रेशम चौधरीले रूपन्देही-३ मा उठाउँदैछन् स्वतन्त्र उम्मेदवार, सहयोग गर्न मोर्चा पनि तयार
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले रूपन्देही-३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसकेपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन्।
‘रह्यो कुरा रूपन्देहीको। हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक ब्यक्ति हो। यही सातादेखि प्रचारप्रसारमा खटिन रूपन्देही आउँछु,’ संरक्षक चौधरीले भनेका छन्। उनले समस्या चर्काउनुभन्दा समाधानतिर लाग्न आग्रह पनि गरेका छन्। ‘पार्टी विभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौं,’ फेसबुकमा उनले लेखेका छन्।
मोर्चा आबद्ध घटक जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिषकुमार सुमनले मोर्चाले स्वतन्त्र उम्मेदवारी दिने बताए। ‘दल दर्ता गर्ने बेला नाउपाभित्र विवाद देखियो। रेशम र रञ्जिता पक्ष दुवैले दल दर्ता गर्नुभएनछ। हामीले दल दर्ता गर्न नाउपालाई नै भनेका थियौं। अब के गर्ने भनेर आज, भोलिमै निर्णय गर्छौं। सम्भवतः हामी रूपन्देही-३ मा स्वतन्त्र रूपमा साझा उम्मेदवार उठाउँछौं,’ सेतोपाटीसँग उनले भनेका छन्।
त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले मोर्चाले रेशम चौधरीले उठाएको उम्मेदवारलाई नै सघाउने बताए। ‘नाउपा, त्यो पनि रेशम चौधरीले उठाएको उम्मेदवारलाई नै मोर्चाको समर्थन रहन्छ। हामीले यसअघि नै निर्णय गरिसकेका छौं। उहाँहरूले दल दर्ता त गर्न सक्नुभएन तर स्वतन्त्र उम्मेदवार जो उठाउनुहुन्छ, उहाँलाई नै हामी समर्थन गर्छौं,’ उनले भने।
Facebook Comment