अध्यक्ष चौधरीले भने- मेरो हस्ताक्षर कीर्ते भएको हुनसक्छ
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले पदबाट राजीनामा दिएको विषयमा सत्यता नरहेको बताएका छन्। जण्डौलस्थित अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले राजीनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको बताए। ‘मलाई पनि सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो। मैले राजीनामा दिएको विषयमा कुनै सत्यता छैन। राजीनामा पत्रमा मेरो दस्तखतसँग मिले पनि, मलाई झुक्याएर यस्तो षड्यन्त्र गरेको हुनसक्छ। पदबाट राजीनामा दिने मेरो मनसाय छैन,’ उनले भने।
राजनीतिक प्रतिशोध लिन नक्कली राजीनामा पत्र लेखेर कीर्ते गरेको उनको दाबी छ। उनले वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादवको योजनामा यस्तो फसाउने प्रपन्च रचिएको बताए। उनले यसमा उपाध्यक्ष कल्पना कुमारी चौधरीसहित अरु कसैको हात नभएको स्पष्ट पारे। असोज ५ गते अध्यक्ष चौधरीले दिएको लिखित राजीनामा मंगलबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले स्वीकृत गरेको पत्र सार्वजनिक भएको थियो।
गाउँपालिका अध्यक्ष ज्यूले आफू समक्ष दिएको राजिनामा मंगलबार भएको कार्यपालिका बैठकमा निर्णायार्थ प्रस्ताव पेस गरी बहुमतले राजिनामा स्वीकृत भएपछि अध्यक्षले दिनु भएको राजिनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना कुमारी चौधरीले निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।
Facebook Comment