मैले राजीनामा दिएको छैन, विपक्षीबाट ठूलो राजनीतिक षड्यन्त्र गरियो : अध्यक्ष दिनानाथ चौधरी
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको बताएका छन्। मंगलबार उनको राजीनामा पत्र सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले विपक्षीबाट राजनीतिक षड्यन्त्र भएको बताए।
‘मेरो राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ। यसै अपीलमार्फत सामाजिक सञ्जालमा आएको अफवाह जालसाजीपूर्वक राजनीतिक षड्यन्त्र भएको र ममार्फत कुनै किसिमको राजीनामा पत्र कहीँ कतै पेस नभएको अवगत गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो उनले जारी गरेको विज्ञप्ति
तपाईहरुको अमुल्य मत अर्थात जनताबाट अनुमोदन भएर यस पालिकाको अध्यक्षको रुपमा निर्वाचित भएसँगै सदैव जनपक्षिय कार्यक्रमहरु मार्फत पालिकाको चौतर्फि विकासका लागि ईमान्दारिता साथ कार्यसम्पादन गर्ने मेरो प्रयास निरन्तर रहिरहेको छ । कार्यपालिकामा अल्पमतमा रहँदा विपक्षी दलहरु मार्फत निरन्तर असहयोग हुँदा समेत यस पालिकालाई सप्तरी जिल्लामै उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्न सफल भएको व्यहोरा प्राकृतिक श्रोत तथा वित्त आयोगको मूल्यांकनबाट प्रष्ट हुन्छ । बिपक्षीहरुले राजनैतिक निष्ठा र संस्कारबाट स्खलित भएर निम्न स्तरको व्यवहार तथा षडयन्त्र म माथि भविष्यमा आउन सक्छ भन्ने आशंका कार्यपालिकामा बिपक्षीहरुबाट हुने गरेको असहयोगले मलाई शसंकित बनाएको थियो । सोही सन्दर्भमा विपक्षी दल तथा कार्यपालिका सदस्यहरुबाट म माथी षडयन्त्र तथा जालसाजी हुने अनुमानले म मार्फत कुनै पनि हालत वा परिस्थितिमा समेत राजिनामा नदिएको भनी सार्वजनिक रुपमा २०८२ असोज २५ गते नै प्रेस विज्ञप्ती जारी गरिसकेको परिपेक्ष्यमा समेत मेरो राजिनामा सम्बन्धमा सामाजिक संजालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ । साथै यसै अपिल मार्फत सामाजिक संजालमा आएको अफवाह जालसाजीपूर्वक राजनैतिक षडयन्त्र भएको र म मार्फत कुनै किसिमको राजिनामा पत्र कहि कतै पेस नभएको अवगत गराउन चाहन्छु । यदि मैले स्वेच्छाले राजिनामा दिएको भए यस अवधिमा के कसरी पटक पटक बैठक आह्वान गरेको सार्वजनिक सूचना प्रकाशन गरियो ? पटक पटक कार्यालयको विभिन्न कागजात कारोवारहरुमा कसरी सहभागि भए ? – निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई मैले दिएको पत्रलाई आधारमानि पालिकाको नियमित कारोवार तथा सेवाग्राहीको कामहरु कसरी सम्पादन भयो ? मेरो सनाखत बिना कसरी राजिनामा स्वीकृत भयो ? निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको चलानी नं. ५६३ मार्फत तोकि पठाएको कर्मचारीको नाम कसरी हेरफेर भयो ? भन्ने अनुत्तरीत प्रश्नहरुले के संकेत गर्दछ अतः मैले हालसम्म कहिकतै राजिनामा नदिएको सहर्ष जानकारी गराउन चाहन्छु । र मेरो राजिनामा पेश गरिएको राजिनामा पत्रमा मेरो हस्ताक्षर नभई किर्ते हस्ताक्षर रहेको जानकारी सहित सोको लागि न्यायिक निकायमा कानुनी उपचारका लागि प्रस्तुत हुने व्यहोरा जानकारी गराउन चाहन्छु ।
दिनानाथ चौधरी
Facebook Comment