जेनजी युवाहरूले मागे अख्तियार प्रमुखसहित आयुक्तहरूको राजीनामा
विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ। जेनजी आन्दोलन भ्रष्ट्रारविरुद्धको अभियान पनि रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो।
समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो। तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन्।’
अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ।
विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्त राईको स्वार्थद्वन्द्व र सिंगो आयोगको अभियोजन प्रणालीमाथि नै प्रश्न उठेको उनीहरूले आरोप लगाएको छ। प्रमुख आयुक्त राई नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइड बडी प्रकरणमा मुछिएको उनीहरूको आरोप छ। विभिन्न भ्रष्टाचार काण्डमा मुछिएकाले अख्तियार प्रमुखले सुशासन कायम गर्न नसक्ने उनीहरूको ठहर छ।
ती जेनजी समूहरुले भोलि मंगलबार विहान १० बजे अख्तियारको कार्यालयमा निवेदन दर्ता गराउने र आवश्यक दबाब कार्यक्रम पनि गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। जेनजी समूहमा इन्डिजिनियस जेनजी कलेक्टिभ, जेनजी मुभमेन्ट अलायन्स, हाउटुदेशविकास, जेनजी पर्सा, मुस्लिम जेनजी नेपाल, नव युग, नेयु वेभ, जेनजी मुभमेन्ट अलायन्स डिस्ट्रिक काउन्सिल फोरम, जेनजी चितवनका प्रतिनिधिहरूले उक्त मागमा एक्यबद्धता जनाएका छन्।

Facebook Comment