जेनजी आन्दोलनले दिएको सन्देश

महेश कुचिला
समय परिवर्तनशील छ। त्यसै अनुरुप शासन व्यवस्था परिवर्तन र परिमार्जित हुँदै जानुपर्छ भन्ने मान्यताको उदाहरण हो, जेनेरेशन जेड (जेनजी) आन्दोलन। सूचना प्रविधिको विकास र प्रयोगसँगै हुर्केको जेन-जेड (१९९७-२०१२) पुस्ता नतिजामुखी कार्यसम्पादनमा जोड दिन्छ र त्यसैमा विश्वास गर्छ। परम्परागत कार्यशैलीप्रति असन्तुष्ट तथा खुला आकाशझैं पारदर्शीता रुचाउने यो जमात नेपालमा करिब २०-३० प्रतिशत रहेको अनुमान छ। गत भदौ २३ र २४ गतेको आन्दोलन र त्यसपछिको घटनाक्रमले नेपालको राजनीतिक व्यवस्था सार्वजनिक प्रशासन निजी क्षेत्र तथा आम सरोकारवाला नागरिकलाई नयाँ शिराबाट अगाडि बढ्नुपर्ने सन्देश दिएको छ।

राजनीतिक दल तथा नेतृत्वलाई दिएको सन्देश
कुनै अमुख व्यक्तिको वरिपरि घुमिरहेको, दलभित्रै पनि लोकतन्त्रीकरण कमजोर भएको, सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप, भ्रष्टाचारमा लिप्त एवं नेतृत्वलाई देवत्वकरण गरिरहेको अवस्थाबाट राजनीतिक दल गुज्रिरहेको थियो। अस्वाभाविक चुनावी खर्च, नेपो बेबी, नेपो किड्सको व्यापक प्रचार प्रसार, भड्किलो जीवनशैली तथा आमसभा कार्यक्रममा देखिने फजुल खर्च जस्ता कुराहरूबाट आम नागरिक भित्रैबाट असन्तुष्ट थिए। यसैको जवाफ बन्यो, जेनजी आन्दोलन।

अब राजनीतिक दलले काँचुली नफेरेमा अस्तित्वमा खतरा पैदा हुने देखिन्छ। पुराना नेतृत्व परिवर्तन अविलम्ब गरिनुपर्छ। पार्टीभित्र आन्तरिक लोकतान्त्रिक प्रणाली स्थापित गर्ने, नेतृत्वको पुस्तान्तरण गर्ने, दलभित्र व्यक्तिवादी प्रवृत्ति हाबी हुन नदिने, पारदर्शीता र सुशासनको सदैव पक्षधर हुने र आन्दोलनले उठाएका मुद्दालाई आत्मसात् गरी सिद्धान्त र व्यवहार दुवैमा देखिने गरि परिवर्तन आवश्यक छ।

सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रलाई दिएको सन्देश
सरकारी कार्यालयहरूमाथि आगजनी र तोडफोडको आशय के हो? यो विषय कर्मचारीतन्त्रले बुझ्नुपर्ने छ। सरकारको कार्यसम्पादन तथा सेवाप्रवाह दिने माध्यम कर्मचारीतन्त्र भएकाले जेन-जेडको आक्रोश यसमा पोखिएको हो। पुरातन कार्यशैली, ढिलसुस्ती, भ्रष्टाचारजस्ता कुराहरू अब चल्नेवाला छैन। रिजल्ट, त्यो पनि समयमा नै दिनुपर्‍यो, अन्यथा अबको निशाना कर्मचारीमाथि पर्ने निश्चित छ।

यी यावत् कुराहरूलाई मध्यनजर गर्दै सार्वजनिक प्रशासन आफूलाई नागरिक हितमा केन्द्रित गर्न आवश्यक देखिन्छ। यो समय आफूलाई सेवामा समर्पित देखाउने अवसर र परीक्षा दुवै हो। सुशासन, भ्रष्टाचारको अन्त्य, उच्च नैतिक चरित्रको प्रदर्शन, परिणाममुखी कार्यसम्पादन, सेवाभावको मूल्यमान्यतासहित आफूलाई शासन सञ्चालनको असल सहयात्रीको रूपमा स्थापित गर्नुपर्ने बेला आएको छ। काम गर्ने तौरतरिका परिवर्तन, नम्र बोली व्यवहार, प्रविधिको उच्चतम प्रयोग तथा सेवा गरेर नागरिक मन जित्नैपर्ने दबाब कर्मकारहरूमाथि परेको छ।

निजी क्षेत्रलाई दिएको सन्देश
विकासको संवाहकको रूपमा रहेको निजी क्षेत्र राजनीतिक स्वार्थमा जोडिनु हुँदैन भन्ने सन्देश जेन-जेड आन्दोलनले दिएको छ। केही सीमित निजी क्षेत्र त्यसमा पनि छानी छानी किन आक्रमण गरिए रु विचार गरौं। राजनीतिक दलसँगको निकटता, कारोबारमा राजनीतिक दलसँगको साझेदारी, कर नतिर्ने लगायतका कारणहरूबाट नागरिकमा केही निजी क्षेत्र प्रति असन्तुष्टि थियो। यसो भनिरहँदा सबै निजी क्षेत्र विवादित भएको भन्न सकिँदैन। राजनीतिक अपराधको भागीदार निजी क्षेत्र हुनु हुँदैन।

निजी क्षेत्रको काम उद्मम गर्नु हो व्यवसाय गर्नु हो। कानुनको अधीनमा रही आर्थिक विकासमा मदत गर्नु हो। यही कुरालाई मनन गरि निजी क्षेत्र तटस्थ रूपमा व्यावसायिक बन्न जरुरी छ। तथापि निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय छ यसले गर्दा निजी क्षेत्रको मनोबल खस्केको छ।

आम नागरिक तथा सरोकारवालालाई दिएको सन्देश
आन्दोलनलाई घोषित वा अघोषित रूपमा अधिकांश नागरिकको साथ थियो। आन्दोलनबाट ठूलो धनजनको क्षति भैरहँदा नागरिक तथा स्वयं आन्दोलनकर्तामा संयमता देखिएन। भिडलाई उक्साउने काम राज्य तथा नागरिक दुवैतर्फबाट भयो। आक्रामक तथा गाली गलौच गरिएका भिडियो पोष्टहरु हाल्ने, पूर्वाग्रही ढंगले प्रतिक्रिया दिने, बिना आधार भ्रामक समाचार र सूचना फैलाउने कार्यहरू भए। चोरी लुटपाटले हाम्रो समाजको ऐना प्रतिबिम्बित मात्र गरेन, हामी कहाँ छौं भन्ने कुरा प्रमाणित पनि गर्‍यो। थोरै संयमता र आत्म नियन्त्रण गर्न सकेको भए धेरै क्षतिबाट बच्न सकिन्थ्यो।

अबको बाटो : समयसँगै चल्न सिकौं
समय सधैं एकनास रहँदैन। सत्ता र शक्ति हुनेहरूको हालत पनि समयले देखायो। अहिले धेरै क्षति भएको छ। तैपनि विकासका लागि सबै पक्ष उठ्नुपर्ने र जुट्नुपर्ने बेला आएको छ। सबैको साथ सहयोग लिई समयको गतिमा गति मिलाउन अब ढिला गर्नुहुँदैन। लोकतन्त्रलाई मर्न नदिऔं।




One thought on “जेनजी आन्दोलनले दिएको सन्देश

  1. समय सानदर्भिक लेख । हामी सबैले मनन गर्नु पर्ने । विकाससंग जोडिएका सम्पूर्ण क्षेत्रहरू समयमै सजक हुनु पर्ने सन्देश। धेरै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *