ट्रकको ठक्करबाट लोकबहादुर थारूको मृत्यु

पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यविन्दु नगरपालिका-७ चोरमारा उकालोमा कावासोतीबाट भैरहवा आउँदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका-१५ का ३६ वर्षीय लोकबहादुर थारू गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा अपराह्न ४:४० बजे चिकित्सकले मृत घोषणा गरेको थियो।

ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका-१५का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *