नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अब सत्तापक्ष !

सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी थिइन्। बैठकमा सत्तारुढ दलका नेताहरूको सहभागिता पनि रहेको थियो।

नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। तर, आज उक्त पार्टीका तर्फबाट अध्यक्ष श्रेष्ठ बैठकमा सहभागी भएकी थिइन्।
बैठकमा सहभागी भएर निस्किने बेला अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया पनि दिएकी थिइन्। उपसभामुखलाई पदीय मर्यादा विपरीत आचरण गरेको अभियोगमा पदमुक्त गर्नेबारे आफ्ने पार्टीले निर्णय गरिनसकेको बताएकी थिइन्।

‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौं, तपाईंहरूले पनि साथ दिनुपर्‍यो भन्नुभएको थियो। मैले अहिले उपसभामुख पनि देशबाहिर हुनुहुन्छ। अहिले नै निर्णय भइहाल्दैन। हामीले पनि अहिले नै निर्णय दिन सक्दैनौं भनें,’ उनले भनिन्।

आजै भएको विपक्षी दलको बैठकमा भने नाउपाका कोही पनि सहभागी थिएनन्। पार्टीमा चलिरहेको आन्तरिक विवादका कारण नाउपा सत्ता पक्ष हो कि विपक्षी छुट्याउन हम्मे हम्मे परेको छ। किनकि यसअघि नै अध्यक्ष श्रेष्ठ प्रतिनिधिसभाको बैठकमा विपक्षीको बेन्चमा बसिसकेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *