लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजीहरूको माग, गृहमन्त्रीलाई बुझाए ज्ञापन
जेनजी अलायन्सहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। सरकारले कुनै पनि घटना सम्बन्धमा जवाफदेही र पारदर्शी हुनुपर्ने भन्दै सरकारलाई तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।
जेनजी नेपालले आफ्नो सामाजिक सञ्जालहरूमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहितका पम्पलेटहरू सोमबार सार्वजनिक गरेको छ।
‘मधेस आन्दोलन र टीकापुर हत्याकाण्डको अनुसन्धान गर्यो, जब राज्यले आफ्नै नागरिकहरूमाथि बन्दुक तेर्साएको थियो। लगभग एक दशक बितिसक्दा पनि लाल आयगको प्रतिवेदन सार्वजनिक गरिएको छैन। यदि हामी वास्तविक जवाफदेहिता चाहन्छौं भने, पारदर्शीता छनौटपूर्ण हुन सक्दैन। यो सरकारले सत्यलाई गाड्ने होइन, सार्वजनिक गर्ने समय आएको छ,’ जेनजी अलायन्सले भनेको छ।
जेनजीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। अधिवक्तासमेत रहेका अर्णव चौधरीले तत्काल लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्नुपर्ने माग लिएर गृहमन्त्री अर्याललाई ज्ञापन बुझाएका थिए।
अधिवक्ता चौधरीले भने, ‘लाल आयोगको प्रतिवेदन २०७२ सालमा राज्यद्वारा आदिवासी, थारु, मधेसीलगायत सीमान्तकृत समुदायहरूको नरसंहार, हिंसा, मानवअधिकार उल्लंघन, राज्यको प्रतिक्रिया र अत्याचारहरूको घटना बारेको प्रतिवेदन मात्र नभई यो इतिहासदेखि राज्यद्वारा सीमान्तकृत वर्गलाई गर्ने व्यवहार र दृष्टिकोणको प्रतिबिम्ब समेत हो भन्ने हाम्रो बुझाइ हो। जेनजी आन्दोलनमा राज्यको तर्फबाट भएको दमन, मानव अधिकार उलंघन, हिंसा, अत्याचार र नरसंहार समेत यही आन्दोलनपछिको जवाफदेहीताको अभावको एक उपज हो भन्ने हाम्रो बुझाइ छ। जेनजी आन्दोलनको एक प्रमुख माग जवाफदेहीता र पारदर्शीता रहेको परिप्रेक्ष्यमा लाल आयोगको प्रतिवेदन गोप्य राखिनु आन्दोलनको मूल्य मान्यता विपरीत हुन जान्छ।’
Facebook Comment