जेन्जी आन्दोलनमा विजय चौधरीको मृत्यु, मृतक संख्या ३४ पुग्यो (नामसहित)

जेन्जीको आन्दोलनमा सिरहाका ३२ वर्षका विजय चौधरीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका उनको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसअघि आन्दोलनमा उनी बेपत्ता भएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका थिए। सिराहाको लहान नगरपालिका-१५, ढोढना सिमलटोकी घर भएका हरिप्रसाद चौधरीका कान्छा छोरा विजय पेप्सीकोला बस्दै आएका थिए।

लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार विजय मंगलबार साँझ काम गरेर डेरा फर्किने क्रममा साँझ करिब ५ बजेतिर बानेश्वरमा भइरहेको प्रदर्शन हेर्न पुगेका थिए।

चौधरी करिब आधा दशकभन्दा बढी समयदेखि काठमाडौंको पेप्सीकोलामा डेरा लिएर श्रीमती र सानी छोरीसहित बस्दै आएका थिए। हाउसवायरिङको काम गर्दै आएका विजय कताबाट कसरी मंगलबार साँझ बानेश्वर पुगे खुलेको छैन।

मृतक संख्या ३४ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ।

निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतालमा पाँच गरी ३४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी अहिले ३२१ जना घाइतेको अस्पताल भर्ना भएर उपचार भइरहेको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।

मृत्यु हुनेमध्ये २५ जनाको पहिचान खुलेको छ। जसमा श्रीयाम चौलागाईं, सुलभराज श्रेष्ठ, बुद्धिबहादुर तामाङ, गौरव जोशी, योगबहादुर श्रेष्ठ, इश्वबहादुर अधिकारी, सन्तोग विक, आयुष थापा, मिशल सारु मगर, छत्रमान कुथुमी, विमल भट्ट, काशी आलम ठाकुर, विजय चौधरी, अभिषेक चौलागाईं, बिनोद महर्जन, दिलनारायण तामाङ, योगेन्द्र न्यौपाने, प्रविन कुलुङ, उमेश महत, निकिता गौतम, अर्जुन भट्ट, देवकुमारी सुवेदी, सौरम किशोर श्रेष्ठ र सुबास पोखरेल रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *