घरमा श्रीमती र छोरीले पर्खिरहे, सदाका लागि अस्ताए विजय चौधरी
विनय आजाद/कान्तिपुरबाट साभार
लहान नगरपालिका-१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा भएको जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीको कान्छा छोरी थिए उनी ।
विजय श्रीमती र एक चार वर्षकी छोरीसहित करिब ६ वर्षदेखि काठमाडौंस्थित पेप्सीकोलामा कोठा भाडामा लिएर बस्दै आएका थिए । विजयको सात वर्षअघि बिहे भएको थियो । बुवा हरिप्रसादका अनुसार, १२ कक्षासम्म पढेका उनी त्यहाँ हाउसवायरिङको काम गर्दै आएका थिए ।
दैनिकजस्तै काम सकेर गत मंगलबार साँझ उनी डेरातर्फ फर्किरहेका थिए । तर, नयाँ बानेश्वरमा आन्दोलन भइरहेको देखेपछि उनी त्यहिँ रोकिए । सोही क्रममा उनी घाइते भए । त्यसपछि सिभिल अस्पताल पुर्याइएका उनलाई त्यहाँ मृत घोषणा गरिएको भन्ने कुरा मात्रै थाहा पाएको हरिप्रसादले बताए ।
यसबाहेक उनी कसरी घाइते भए वा कसले अस्पताल पुर्याए भन्ने कुरा परिवारका कसैले पनि थाहा पाउन सकेका छन् । मृत्युबारे जानकारी पाइसकेपछि आफन्त र परिवारका सदस्य शव ल्याउन अहिले काठमाडौं गएका छन् । तर, अहिलेसम्म आफूहरुले शव हेर्न र प्राप्त गर्न नसकेको हरिप्रसादले बताए ।
‘मेरो छोरो कसरी घाइते भयो, कसले अस्पताल पुर्याए, हामीलाई अहिलेसम्म थाहा हुन सकेको छैन,’ हरिप्रसादले कान्तिपुरसँग भने, ‘घटनाबारे थाहा पाएपछि हामी काठमाडौं आएका छौं, तर अहिलेसम्म छोराको मुख हेर्न सकेका छैनौं ।’
सामान्य आर्थिक हैसियतका विजयको गाउँस्थित घरमा बुवा, आमा, दाजु, भाउजुसहित परिवार बस्दै आएका छन् । विजयको मृत्युपछि उनको परिवार अहिले विक्षिप्त छ । विजयकी आमा र श्रीमती घरिघरि मुर्छा पर्छिन् । ‘हामी त जसोतसो आफूलाई सम्हालेका छौं, तर विजयकी आमा र बुहारी घरिघरि मुर्छा परिरहेकी छिन्,’ हरिप्रसादले भक्कानिँदै सुनाए, ‘घटना भएको दिन बुहारी र नातिनीले बजार जान उनलाई पर्खेर बसेका थिए, तर उनी सदाका लागि गइहाले ।’
Facebook Comment