नाउपाको जितमा थारूमात्र होइन, पहाडीको पनि उतिकै साथ जोडिएको छ : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाको जितमा पहाडी समुदायको साथ पनि जोडिएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नाउपाको जित थारूमात्रले नभएर पहाडीको पनि साथ पाएको सुनिश्ति भएको उल्लेख गरेकी हुन्।

अध्यक्ष श्रेष्ठले थारू-पहाडी भाइ भाइ भएको र जातीयता भड्काउने प्रवृत्तिको विरोधसमेत गरेकी छन्। उनले जनताले दिएको जित गीतको उपजमात्र नभएको पनि उल्लेख गरेकी छन्। नाउपाको जित जनताको विश्वासले सम्भव भएको उनको भनाइ छ। उनले टीकापुर घटनालाई हल्का पार्ने शैलीमा प्रस्तुत नगर्न पनि आग्रह गरेकी छन्। त्यसले सम्पूर्ण थारू समाजलाई आहत पुर्‍याउने उनको भनाइ छ।

हेर्नुस् अध्यक्ष रञ्जिताको भनाइ
२०७२ सालको पीडादायी घटनापछि थारु समुदायले अपार घाउ बोकेका छन्। निर्दोष दाजुभाइ र दिदीबहिनीहरू जेलमा थुनिनु, विस्थापित हुनु, घर-परिवार टुट्नु, यी पीडाहरू अझै पनि ताजा छन्। यस्ता संवेदनशील घटनालाई हल्का पार्ने शैलीमा प्रस्तुत गर्नु केवल पीडित परिवारलाई होइन, सम्पूर्ण थारु समाजलाई आहत पार्ने कुरा हो।

आज हामीले १६ सांसद जित्नु कुनै ‘गीत बजाएर’ वा क्षणिक मनोरञ्जनको कारण होइन। यो त थारू समुदायको साहस, आँसु, बलिदान र राजनीतिक चेतनाको प्रतिफल हो। यससँगै, हाम्रो प्रत्येक कार्यकर्ता साथीहरूको अथक परिश्रम र निरन्तर समर्पणले यो सम्भव भएको हो। म सबै कार्यकर्तालाई हृदयदेखि आभार व्यक्त गर्दछु।

यस जितमा केवल थारु मात्र होइन, पहाडी समुदायको पनि विश्वास, साथ र आशीर्वाद जोडिएको छ। थारु र पहाडी दुवैलाई समान रूपमा धन्यवाद छ, हामी सबै मिलेर अघि बढ्ने साझेदार हौँ। हामी भाइ–भाइ हौँ। जातीयता भडकाउने हरेक प्रवृत्तिको घोर विरोध गर्छु।

हामीलाई जनताले दिएको जित गीतले होइन, जनताको विश्वासले सम्भव भएको हो। गीत, नाराबाजी वा प्रचार त माध्यममात्र हुन्। तर मूल शक्ति भनेको जनताको भरोसा, माया र त्याग हो। यसमा थारु समाजसँगै पहाडी समुदायले पनि विश्वास र साथ दिनुभएको छ, त्यसका लागि हृदयदेखि आभार व्यक्त गर्दछु।

राजनीतिमा शब्दको वजन हुन्छ। असावधानीपूर्वक गरिएको अभिव्यक्ति केवल व्यक्ति होइन, सम्पूर्ण समुदायलाई आहत पार्छ। त्यसैले जिम्मेवार स्थानमा रहँदा अझ संवेदनशीलता आवश्यक हुन्छ। राजनीति भनेको विभाजन होइन, एकताको भाषा हो। शब्दहरूको तौल हुन्छ। असावधानीपूर्वक बोलेका शब्दहरूले समुदायबीच विभाजन सिर्जना गर्न सक्छन्। त्यसैले जिम्मेवार स्थानमा रहेका प्रत्येक व्यक्तिले आफ्ना अभिव्यक्तिमा संवेदनशीलता, इमानदारी र सम्मानको भावना राख्नु अत्यावश्यक हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *