यस्तै भयो भने फेरि प्रधानमन्त्रीमा फर्किन सक्छु : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो अराजकता चलिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्।
उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता।ʼ
अध्यक्ष ओलीले सम्पादकहरू विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याऊँ भनेर लेख्ने पनि दाबी गरे। जनताले पठाए फेरि प्रधानमन्त्री हुने उनले दाबी गरे।
उनलेले आफूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गरेको बताए पनि प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस नगरेको बताए।
उनले भने, ʻमेरो भाषा के छ भने, वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु। यसमा सुशीला कार्की कतै सुन्नुभयो ? सुशीला कार्की भन्ने वा अर्को कोही भन्ने छैन। संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो। उहाँहरू दुवैले त्यो स्वीकार गर्नुभएको थियो र मैले त्यस भाषामा सिफारिस गरेको थिएँ।ʼ
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाण देखाउन चुनौती दिए। उनले भने,ʻप्रचण्डले मलाई निकै माया गर्नुहुन्छ। उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो। त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ। किन अन्योल राखिराख्ने। निकालिदिए भयो नि त।ʼ
Facebook Comment