा, जितिया, गुरही, अष्टीम्की, अटवारी, रैव, जुर शितल, हरडहवा, चौठी चान, छठ, आदि पर्दछन । थारुहरुले अवलम्बन गर्दै आएका यी विभिन्न परम्परा, सस्कृती, चाडपर्व मध्ये अष्टीम्की पनि एक महत्वपुर्ण सास्कृतिक पर्व हो । अष्टिम्की पर्व विशेष गरेर पश्चिम थारुहरुले धुमधामका साथ मनाउने गर्दछन । यस कार्यपत्रमा अष्टिम्की पर्व, यसमा बनाइने चित्र, अष्टीम्की गीत र आदिवासी थारु ज्ञानको बारेमा चर्चा गरिन्छ ।

अष्टिम्की के हो ?
अष्टिम्की थारुहरुको एक मौलिक पर्व हो । विशेष गरेर थारु महिलाहरु श्रावणरभाद्र महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन ब्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन । अष्टिम्की शब्द अष्टमी अपभ्रंश भएर बनेको शब्द हो । नेपाली पात्रोअनुसार अष्टमी शब्दले आठौं तिथि अर्थात् आठौं दिन बुझाउँछ । ‘अष्टिम्की’ शब्दको उत्पत्ति ‘अष्टमी’+‘टीको लगाउनु’ बाट भएको हो । जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हाँ जन्मेकाले उनलाई टिको लगाउनु हुन्छ (थारू, २०६३ ः २५०) । थारू महिला र केटीहरूले उल्लासपूर्वक मनाउने पर्व अष्टिम्की हो । यो पर्व कृष्णाष्टमीको दिन मनाइने भएकाले अष्टिम्की भन्ने गरिन्छ (शिवकोटी, २०७४ ः १७५) । चित्र बनाईसकेपछि सुर्यास्त पछि घरका ब्रतालु महिला सदस्यहरु डेहुरारबाट थाल या टपरीराखेको बलेको दियो, चामल, दुईवटा काँक्रा लिई लामवद्ध भई बहरीमा निस्कन्छन र घर बाहिरका अन्य गाउँका सदस्यहरु पनि आफ्नो घरबाट लामवद्ध भई अष्टिम्की चित्र भएको घरमा आई अष्टिम्की चित्रमा टिका लगाई पुजा गर्ने प्रचलन रहेको छ । पुजा पश्चात ब्रतालुहरु फलाहार गर्ने गर्दछन । अष्टिम्कीको दिन शुद्ध खाना खाने गरिन्छ भने अर्को दिन खरिया, फुलौरी, माछा, मासु आदिको मिठा मिठा परिकार बनाई खाने प्रचलन छ । यसै दिन चेलीबेटीलाई खानेकुरा लिई अग्रासन दिन जाने चलन छ ।

अष्टिम्की चित्र र प्राकृती
अष्टिम्की चित्र थारुहरुको विभिन्न प्रदर्शनकारी सौन्दर्य कला मध्ये एक हो । अष्टिम्की कलामा प्रकृतिक सौन्दर्य र जीवनसंग गहिरो सम्बन्ध रहेको पाइन्छ । अष्टिम्कीमा हरेक वर्ष घरको भित्तामा नयाँ चित्र बनाउने प्रचलन परापुर्वकालदेखि चलि आएकोछ । थारु समुदायमा अष्टिम्की चित्रलाई अष्टिम्की पर्वको तयारीको रुपमा लिइन्छ । अष्टिम्कीको दिन विहान देखि नुहाइ धुवाई गरी निराहार ब्रत बसी महिला पुरुषहरु घरको बहरी (पिढी) को उत्तरपट्टिको भित्तामा र भित्तनभएको घरमा डेहरीमा हस्तचित्र बनाउने चलन छ, जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाइएका हुन्छन् । चित्र बनाउनुभन्दा पहिले ’ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता अघिल्लै दिन पोतेर उज्यालो बनाइएको हुन्छ ।

अष्टिम्की कलामा पहिले पहिलेका थारू चित्रकारहरूले प्राकृतिक रङको प्रयोग गर्दथे । सिमीको पातबाट हरियो रङ्ग, खयर काठबाट कत्थक रङ्ग, पवै सागको फलबाट रातो रङ्ग, सुकेको लौका आगोमा डढाएर निस्केको कालो रङ्ग तयार पार्दथे । तर आजकाल केमिकल रङ्गको प्रयोग हुन थालेको छ । हरेक रङ्गको विशेष अर्थ र महत्व हुन्छ । यद्यपि सैद्धान्तिक रूपमा थारू चित्रकारहरूलाई कुन रङ्गको प्रयोग कहाँ किन गरे ? सबैलाई थाहा छैन । पुर्खाहरूले यही रङ्गको प्रयोग गर्दै आएकाले उनीहरूले पनि निरन्तरता दिइरहेको कुरा मात्रै उनीहरूलाई थाहा छ (थारू, २०७०/६१) । थारु समुदायमा अक्सर गरेर कालो, हरियो, रातो र सेतो रंगको प्रयोग गर्ने गरिन्छ । यो रंगको कपडाहरुको प्रयोग अक्सर गरेर फुन्ना, लेहेँगा, टोपी आदिमा प्रयोग गरिएको पाईन्छ । अष्टिम्कीकमा पनि अक्सर यही चार वटा रंगको प्रयोग गरेको पाइन्छ । यद्यपी चित्रलाई आकर्षक बनाउन अन्य रंगहरु मिश्रण गरी प्रयोग गरेको पनि पाईन्छ ।

अष्टिम्की चित्र बनाउनु भन्दा पहिले एउटा घेरा बनाउनु पर्छ । त्यो सिंगो घेरा मानवाकृतिको रूपमा हुन्छ । जसलाई गुर्बाबाको प्रतीकको रूपमा लिइन्छ । घेराभित्र पनि तीनवटा कोठा हुन्छन् । त्यसको माथि अर्को सानो कोठा हुन्छ अथवा टाउको हुन्छ । जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ । अष्टिम्की चित्रमा सबैभन्दा माथि गुर्बाबाको चित्र उल्टो पारेर बनाइन्छ । यसको अर्थ मानिसका चित्रहरू गुर्बाबातिर फर्किएको र गुर्बाबाको आकृति अरू मानवाकृतितिर फर्किएको संकेत बुझाउछ । थारू लोककाव्यहरूमा गुर्बाबालाई सृष्टिकर्ताको रूपमा व्याख्या गरिएको छ । यसकारण अष्टिम्की चित्रमा उनको अग्रस्थान रहेको छ ।

तीनवटा कोठामध्ये सबैभन्दा माथिल्लो कोठामा बिजोर संख्यामा पुरुषाकृति बनाइएको पाइन्छ । यसमा तीनदेखि सात वटासम्मको चित्र बनाएको पाइन्छ । माथिल्लो कोठा पुरुषहरूको चित्रमा मादल भिरेको, बाँसुरी बजाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको लगायत अवस्थाको चित्र बनाएको पाइन्छ । यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको चित्र पनि बनाइन्छ । थारू प्रकृति पुजक हुन भन्ने कुरा बायाँपट्टी चन्द्रमा र दायाँपट्टी सूर्यको चित्रले प्रमाणित गर्छ ।

त्यसै गरी त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ । उनीहरूको दुबै छेउमा जोक्करहरूको चित्र पनि बनाइएको हुन्छ । नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकाले ती चित्र बनाइएको हुनु पर्छ । यसरी माथिल्लोमा पुरुष र तल्लोमा महिलाको चित्रले सृष्टिको प्रतिकात्मक चित्रको रूपमा लिइन्छ । अर्थात सन्तान उत्पादनमा महिला र पुरुष ठूलो भूमिका छ भन्ने कुरा बुझाउँछ । यसलाई महिला पुरुषको समानताको प्रतिकको रुपमा पनि लिन सकिन्छ ।

अशोक थारूका अनुसार माथिल्लो खण्डमा पाँच पाण्डवको आकृति बनाइएको हुन्छ । मुनिको दोख्रो खण्डमा द्रोपदीको आकृति हुन्छ । कसैकसैले द्रोपदी (डुर्पटि) लाई डोलीमा राखेर लैजान लागेको चित्र बनाउँछन् (थारू, २०६५/ १८७) । केहीको भनाइअनुसार माथिल्लो बिजोर संख्याको पुरुषाकृति कृष्णको विभिन्न स्वरूप हो भनिन्छ भने महिलाकृति नर्तकीहरूको अथवा सोह्र सय गोपिनीहरूको चित्र बनाइएको तर्क पनि छ ।

सबभन्दा तल्लो खण्डको चित्रमा भने एकरूपता पाइन्छ । यो कोठा माथिल्लो दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा विभिन्न प्रकृतिसँग सम्बन्धित आकृतिहरू पशुपंक्षी, जीवजन्तुको चित्र बनाइएका हुन्छन् । केही चित्रहरु र त्यसको भाव निम्नानसार रहेको छ:

बरमुरुवा (रोइना) : तल्लो कोठाको पश्चिमपट्टि रोइनाको चित्र बनाइएको हुन्छ । जसलाई बरमुरुवा भनिन्छ । रोइनाको चित्र बनाइए पनि उनलाई पूजा गर्ने (सिन्दुर लगाइदिने) चलन भने छैन ।
डोली : थारु समुदायमा दुलहीलाई परम्परागत डोली राखेर श्रीमानको घर पठाउने प्रचलन छ । थारु परम्परागत विवाहको प्रतिकको रुपमा लिन सकिन्छ । यसै गरी अष्टिम्की गीतमा जासु गर्भावती भएको बेला सुडेनीलाई डोली लिएर लिन गएको प्रसंग पनि पाउन सकिन्छ ।
कजरिक बनवा : घना जंगललाई कजरिक बन्वा भन्ने बुझाउँछ । मानवलाई दैनिक जीवनयापनका लागि काठ, दाउरा, पात लगायत अन्य वस्तु आवश्यक पर्दछ जुन वनजंगलबाट आपुर्ति हुन्छ । मानवजीवन र वन जंगलको र अन्य जीव जनावरको अन्योन्याश्रित सम्बन्ध छ भन्ने बुझाउछ ।
मयूर : नौरङ्गी सुन्दर चरा हो । मयुरको नाच अनि आवाजले सबैलाई मोहित बनाउछ । सखिया नाचमा धेरैजसो मयुर नाचको ताल मेल खान्छ ।
लाउ (डुङ्गा) : डुंगालाई यातायातको साधनको रुपमा लिइन्छ । पुलपुलेसा नहुदा थारु समुदायमा पनि दैनियक जीवन यापनमा डुँगाको प्रयोग गर्ने गर्दथे ।
रैनी मछरिया : जलथलमा बस्ने एक प्रकारको माछा । सृष्टिको क्रममा यसको ठुलो भुमिका रहेको मान्यता छ । गीतमा पनि यो प्रसंग उल्लेख छ ।
हलो जोत्दै गरेको मान्छे : अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि ईसरु जंगलमा गई हलोको लागि चाहिने सबै काठ, सरसमान पनि तयार पारेर ल्याउँछन् । हलो तयार भएपछि बसाहा बरढा र सिरकी सेडुरीया (बाघ) लिएर ईसरु खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको बिम्बको रूपमा हलो जोत्दै गरेको मान्छेले अष्टिम्की चित्रमा स्थान पाएको छ ।
सख्ली कुकनीया : सुरक्षाको लागि कुकुरको भूमिका अहं हुन्छ । कुकुर एक वफादार पहरेदार जनावरहो ।
मुर्गा (भाले) : समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अष्टिम्की काव्यमा मुर्गाको सन्दर्भ समय सूचकको रूपमा आएको छ । भुरे ट भईल भिनसरिया मुरुगा एक बोलल, उठो पुटा बार कान्हा बछरु न छोर । अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।
कारी लगिन्या (काली नाग ) : अष्टिम्की चित्रमा कारी लगिन्या (काली नाग) ले पनि स्थान पाएको हुन्छ । अष्टिम्की काव्यमा काली नागको फुपकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधी गरी ठीक पारेको छ । अन्तमा बारी फुलवारबाट काली नागलाई नाठेर फुल बोकाइ कान्हाले घर ल्याएका छन् । भारीको फुल झारेर पुनः बारी फुलवार फर्काइ दिएका छन् । यसबाहेक हात्ती, घोडा, उँट, चराचुरुङ्गी लगायतका जनावर तथा पशुपंक्षीहरू अष्टिम्की चित्रमा स्थान पाएका हुन्छन् ।
छुटकी अष्टिम्की चित्र : बर्का अष्टिम्की चित्रको छेउमै घेरा बाहिर छुट्टै सानो घेरामा छुट्की अष्टिम्की चित्र बनाइएको हुन्छ । यसमा खासगरेर स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । यो छुट्की अष्टिम्की चित्र बनाउने अभ्यासलाई कला, सस्कृतिको पुस्ता हस्तान्तरणको एक उत्तम माध्यम मान्न सकिन्छ ।

किम्बदन्ती
अष्टिम्कीमा सातवटा पुरुष, सातवटा महिला, जीव जनावर लगायत प्राकृतीको चित्र किन र कहिलेदेखि बनाउन थालिएको हो भन्ने बारे एउटा किम्बदन्ति अतिनै लोकप्रिय छ । यस किंवदन्तिले चित्र बनाउनुको कारण उजागर गर्दछ । यो किम्बदन्ती परापुर्वकाल देखि भनिदै सुनिदै आएकोछ । जस अनुसार एउटा परिवारमा सात भाई छोरा बुहारीहरु थिए । थारु समुदायमा खेतीपातीको काम सकिएपछि साउन भदौमा अर्को वर्षकालागि लागि खेतीपातीकालागि हलो जुवा आदि बनाउन आवश्यक पर्ने काठ काटन जंगल जाने प्रचलन छ । यसै गरी एकदिन सातभाई काठ काटन बन्दोबस्तीसहित बस्तीबाट निकै टाढाको जंगलमा प्रस्थान गरेछन । जंगल पुगिसकेपछि त्यहा विभिन्न किसिमका जंगली जनावरहरु बाघ, भालु, हात्ती, गैँडा, चितुवा, मयुर जस्ता पशुपक्षी देखेछन । पहिलो दिन यत्तिकै वित्यो । दोस्रो दिन खरायो कुदेको, मयुर नाचेको देखे । उनीहरु त्यही मन्त्रमुग्ध भए । तेस्रो दिन एक हुल चित्तल देखे । उनीहरु चित्तलको सिकार गरेर भातभान्सा गरे त्यो दिन पनि त्यतिकै वित्यो । चौथो दिन बाँदरलाई मज्जाले पिंग खेलेको देखे ।

उनीहरु पनि रमाइलो मानिमानि बाँदरजस्तै मच्चिन थाले । पाँचौ दिन पुन जंगल घुम्दा बनकुखुरा देखेछन । ओहो आज कुखुराको सिकार गर्न परयो भनेर लखटनठाले । अन्तमा बनकुखुरा मार्दामार्दै त्यो दिन वित्यो । यस्तै गर्दा गर्दै दिन वित्न थालेछ । उनीहरुको काम फिटिक्कै भएन । छैटौ दिनमा सात भाई सल्लाह गरे आज कतै अल्मलिने हैन जसरी पनि काठ काटन पर्छ है भन्दै डेराबाट निस्के । घुम्दै जाँदा अलि पर अजंगको हात्तीहरुको हुल लमक लमक गर्दै हिड्दै गरेको देखेछन । कहिलै नदेखेको अंजंगको जानवर देखेपछि अचम्म मान्दै हेर्न थाले । त्यो दिन पनि हात्तीहरुको क्रियाकलाप हेर्दै दिन वितेछ । उनीहरुले घरबाट ल्याएको सामल सक्किसकेको थियो । जंगलमा भेटिएका कण्डमुल, सागपात खाएर दिन काट्थे । सातौं दिनका दिन उनीहरु पुन डेराबाट जंगल भित्र छिरे । यो दिन सात भाई मिलेर आवश्यकतानुसार हलो, जुवा, हरिस, सयल, पैनाकालागि काठ काटे । घर फर्किसकेपछि आराम गर्न बसिरहेका थिए एउटा अनौठो आवाज कोइ रोइरहेको सुने । उनीहरुलाई लाग्यो कोही अप्ठ्यारोमा परेको होला । बोलाए तर कसैलाई पनि देखेनन । आवाज मात्र सुने । तिमी को हौ भनेर शोद्धा म आत्म हुँ भन्ने जवाफ दियो । अदृष्य मानवले आफ्नो कहानी बताउन थाल्यो । धेरै वर्ष पहिले हामी १२ भाई यसै गरी जंगलमा आएका थियौ । तर बाटो विरायौँ । भोकप्यासले ११ भाई मरे । तर म खुब रोए । अचानक वनदेवी (बनसप्ती) माता प्रकट हुनुभो । मैले सबै वृतान्त सुनाएँ । बनदेवीले मलाई ११ भाईसंग भौतिक रुपमा भेटन नसकेपनि कुरा गर्न सक्ने बनाइदिइन । उद्यपी म उनीहरुको यादमा छटपटाइरहेँ र मेरो मृत्यु भयो र म आजसम्म रुदै जंगलमा भौतारिरहेको छु । ११ भाई कहाँ छन भनी सोद्धा उसले आफ्नै टाउकोमा टाउको जोडदै चिनायो र बार टाउको भएको मान्छे बन्यो । केही बेरमा उ अलप भयो । आठौं दिन सबै पोका पुन्टरा काठ बोकी घरतिर लागे ।

यता सात भाईका श्रीमतीहरु आफ्ना श्रीमान घर नआएर चिन्तित थिए । उनीहरु दिन गन्नकालागि हरेक दिन भित्तामा धर्को तान्थे । सातौँ दिनसम्म पनि नआउदा अझ चिन्तामा डुबे । आठौँ दिन घरमा चुलो बलेन, बच्चाहरु बासी भात र बारीको काक्रा टिपेर खाए । बेलुकी टुप्लुक्क सात भाई काठको भारी लिई घर आइ पुगे । सबै हर्षले विभोर भए । खाना पकाउन भुले । सात भाई जंगल बस्दाको सबै वृतान्त सुनाउन थाले । घरकी बुढी हजुरआमा कान नसुन्ने रहेछीन । उनलाई बुझाउन अरुभाईहरु भित्तामा चित्र बनाउथे । एव रितले मानावकृति बनाए, त्यसपछि सात भाईको चित्र त्यको मुनी सात बुहारीको चित्र बनाए र त्यस भन्दा मुनी १२ टाउके मान्छे बनाए, जंगल, हात्ती, बाँदर, बाघ, पुरैनको पात, मयुर, गोही, हलो जोतेको मान्छेको चित्र, डुगा, माछा आदिको चित्र बनाए । जसले हजुर आमालाई बुझन सहज भयो । रात छिप्पियो त्यो रात फलफुल, काँका्र खाएर रात बिताए । विहान भयो सातै बुहारीहरु ती खाएका फलफुलका बोक्रा, काँक्राको चोटी लिएर नजिकैको नदिमा सेलाउन गए । नुहाइृ धुवाई गरी सकेपछि घर आई मिठा मिठा परिकार बनाई भोजन गरे । यसरी नै परापुर्वकाल देखि हरेक वर्ष अष्टिम्की चित्र बनाउने र पुजा गर्ने प्रचलन चलिआएको छ । (छविलाल कोपिला २०७९)

अष्टीम्की गीत र आदिवासी ज्ञान
अष्टिम्कीको दिन बेलुकी पुजापाठ गरेर फलाहार गरिसकेपछि सबै ब्रतालु महिला, पुरुष अष्टिम्की घरमा जम्मा भई अष्टिम्की गीत गाउने प्रचलन छ । अष्टिम्कीमा गाइने गीत कथ्यमा आधारित लोक भाकाको गीत अर्थात लोककाव्य हो । लोककाव्य गाथाको मुलभुत विशेषता मौखिक परम्परा नै हो । डुना, टपरी बनाउदै विशिष्ट भाकामा यो गीत गाईन्छ । ठाँउ अनुसार कहिँ महिलाले मात्र गाउछन त कहिँ पुरुषहरु गाउँछन । ब्रतालुसंगे अन्य महिला पुरुषहरु गीतमा सामिल हुन्छन । रातभरी गाईने यो अष्टिम्की गीतमा जल, थल, धरततीको श्रृष्टिको गाथा गाईएकोछ । यस गीतमा अथाह रुपमा आदिवासी थारु ज्ञान पाइन्छ ।

तीपातीकोलागि कहिले शुरुवात गर्ने कसरी गर्ने तौरतरिका बताइएकोछ । हलो, जुवा, कोदाली, बन्चरी आदि सामग्री कसरी कहाँ बनाउने जस्ता साना साना तर महत्वपूर्ण ज्ञान समेटिएकोछ । यस गीतमा थारुहरुको जीवन पद्धती, दैनिकी, परम्परा, सस्कृति, रहनसहन, मुल्यमान्यता समेटिएको छ । थारुहरुकोे खानपान, भेषभुषा, कृषि उत्पादनको तौरतरिका, अतिथि सत्कार, जन्म संस्कारको बारेमा वर्णन गरिएको पाउन सकिन्छ । अष्टिम्की गीतमा मुख्य दुई पात्रहरु इशरु श्रीमान र जासु श्रीमती रहेका छन् । यी पात्रहरुमार्फत थारु जीवनशैली गाइएकोछ । जहाँ जासु हरेक कुरामा अत्यन्त सुझबुझ रहेकी हरेक कुरामा अब्बल नारी हुन । उनले हरवखत आफ्ना श्रीमान इशरुलाई घरव्यवहारको काम लगायत हरेक क्रियाकलापमा विभिन्न किसिमका अर्ति उपदेश दिन्छिन् । यस गीतमा जासुको भूमीका हेर्दा पराप्र्वकालमा थारु समुदाय परापुर्वकालमा महिला प्रधान समाज रहेको बुझन् सकिन्छ ।

यस गीतमा पन्ध्र वटा पैढार र २६०० भन्दा बढी श्लोक रहेका छन् । जसमा पहिलोमा सृष्टि, दोस्रो ईशरु हरजुवा ओहार, तेस्रोमा ईशरु खेतीपाती, चौथोमा जासुक लरका मागन, पाँचौमा अंशही जासु, छैठौमा महरा सोहिनिया बलाइ जैना, सातौमा महरा ओ सोह्रिनिया भलाकुशारी, आठौमा कान्हा जलम नावौंमा कान्हा नाउँ जुरैना, दशौंमा कान्हा गुलीडन्डा खेल्ना, एघारौंमा कान्हा राधा मैयापिरिम, बारहवा मा राधा गाउँम दही बेच गैल, तेह्रवा मा कान्हा बारी फुलुवार, चौधौमा कान्हा लदिया लहान र पन्ध्रौ पैढारमा कान्हा कन्सा मारल रहेको छ ।

उपसंहार
थारु समुदाय भाषा, संस्कृति, लोक साहित्यमा अत्यन्त सम्बृद्ध मानिन्छ । उनीहरुको जीवनपद्धती पृठक छ । थारुहरुको वास्तु कला, चित्रकला, साहित्य, लोक भाका, लोक संगीत, रहनसहन आदिमा आफ्नै मौलिकता पाईन्छ । अष्टिम्कीकला पनि एक महत्वपुर्ण प्रदर्शन्कारी शौन्दर्यकला हो । यसमा बनाईने चित्र, गाईने गीतहरुमा थारुहरुको जीवनदर्शन पाउन सकिन्छ । यसमा अथाह थारु आदिवासी ज्ञान पाउन सकिन्छ । यहि ज्ञान परापुर्व कालदेखि थारुहरुको जीवनशैलीमा अभ्यास गरिदै आइएको छ । पछिल्लो समयमा आधुनीक्ीकरण तथा सुचना प्रविधि फड्को मार्दै गर्दा सास्कृतिक महत्व बोकेको अष्टिम्की कला जस्तो परम्परा ओझेलमा पर्दै गएको भान हुन्छ । आजभोली अष्टिम्की हस्तचित्र नबनाएर पोस्टर टाँसेर पूजा गर्ने चलन अधिक मात्रामा प्रचलनमा रहेको पाइन्छ । यसले चित्रकला सस्कृती पनि विस्तारै लोप हुदै गइरहेको छ । यसमा युवापुस्ताको चासो घट्दै गएकोछ ।

यसका लागि सबै तहतम्काबाट सचेतना जगाउन जरुरी छ । यस प्रकारका कार्यशाला हरेक प्रदेश, गाउँपालिकाहरुमा आयोजना गर्न नितान्त आवश्यक छ । तत् तत् निकायहरुले दायित्वबोध गरी पहलकदमी लिन जरुरी देखिन्छ । यसै गरी गाउँमा हस्तचित्रलाई जोड दिन आवश्यक छ । साथै परम्परागत अष्टिम्कीमा बालबालिकालाई सानो अष्टिम्की चित्र बनाउन सहभागी गराई प्रोत्साहित गर्न जरुरी छ । यसैगरी स्थानीय पाठ्यक्रममा पनि यस किसिमका मौलिक पर्व एवं चित्रकला समावेश गरी पठनपाठन गर्न गराउन आवश्यक देखिन्छ । यसले लोप हुदै गईरहेको सस्कृतीलाई जगेर्ना गर्न तथा पुस्तान्तरण गर्न ठुलो टेवा दिने विश्वास गर्न सकिन्छ ।

सन्दर्भ सामग्री सूची
दहित, डा. गोपाल (२०६२, २०७७), थारु सस्कृतिको परिचय, युनिक नेपाल, बर्दिया ।
चौधरी, शत्रुघन (२०७४), अष्टिम्की गीत, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, ललितपुर ।
चौधरी, डा कृष्णराज (२०७६), थारु सस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन, नेपाल संस्कृति विश्वविद्यालय अनुसन्धान केन्द्रसमक्ष नेपाली विषयमा विद्यावारिधि (पिएच. डी.) उपाधिकालागि प्रस्तुत शोधप्रबन्ध
कोपिला, छविलाल (२०७१), हमार संस्कृति, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
थारू, अशोक (२०६३), थारू लोक साहित्यमा इतिहास, कला र दर्शन, दाङः परिवर्तनका सम्वाहकहरूको मञ्च नेपाल ।
थारु, फनि श्याम, (२०६९), थारु लोकसांस्कृतिक र चाडवाड, नेपाल प्रज्ञा प्रतिष्ठान ।
थारु, फनि श्याम, (२०७०), थारु लोक साहित्य ः एक अध्ययन, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, ललितपुर ।
Leuthold, Steven 1998, Indegenous Aesthetics, University of Texas Press, Austin
चौधरी, शत्रुघन (२०६५), सिसहनिया गा.वि.स. वडा नं. ४ पिपरी, दांगदेउखुरीका थारुहरुके सामाजिक तथा आर्थिक अवस्थाको अध्ययन, ललितपुर, पाटन संयुक्त क्याम्पसमा प्रस्तुत स्नातकोत्तर तहको अप्रकाशित शोधपत्र
सत्गौँवा थारु समाज संघ (२०७८), थारु सस्कृतिक दर्पण,
चौधरी, एकराज (२०७५), बर्किमार थारु लोक महाकाव्य, प्राचिन सृजनशिल आदिवासी समाज, रेडियो गुर्वावावा एफ, एम, बर्दिया
चौधरी, लक्ष्मण प्रसाद (२०८०), ओझेलमा परेका जीवित सत्य आदिवासी थारु इतिहास (राजा देखि कमैयासम्म इ. पु. ७०० देखि वि.सं. २०७४ सम्म, श्री आदिवासी थारु इतिहास अध्ययन, अनुसन्धान तथा अन्वेषण परियोजना
D. Mignolo, Walter -2010), Indigenous and Popular Thinking in America, Duke University Press All USA
थुम्केली, देवेन्द्र २०७५फागुन १८, थारुसमाजमा अष्टिम्की महत्व, समाचार दैनिक अनलाइन
छविलाल कोपिला २०७९) अष्टिम्की, सृष्टि, प्रकृति र मानव जीवनको महिमा) अनलाईन खबर २०७९ भदौ ३
माली, लक्ष्मी, सर्वहारी डा. कृष्णराज (२०७८) थारु, लोक साहित्य, नेपा प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान, (२०८०), लवाङ्गी, अंक १, पुर्णांक १,
चौधरी मान बहादुर पन्ना (२०७०), सख्या नाचक गीत (पूरा पाठ), युनिक नेपाल, बर्दिया
थारू, अशोक (२०७०), थारू लोककला, जातीय पहिचानको लोककला, काठमाण्डौः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पृ. ४९–८२ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *