सुस्मिता थारू हत्या प्रकरणमा कनोहे थारू पक्राउ, बबई नदी किनारमा भेटिएको थियो शव

हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका-२ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारुलाई गुलरिया नगरपालिका-३ प्रगति टोलस्थितबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँकी सुस्मिता थारु २०८१ पुस १८ गते ठाकुरबाबा जान्छु भनी घरबाट निस्केकी थिइन् । थारु बेपत्ता भएपछि आफन्तले खोजतलासका लागि पुस २१ गते इलाका प्रहरी कार्यालय बगनाहामा खोजतलासका लागि निवेदन दिएका थिए । खोजतलासको क्रममा प्रहरीले माघ १५ गते ठाकुरबाबा-४ खैलार गाउँको पूर्व बबई नदीको बगर झाडीमा थारुको कंकाल अवस्थामा शव फेला पारेको थियो । शवको कपडाको आधारमा थारुको ससुरा सन्तराम थारुले पहिचान गरी फुटकर ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए ।

कनोहे थारुले महिलासँग फोनमार्फत नजिकिएर विभिन्न स्थानमा भेटघाट भई शारीरिक सम्बन्ध भएको र सुस्मिताले प्रतिवादी कनोहेसँग पटकपटक रकम मागेको र रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेपछि कनोहेले हत्या गर्ने योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जबरजस्ती मुद्दामा फसिने डरले ०८१ पुस १८ गते रकम दिन्छु भनेर बबई नदीस्थित बगरमा बोलाई घाटी दबाई महिलाको हत्या गरी फरार भएको कनोहेले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

कनोहेलाई नियन्त्रणमा लिई फुटकर ज्यान मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बुधबार जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए । उनकाअनुसार पक्राउ परेका थारुलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसूरबमोजिम सजाय हुनेछ । प्रहरीका अनुसार पक्राउ परेका थारुले यसअघि पटकपटक चोरी र जबरजस्ती करणी मुद्दामा सजाय भोगिसकेका छन् ।
रामप्रसाद चौहान/कान्तिपुरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *