गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्चको परमादेश, अनुसन्धानको राडारमा केही थारू पनि
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन भनेको हो।
हत्याकाण्ड भएको वर्षौं बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्च अदालतमा २०८० साल जेठ २१ गते रिट दायर भएको थियो। सोही मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले १९ वर्षपछि यादवमाथि अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो। उक्त आदेशपछि रौतहटका केही थारूहरू पनि अनुसन्धानको राडामा आउने देखिन्छ। यसअघि नै हथियाहीका रुपनारायण चौधरीविरुद्ध जाहेरी परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई विपक्षी बनाइ पीडित परिवारका तर्फबाट त्रिभुवन साहले मुद्दा दर्ता गराएका थिए। २०६३ चैत ७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। त्यतिबेला यादव मधेसी जनाधिकार फोरमका अध्यक्ष थिए।
यता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध ‘गौर हत्याकाण्ड’ विवादमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि पार्टीभित्र आकस्मिक छलफल भएको छ। पार्टी महासचिव रामकुमार शर्माले पहिचान र संघीयताका हिमायती उपेन्द्र यादवलाई राज्यले षड्यन्त्र गरेर फसाउन खजेको प्रतिक्रिया दिए। उनले राजनीतिकरूपमा समाधान गर्नुपर्ने विषय अदालतमा प्रवेश गराएको प्रति पार्टीको आपत्ति रहेको उनले बताए। अदालतको परमादेशविरुद्ध कानुनी उपचारमा जाने उनको भनाइ छ।
‘अब पहिचान र संघीयता पक्षधर एजेन्डाका नेतृत्वकर्ता उपेन्द्र यादवमाथि षड्यन्त्र गरेर सरकारले फसाउन खोज्यो। जनतामा आक्रोश पैदा भयो। यसविरुद्ध जनताले सडकमा आन्दोलन चर्काउँछ,’ महासचिव शर्माले भने। यता जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार राजनीतिक पूर्वाग्रहबाट उत्प्रेरित भएर अदालतमा रिट दर्ता गराइएको थियो। त्यसमा अदालतले एक पक्षीयरूपमा परमरादेश जारी गरेको उनले बताए।
उनले भने, ‘हामी परमादेशको पूर्णपाठको प्रतिक्षामा छौं। कसरी अगाडि बढ्ने भनेर कानुनी सल्लाह गर्दैछौं। पार्टीको बैठक बसेर छिट्टै ठोस निर्णय सार्वजनिक गर्छौं।’ तत्कालीन माओवादी नेता प्रभु साहको जिद्दीका कारण उक्त घटना घटेको प्रवक्ता सुमनले बताए।
Facebook Comment