नेपालको शानदार जित, एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जामा
१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २१ रन बनाए। त्यस्तै अकिम अगस्टीले १७ र अमिर जांगुले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि आदिल आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले ३, दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले १-१ विकेट लिए।
त्यसअघि आसिफ शेख र सन्दीप जोराको अर्धसतकमा नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले ६३ रन बनाए। ३९ बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै आदिल आलम ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अन्तिम बलमा एलबी डब्लु आउट भए। त्यसअघि कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भएका थिए।
वेस्ट इन्डिजका लागि अकिल हुसेन र किले मेयर्सले २-२ विकेट र जेडिह ब्लाड्स १ विकेट लिए।
Facebook Comment