अट्वारीले विभाजित थारू समुदाय, नवलपरासी पश्चिमका केही पालिकाले दिएन बिदा
लुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्।
थारू समुदायको बाहुल्यता भएका जिल्लाहरू नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिएको हो। तर, उक्त बिदालाई जिल्लाका एक नगरपालिका र दुई गाउँपालिकाले कार्यान्वयन गरेका छैनन्। जिल्लामा तीन नगरपालिकासहित सात स्थानीय छन्। प्रदेश सरकारको बिदा नमान्नेमा बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउँपालिका छन्। उनीहरूले थारू समुदायको ‘बड्का अट्वारी पर्व’ भदौ १५ गते आइतबार परेको दाबी गर्दै प्रदेश सरकारले बिदा दिए पनि आफ्ना पालिकाहरू बन्द नरही खुला रहने भन्दै सूचना निकालेका छन्। त्यसैगरी रामग्राम नगरपालिका, सुनवल नगरपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाले बिदालाई कार्यान्वयन गरेका छन्। ती पालिकाहरू बन्द छन्।
प्रदेश सरकारको निर्णय कार्यान्वयन नगरी पालिका खुला रहेको भन्दै सूचना निकालेका प्रमुख र अध्यक्षहरूले नवलपरासीका थारूहरूले आज नभई आउँदो १५ गते पर्व मनाउने भएकाले सोही दिन बिदा दिने जनाएका छन्। ‘प्रदेश सरकारको बिदाको निर्णयलाई नमानेको भन्दा पनि एउटै पर्वमा दुई दिन बिदा दिन अव्यवहारिक भएकाले यहाँको प्रचलनलाई ध्यान दिएर आज पालिका खुला गरिएको हो,’ सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले भने।
प्रदेशले दिएको बिदालाई कायम गर्दै पालिका बन्द भएका प्रमुख र अध्यक्षहरूले माथिल्लो सरकारले गरेको निर्णयलाई कार्यान्वयन गरेको जनाएका छन्। ‘माथिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु दायित्व हो। आज हामीले नमाने भोलि हामीले दिने स्थानीय बिदालाई पनि वडाले मानेनन् भने के भन्ने? त्यसैले संघीयताको मर्मअनुसार प्रदेशको निर्णय कार्यान्वयन गरेका हौं,’ सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले भनिन्। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरी र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले प्रदेश सरकारको राजपत्रमा उल्लेखित बिदामध्ये आज बिदा रहेको र आवश्यकताका आधारमा फेरि स्थानीय बिदाका रूपमा भदौ १५ गते पनि दिन सकिने बताए।
संघ, प्रदेश मातहतका सबै कार्यालय बन्द
कुनै पालिका बिदा हुने र कुनै पालिकाले बिदा नरहेको जनाएपछि सेवाग्राहीहरू अन्यौलमा परेका छन्। प्रदेश सरकारले आज दिएको बिदामा नवलपरासीका उक्त तीन पालिकाबाहेक अन्य पालिका संघ र प्रदेश मातहत रहेका सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्था बन्द छन्। काम विशेषले खुला रहेका पालिकामा गएर अन्य सरकारी कार्यालयमा पुगेका सेवाग्राहीहरू उक्त कार्यालय बन्द भएपछि फर्किएको एक सरकारी कार्यालयका प्रमुखले बताए। नेपाल सरकारले सम्बन्धित प्रदेश सरकाले त्यहाँको रीति, थितिलाई समेत दृष्टिगत गरी वर्षमा बढीमा ६ वटा बिदा दिनसक्ने जनाएको छ। सोही आधारमा प्रदेश सरकारले लुम्बिनी प्रदेशमा ५ वटा बिदालाई प्रदेशका सबै जिल्ला (१२ वटा) मा लागू हुने र एउटा बिदालाई निश्चित पर्वका रूपमा मनाउने गरी राजपत्रमा सूचना निकालेको छ। निश्चित पर्वलाई जिल्ला तोकेर बिदा दिँदै आएको छ। जुन आजको बिदा निश्चित पर्वका रूपमा ६ जिल्लालाई दिइएको हो।
थारू समुदायमै मतभेद
थारू समुदायले मनाउँदै आएको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार) स्वंय थारू समुदायमै अन्यौल र मतभेद देखिएको छ। नवलपरासीका केही थारू समुदायले उक्त पर्व आज नभएको बताएका छन् भने केहीले आजै भएको तर्क गर्दै आएका छन्। नवलपरासी सरावल गाउँपालिका-२ का थारू अगुवा ७५ वर्षीय कृष्णदत्त चौधरीले ‘बड्का अट्वारी (आइतबार) पर्व’ आज नै रहेको दाबी गरे। आउँदो आइतबार छोट्की (सानो) आइतबार रहेको उनको दाबी छ।
आजदेखि ‘बड्का अट्वारी पर्व’ सुरु भएको हो। यो पर्व तीजको पञ्चमीपछि पर्ने आइतबारसम्म मनाउने गरिन्छ। यतातिरका धेरै थारूले षष्ठीपछिको आइतबारलाई ‘बड्की आइतबार’का रूपमा मनाउँदै आएका छन्। तर, वास्तविक पर्व आजै हो,’ उनको तर्क छ। ग्रह र नक्षत्रले गर्दा तिथि मिति फरक हुँदा पर्व यता उती हुन्छन् त्यसैले आज नै बड्की आइतबार रहेको उनले ठोकुवा गरे। ‘कहिले काहीँ चाडपर्व ग्रह र तिथि मितिले फरक पर्छ। हिजो कुशे औंसी थियो। त्यसैले तिथि मितिले बड्की आइतबार आज हो। प्रदेश सरकारले दिएको बिदा ठीक छ,’ थारु अगुवा कृष्णदत्तको भनाइ छ। आफूले आजकै दिनलाई यो पर्वका रूपमा मनाउन लागेको उनले बताए। यता, थारू कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष मुन्द्रिका चौधरीले परम्परादेखि तीजको ऋषिपञ्चमीपछि आउने षष्ठी तिथिपछि पर्व मनाउने भएकाले यहाँका अधिकांश थारूले सोही दिनलाई नै मान्दै आएकाले भदौ १५ गते मनाउन लागिएको बताउँछन्।
यो पर्वमा थारू समुदायका महिला/पुरुषहरू व्रत बस्ने गर्छन्। यसदिन घ्युमा रोटीलगायतका पकवाना बनाएर गाई र घरमा आउने ब्राह्मणलगायतलाई खुवाउने गर्ने गरेको थारू अगुवाहरूले बताएका छन्। सूर्यको पूजा गरी व्रत बस्ने यो पर्वमा सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको समृद्धिको कामना गरिने गरिएको थारू अगुवाहरूले बताएका छन्।
परासीबाट हरि शर्मा/अन्नपूर्ण साभार
Facebook Comment