३ महिनाभित्र परीक्षाफल निकाल्न विश्वविद्यालयलाई मन्त्री महावीर पुनको निर्देशन, नभए अनुदान रोक्का गरिदिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ʻकेही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।ʼ

यस्तै मन्त्री पुनले देशभरका सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन्। उनले लेखेका छन्,ʻनेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने छ।ʼ
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने पनि निर्देशन दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *