कुलमानलाई भेटेर थाकस सभापतिले भने- अध्यादेशबाट निजामतीमा थारू कोटा सुनिश्चित गर्नुस्

थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीले ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री निवासमा शनिबार थाकस पदाधिकारीहरूले घिसिङसँग भेटवार्ता गरेका हुन्।

भेटमा विभिन्न चरणको थारु आन्दोलनबाट स्थापित अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो। सभापति चौधरीले संघीय निजामती विधेयकले थारू कोटा सुनिश्चित गरेको र त्यो एक दिन ढिलाई हुँदा पास हुन नसकेको गुनासो पोखेका थिए। सभापति चौधरीले अध्यादेशमार्फत उक्त विधेयक जारी गर्न मन्त्री घिसिङसँग अनुरोध गरेका थिए।

‘एक-दुई दिनको ढिलाइले थारू कोटा सुनिश्चित हुन सकेन। अध्यादेशबाट भए पनि निजामती विधेयक जारी गरेर थारू कोटा सुनिश्चित गर्नुपर्छ भनेर आग्रह गरेका छौं,’ थारुवानसँग सभापति चौधरीले भने।
त्यस्तै जेनजी आन्दोलनमा सहिद भएका सिरहाका विजयी चौधरीको परिवारलाई समयमै राहत उपलब्ध गराउन र उनको परिवारलाई रोजगारीको ग्यारेन्टी र बच्चालाई निशुल्क शिक्षा प्रदान गर्न माग गरेका थिए। त्यस्तै स्थानीय बजेटबाट विजयको शालीक बनाउन पनि थाकसले माग गरेको छ।

थाकसले छिट्टै प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेर थारू अधिकार सुनिश्चित गर्न माग गरिने सभापति चौधरीले बताए। मन्त्री चौधरीले नयाँ सरकार बनेको र हालै मन्त्री बनेकाले यस विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *