थारू समुदायका युवा पुस्ताका लागि ‘मादल सिक्ने कक्षा’
जागेश्वर थारु
बर्दियाको बढैया गाउँ अचेल मादलको धुनले गुन्जिएको छ। परम्परागत थारु, मगर, र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको यो वाद्य आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ। गाउँमा आयोजित ‘मादल सिक्ने कक्षा’ले स्थानीय युवामा नयाँ उत्साह ल्याएको छ।
बिहानदेखि बेलुकीसम्म गाउँका चौतारा, टोल घर र सामुदायिक भवनहरूमा मादलको ताल मिलाउने अभ्यास सुन्न सकिन्छ। विशेष गरी थारु, मगर, गुरुङ, र विभिन्न आदिवासी–जनजाति समुदायले यसलाई संस्कृतिको अङ्गका रूपमा मानेका छन्।
विवाह, भोज, नाचगान, धार्मिक अनुष्ठान, र चाडपर्वमा मादल अनिवार्य बजाइन्छ। बढैया गाउँमा पनि दसौँ वर्षदेखि मादल प्रमुख वाद्यको रूपमा प्रयोग हुँदै आएको छ। थारु समुदायमा ‘सोरठी’, ‘जमरा नाच’, ‘झुम्रा’ ‘हुर्डुङगा’ ‘सखिया’ जस्ता नृत्यहरू मादल विना अधूरा हुन्छन्।
दशकऔँ दशकसम्म गाउँका युवाहरू आधुनिक सङ्गीततर्फ बढी आकर्षित हुँदै थिए। मोबाइल, टिभी र इन्टरनेटको कारण परम्परागत बाजा बजाउने, नाच्ने कला बिस्तारै हराउँदै गएको थियो।
‘पहिले हाम्रो गाउँमा जति बेला विवाह हुन्थ्यो, मादल र झ्याम्टा बिना कल्पना गर्नै सकिन्थ्यो,’ ६५ वर्षीय अब्दुल थारु भन्छन्, ‘तर अहिलेका बालबालिकाले मादल समात्नै चाहन्नन् भन्ने डर थियो।’ तर, हाल मादल सिकाउने कक्षाले युवाहरूलाई फेरि आफ्नो मौलिक सङ्गीतसँग जोड्ने काम गरेको छ।
‘बढैया गाउँका केही वरिष्ठ कलाकार र समाजसेवी अगुवाहरूको संयुक्त पहलमा ‘मादल सिकाउने अभियान’ सुरु गरेका हुन्। गाउँकै टोल बरघरको घरमा हरेक साँझ ७ बजेदेखि ११ बजेसम्म बेलुकी कक्षा सञ्चालन हुन्छ।
गाउँकै १५ भन्दा बढी युवाले कक्षामा नाम दर्ता गरिसकेका छन्। १२ वर्षीय बालकदेखि २५ वर्षका युवासम्म सहभागी छन्। उनीहरूलाई गाउँका पुराना कलाकारले आधारभूत तालदेखि जटिल ताल सिकाउँदै छन्।
२२ वर्षीय किशोर दिपेश थारु भन्छन्, ‘हामीले पहिले गीत मोबाइलमा मात्र सुन्थ्यौँ। तर मादलमा आफ्नै ताल निकाल्दा अचम्मको आनन्द मिल्छ। अहिले हाम्रो समूहले हुर्डुङगा नाचको अभ्यास गर्न थालेका छौँ ।’
२० वर्षीय सुमित्रा थारु भन्छिन्, ‘पहिले मादल छोरीहरूले बजाउने कुरा सुन्नै पाइन्नथ्यो। तर अहिले हामीलाई पनि सिकाइँदै छ। यो हाम्रो लागि ठुलो अवसर हो।’ यस पटकको सिकाइ अभियानको विशेषता भनेकै महिलाको उल्लेखनीय सहभागिता हो।
१५ जना महिला विद्यार्थीहरू पनि सक्रिय रूपमा नाच्ने र मादल बजाउन सिकिरहेका छन्। यसले लैङ्गिक समानतामुखी सांस्कृतिक अभ्यासलाई प्रोत्साहन गरेको छ। ‘मादल हाम्रो संस्कृति हो, महिला र पुरुष दुवैले यसलाई बजाउन पाउनु पर्छ,’ प्रशिक्षक पतिराम थारु बताउँछन्।
यो अभियानलाई अघि बढाउने मुख्य व्यक्तिहरूमा पतिराम थारु र कृष्ण थारु छन्। पतिराम थारु ४० वर्षदेखि मादल बजाउँदै आएका छन्। कृष्ण थारुले भने नेपालभरका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका छन्।
‘हामीलाई लाग्यो, यदि अहिले नै सिकाएनौँ भने हाम्रो बाजा हराउने खतरा छ,’ पतिराम थारु भन्छन्। गाउँमा मादलको धुन गुन्जिन थालेपछि सामाजिक वातावरण पनि बदलिएको छ। युवाहरू बेलुकी टोल–टोलमा जम्मा भएर अभ्यास गर्छन्। यसले आपसी एकता र मेलमिलाप बढाएको छ।
गाउँका बाबुआमाहरू पनि छोराछोरीलाई उत्साहपूर्वक हेर्छन्। ‘हाम्रो संस्कृतिलाई जोगाउने काम भइरहेको छ भन्ने देख्दा गर्व लाग्छ,’ स्थानीय युवा राकेश चौधरी भन्छन्। उनकै अगुवाइमा मादल बजाउने र नाच्ने तालिम भइरहेको छ।
मादल सिकाइले केवल संस्कृतिको संरक्षण मात्र होइन, रोजगारीको अवसर पनि दिन सक्छ। बर्दिया, बाँके, कैलालीजस्ता जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा बाजा बजाउने कलाकारलाई राम्रो मानपान र पारिश्रमिक मिल्छ।
‘यदि गाउँका युवाले राम्रोसँग मादल सिके भने उनीहरूले आफ्नै टोली बनाएर देशभर प्रस्तुति दिन सक्छन्,’ कृष्ण थारु बताउँछन्। तर, सबै कुरा सजिलो छैन। प्रशिक्षकहरूको भनाइअनुसार मादल खरिद गर्नै कठिन छ। गुणस्तरीय मादल महँगो पर्छ, एउटा राम्रो मादल ८ देखि १२ हजार रुपैयाँसम्म पर्ने गरेको छ।
‘मादल हाम्रो पहिचान हो, यसलाई जोगाउन सके मात्र हामीले भविष्यलाई सही तरिकाले अघि बढाउन सक्छौँ,’ ७५ वर्षीय गाउँको बरघर गोविद्य प्रसाद थारु भन्छन्। बढैया गाउँमा गुन्जिएको मादलको धुनले गाउँ मात्र होइन, सम्पूर्ण क्षेत्रलाई नै नयाँ सन्देश दिएको छ, आफ्नो मौलिकतालाई जोगाउने हो भने युवालाई सिकाउनुपर्छ।
आजका बालबालिकाले मोबाइलमा गीत सुन्नु भन्दा पनि आफ्नै ताल निकालेर गाउँ गुन्जाउनु गर्वको कुरा हो। यो अभियानले केवल सङ्गीत मात्र होइन, संस्कृतिको संरक्षण, सामाजिक एकता, र आर्थिक सम्भावनाको नयाँ ढोका खोलिदिएको छ। -बुटवल टुडेबाट
Facebook Comment